काठमाडौं । कर्मचारी सञ्चय कोषले आफनो ऋण लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाको ब्याजदर घटाउने भएको छ । कोषले ०.२५ प्रतिशत विन्दुसम्म ब्याजदर घटाउने भएको हो ।
कोषले गठन गरेको समितिले आफनो ऋण लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाको ब्याजदर ०.२५ प्रतिशत विन्दु सम्म घटाएर १०.७५ प्रतिशत कायम गर्न शिफारिश गरेको छ ।
हाल कोषले ११ प्रतिशत ब्याजदरमा कर्जा लगानी गरेको छ । यो निर्णय कार्यन्वयन भएपछि आयोजनालाई केही राहात हुने छ । यसअघि १२ प्रतिशतसम्म ब्याज लिन सहमति गरेको कोषले अघिल्लो वर्ष १ प्रतिशत घटाएर ११ प्रतिशत कायम गरेको थियो ।
कोषको सञ्चालक समितिले पारित गरेपछि लागु हुने छ । आगामी सञ्चालक समितिको बैठकमा जलविद्युत आयोजनाको ब्याजदर घटाउने प्रस्ताव पेश हुने कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले बताए । उनले घटाएर १०.७५ प्रतिशतसम्ममा झार्ने गरी छलफल भएको जानकारी दिए ।
सञ्चय कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ब्याजदर घटाउने छ । ५ ओटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन । ब्याजदर कम भएपछि आयोजनाको लागत कम हुने छ ।
तामाकोसीसँग १२ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरे पनि कोष आफैंले घटाउँदै आएको छ । माथिल्लो तामाकोसी, रसुवागढी, तल्लो र माथिल्लो सान्जेन आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेछन । मध्य भोटेकोसी केही ढिलाइ हुनेछ । आयोजनामा सञ्चय कोषका अतिरिक्त नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानको समेत लगानी छ ।
तामाकोसीको ब्याजदर मात्र २० अर्ब रुपैयाँ पुगिसकेको छ । निर्माण अवधिको ब्याजदर ऋणमा पुँजीकरण हुन्छ । बैङ्क तथा वित्तीय संस्थाले लिने ब्याजदर औसत १२.२३ प्रतिशत रहेको छ । कोषले लिने ब्याजदर सस्तो पर्ने देखिएको छ ।
जलविद्युत आयोजनाको आम्दानी निश्चित हुने भएकाले ब्याजदर स्थिर राख्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैङ्कसंग अनुरोध गरेको छ । महासंघले ब्याजदर बढ्दा आयोजनाको लागत बढ्ने र यसले गर्दा कर्जा तिर्ने अवधि पनि थपिने भएकाले कर्जाको ब्याजदर स्थिर गर्न माग गरेको हो ।
पछिल्लो समयमा लगानीयोग्य पुँजीको संकट बढेपछि जलविद्युत आयोजनाको ब्याजदर बढेको छ । कतिपय आयोजना आर्थिक रुपमा संभाव्य नहुने अवस्थमा पुगेका छन् ।