काठमाडौं। हिमाल हस्पिटलको लापरबाहीका कारण २८ महिनाकी बालिका प्रशंसा गौतमको मृत्यु भएको उपभोक्ता अदालतले ठहर गर्दै पीडितलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ।
अदालतले उपचारका क्रममा हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टर जयदेव यादवको लापरबाही रहेको ठहर गर्दै उनीहरुबाट पीडितलाई एक करोड ४५ लाख ४४ हजार १०० रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको हो।
अस्पताललाई एक करोड १ लाख ८० हजार ८७० रुपैयाँ र डा. यादवलाई ४३ लाख ६३ हजार २३० रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो। २०७९ माघ २३ गते २८ महिनाकी बालिका गौतमको उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै अभिभावक गंगा गौतमले अस्पतालविरुद्ध उजुरी दिएकी थिइन्।
नेपाल मेडिकल काउन्सिलले डा. यादवको लापरबाही ठहर गर्दै काबराही चेतावनीसमेत दिएको थियो। काउन्सिलको निर्णयमा चित्त नबुझेपछि क्षतिपूर्तिका लागि जिल्ला अदालतमा दायर भएको मुद्दा उपभोक्ता अदालतमा सरेको थियो। अदालतले मेडिकल काउन्सिलको निर्णयलाई समेत आधार मानेर यो फैसला सुनाएको हो।
काठमाडौंको ग्राण्डी सिटी अस्पतालका प्लास्टिक सर्जन डा. सञ्जीव त्रिपाठीविरुद्ध अस्ट्रेलिया बस्दै आएकी एक महिलाले सौन्दर्य उपचारमा लापरबाही गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन्। अदालतले ग्राण्डी सिटी अस्पताल र एक चिकित्सकलाई गरी कुल ५७ लाख १९ हजार रुपैयाँ तिराउने फैसाला गरेको छ। जसमा अस्पताललाई १७ लाख १५ हजार ७ सय र डा. सञ्जीव त्रिपाठीलाई ४० लाख ३ हजार ३ सय क्षतिपूर्ति तिर्न आदेश दिइएको हो।
जयप्रकाश राय यादवले आफ्नी आमाको उपचारका क्रममा नर्भिक इन्टरनेशनल हस्पिटलमा भएको लापरबाहीका कारण प्यारालाइज्ड भएको भन्दै उपचार खर्च र भविष्यमा लाग्ने खर्चसमेत क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका छन्।
यस्तै, काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र त्यहाँ कार्यरत चिकित्सकहरू डा. सरोजकुमार गोहिवार र डा. सायुज्य राज घिमिरेविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दर्ता छ।
बसन्त गौतमले ९८ वर्षीय पिता हरिहरप्रसाद गौतमको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको दाबी गर्दै गरेको सो मुद्धाको ओम अस्पताललाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसाला गरेको छ। यो रकम अस्पतालले ५० लाख ७० हजार तिराउने फैसाला भएको छ भने, डा. गोहिवार र डा. घिमिरे दुबै जनालाई ३ लाख ५० हजार ५ सय ÷३ लाख ५० हजार ५ सय रुपैयाँ क्षतिपूर्ति तिराउने फैसाला भएको अदालतले जनाएको छ।
जयप्रकाश राय यादवले आफ्नी आमाको उपचारका क्रममा नर्भिक इन्टरनेशनल हस्पिटलमा भएको लापरबाहीका कारण प्यारालाइज्ड भएको भन्दै उपचार खर्च र भविष्यमा लाग्ने खर्चसमेत क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका छन्। २०८२ वैशाख ३१ गते दर्ता भएको मुद्दा मेलमिलाप प्रक्रियामा छ।
सुवास पराजुलीले एभरेस्ट हस्पिटल र डाक्टर ज्योत्सना शर्माको लापरबाहीका कारण आफ्नी श्रीमतीको बच्चा जन्माउने क्रममा मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गरेका छन्। यो मुद्दा २०८२ जेठ २५ गते दर्ता भएको छ र यसमा लिखित जवाफ आउने क्रम जारी छ।
यशोदा बस्नेतले कान्ति बाल अस्पतालमा उपचारका क्रममा करिब ३२ महिनाको बच्चाको मृत्यु भएको भन्दै दुई जना डाक्टर र अस्पतालविरुद्ध मुद्दा दर्ता गरेकी छन्। यो मुद्दा २०८२ जेठ २७ गते दर्ता भएको हो र कान्ति अस्पतालले लिखित जवाफ पेस गरिसकेको छ।