काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैतमा जारी गरेको निर्देशनअनुसार खानेपानी उद्योगले नयाँ मापदण्डअनुसार पानीको बोतल वा जारमा ‘इम्बोस्डिङ स्क्रिन प्रिन्ट’ वा ‘लेजर प्रिन्ट’काम अन्तिम चरणमा पुगेको बताएका छन्।
विभागले खानेपानी उद्योगलाई पिउने पानीको बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमनसम्बन्धी नयाँ प्रावधान कार्यान्वयनमा लैजान चैत ३० मा निर्देशन दिएको थियो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैतमा बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमनसम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा दिएको निर्देशन अनुसार उद्योगीले पानीको बोतल वा जारमा त्यस्तो प्रिन्ट गरेर बिक्री थालेको नेपाल पानी उद्योग महासंघ अध्यक्ष विक्रमबाबु लिम्बूले जानकारी दिए।
यसअघि खानेपानीका जार र बोतलमा बोतलमा ‘नेकसिल’ प्रयोग हुँदै आएको थियो। प्लास्टिकको अनावश्यक प्रयोग घटाएर वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सरकारको लेजर प्रिन्टको अवधारणा अगाडि सारेको उनको भनाइ छ।
पानीको जारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर, उत्पादक कम्पनीको नाम, ठेगाना र सबै विवरण समेटिएको लोगो अनिवार्य गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग र पानी उद्योगीका छाता संगठनको समन्वयमा खानेपानीको बोतलमा ‘नेकसिल’ वा बाह्य प्लास्टिक लेयर प्रयोग पूर्ण रूपमा निषेध गर्ने निर्णयअनुसार नयाँ मापदण्ड कार्यान्वयनमा ल्याइएको हो।