काठमाडौं। नागढुंगा-मुग्लिङदेखि पोखरा सडक खण्ड आयोजनाअन्र्तगत चार भागमा सडक निमार्णको काम भइरहेको छ। यसअन्र्तगत नागढुंगा-मुग्लिङ सडक आयोजनाको पूर्वी खण्ड, नागढुंगा-मुग्लिङ सडक आयोजनाको पश्चिमी खण्ड, पोखरा-मुग्लिङ सडक आयोजना (आँबुखैरेनी-जामुने खण्ड) र मादी नदी पुल (मुग्लिङ-पोखरा सडक आयोजनाअन्तर्गत) पर्छन्।
यी सडकले देशको राजधानी काठमाडौं जोड्नुका साथै नेपालका पूर्वी भेगका जिल्लालाई जोडिरहेका छन्। यी सडक खण्ड आयोजनाका निमार्ण कार्य सम्पन्न भए आम नागरिकको यात्रा सहज बन्ने देखिन्छ।
यही सडक हुँदै दैनिक १५ हजारभन्दा बढी सवारी साधन राजधानी आउजाउ गर्छन्। दैनिक हजारौँ सवारी चल्ने बाटोको व्यवस्थापन गर्दै निर्माण कार्य अघि बढाइएको आयोजकले बताएका छन्।
बाइपास सडक नहुँदा र वैकल्पिक बिपीसँगै कान्ति राजमार्गमा पर्याप्त सुविधा दिन नसकेकाले दैनिक आठ घण्टा काम गर्ने समय पाउन नसकेको नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का योजना प्रमुख केशव प्रसाद ओझा बताउँछन्। यसले लक्ष्यअनुसार योजना हासिल गर्न नसकिएको उनको गुनासो छ।
निमार्ण
निर्माण सामग्रीको अभाव, जग्गा अधिग्रहणमा ढिलाइ र प्रशासनिक जटिलताले आयोजनाहरूमा विभिन्न चुनौती आइरहेका छन्। यी चुनौतीहरूको समाधान गर्दै तोकिएको समय सीमाभित्र आयोजनाहरू सम्पन्न गर्न निरन्तर प्रयास आवश्यक देखिन्छ।
नागढुंगा-मुग्लिङ सडक (पूर्वी खण्ड)मा १५ मध्ये ५ पुल बन्न बाँकी
नागढुंगा-मुग्लिङ सडक आयोजनाको पूर्वी खण्डमा दुई वटा प्याकेज छन्। नागढुंगा-नौबिसे खण्ड १२.२ किलो मिटर र नौबिसे-मलेखु खण्ड ४३.५ किलो मिटर।

यी दुवैको गरी यो आयोजनाको कुल ५५ किलोमिटर पर्छ। यहाँ हालसम्म करिब २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको आयोजना प्रमुख ओझा बताउँछन्।
‘१५ वटा पुलमध्ये ८ वटामा सवारी साधन सञ्चालनमा आइसकेका छन्। थप २ वटा पुल छिटै सञ्चालनमा आउने छन्,’ ओझाले भने, ‘बाँकी ५ वटा पुल यो आर्थिक वर्षभित्र सम्पन्न हुने छन्।’
उनले यो आयोजनाको भौतिक प्रगति करिब ४४ प्रतिशत रहेको बताए। पहिलो प्याकेजको भौतिक प्रगति ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत रहेको उल्लेख गरे।

यो आयोजनाअन्तर्गत डेडिकेटेड डबल लेनको सडक निर्माण भइरहेको छ। जसमध्ये कतिपय खण्डमा सुस्त सवारी साधनका लागि छुट्टै ‘क्लाइम्बिङ लेन’ थपेर तीन लेनको सडक बनाइँदै छ। उकालोका लागि दुई लेन र ओरालोका लागि एक लेन र बजार क्षेत्रमा चारदेखि ६ लेनको सडक निर्माण भइरहेको जनाएका छन्।
गल्छी बैरेनी क्षेत्रमा विगतमा पानी जम्ने र खाल्डाखुल्डी हुने समस्यालाई सम्बोधन गर्दै द्रूत गतिमा काम गरी २ किलोमिटरको खण्डमा कंक्रिट पेभमेन्ट निर्माण सम्पन्न भएको छ। यसले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या समाधान हुनेछ।
गत असोजमा झ्याप्ले खोलामा गएको पहिरोले सडकमा ठूलो क्षति पुर्याएको थियो। यो घटनामा परी ३५ जनाको ज्यान गएको थियो। यस खण्डमा माइक्रो पाइलिङ र होरिजेन्टल सोइल एन्करेज जस्ता नयाँ प्रविधि प्रयोग गरी पहिरो नियन्त्रणको काम जारी छ। माइक्रो पाइलिङको काम सम्पन्न भइसकेको छ।

यस्तै, महेश खोलाको कटान रोकथामको काम सम्पन्न भएको छ। मलेखुस्थित परेवा भीरमा सुख्खा पहिरोको समस्या समाधानका लागि सुख्खा डेब्रेज पन्छाएर ग्याबिनको पर्खाल लगाइएको ओझा बाउँछन्। आगामी वर्षदिनमा बाँकी २७ किलोमिटर खण्डमा पनि पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नागढुंगा-मुग्लिङ पश्चिमी खण्डको ३३ प्रतिशत भौतिक प्रगति
नागढुंगा-मुग्लिङ सडक आयोजनाको पश्चिमी खण्डको भौतिक प्रगति ३३ प्रतिशत रहेको छ। योजना प्रमुख केदार प्रसाद नेपालका अनुसार, ठेक्का व्यवस्थापन अन्य प्याकेजभन्दा आठ महिना ढिलो भए पनि प्रगति राम्रो हासिल गरेको उल्लेख गरे।

अघिल्लो आर्थिक वर्ष (२०८०/८१)को असोजमा आएको बाढी पहिरोले कृष्ण भीर क्षेत्रको पृथ्वी राजमार्गमा क्षति पुर्याएको थियो। सडकको किनारमा करिब ८० मिटर लम्बाईमा ५० सेन्टिमिटर सडक दबेको थियो। सो क्षेत्रमा अहिले तत्काल कोल्याप्स भइहाल्ने स्थिति नभए पनि आगामी मनसुनअगाडि दुई चरणमा निमार्ण कार्य गर्नुपर्ने नेपाल बताउँछन्।
‘पहिलो चरणअन्तर्गत कृष्ण भीरको सडक किनारमा पाइलिङको काम भइरहेको छ। जुन सम्पन्न हुने चरणमा छ,’ उनले भने, ‘दोस्रो चरणमा नदीबाट कटान भएका पुराना चेक ड्यामहरू बनाउने काम सुरु गरिने छ।’

नेपालका अनुसार कृष्ण भीर क्षेत्रमा कटिङ नगरी सडकको कालोपत्रे भत्काएर नयाँ मात्र गरिने छ। यस खण्डमा न्यूनतम ९ मिटरको डेडिकेटेड दुई लेन सडक हुनेछ।
पोखरा-मुग्लिङ सडकमा सुरक्षासम्बन्धी कार्य हुँदै
पोखरा-मुग्लिङ सडक आयोजनाअन्र्तगत साढे ४१ किलोमिटर आँबुखैरेनी-जामुने खण्ड पर्दछ। योजना प्रमुख प्रकाश चन्द्र भण्डारीका अनुसार यो सडक खण्डमा चार लेन र डुम्रे तथा दमौली बजार क्षेत्रमा ६ लेनको सडक निर्माण भइरहेको छ।

यस सडकमा निमार्णका काम सम्पन्न भइसकेका छन्। यहाँ छिटपुट काम, एप्रोच रोड र सडक सुरक्षासम्बन्धी काम मात्र बाँकी छन्। ‘निर्माण कार्य जारी रहेकाले ट्राफिक साइनहरू पूर्ण रूपमा राखिएको छैन। यसको डिजाइन स्पिड ६० कि.मि. प्रतिघण्टा भए पनि सार्वजनिक सवारी साधानहरूले यसलाई तीव्र गतिमा चलाइरहेका छन्,’ भण्डारीले भने, ‘स्पिड नियन्त्रणका लागि ठेक्कामा राखिएका सेफ्टी प्रावधानका कामहरू अगाडि बढाइँदै छ।’
योजना प्रमुख भण्डारीका अनुसार १५ अप्रिल २०२१ मा सुरु भएको यो आयोजनाको निर्माण अवधि तीन वर्ष थियो। तर, ४५५ दिन मात्र म्याद थप गरिएको छ। घर टहरा हटाउने, बिजुलीका लाइन, खानेपानीका पाइप सार्नेलगायतका अवरोधका कारण ४५५ दिनभन्दा बढी ढिलाइ भएको छ।

यो सडक खण्ड निमार्ण गर्न आयोजनाको सम्झौता रकम ६ अर्ब २१ करोड रहेकोमा हालसम्म ७१ प्रतिशत भुक्तानी भइसकेको छ। १० प्रतिशत रकम मर्मत सम्भार अवधिका लागि छुट्याइएको उनले बताए।
मादी नदी पुलको म्याद थप
मुग्लिङ-पोखरा सडक आयोजनाअन्तर्गत पर्ने मादी नदीमा देशको पहिलो चार लेनको पुल निमार्ण भइरहेको छ। अनक जेडआइसी जेभी निर्माण व्यवसायीका साइड म्यानेजर दिनेश कुमार श्रेष्ठका अनुसार यो नेपालको पहिलो डिजाइन एण्ड बिल्डअन्तर्गत निर्माण भइरहेको फोर लेनको पुल हो। यो पुलको सम्झौता सन् २०२२ सेप्टेम्बर ७ मा भएको थियो। सन् २०२५ सेप्टेम्बर ६ मा सम्पन्न गर्नुपर्ने थियो। तर डिजाइन स्वीकृत हुन १६-१७ महिना लागेकाले ६-९ महिना ढिलाइ भएको श्रेष्ठ बताउँछन्।

यो पुलको करिब ८-९ महिनाको म्याद थप गरी आगमी २०८३ को असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ‘पुलको दायाँबायाँ एप्रोच रोडको डिजाइन स्वीकृत हुन समय लाग्नु, बायाँपट्टिको डाँडा काटेर घरहरू हटाउने र जग्गा अधिग्रहण गर्ने प्रक्रियामा ढिलाइ हुनु, दायाँपट्टी सडक विभागकै डिभिजन कार्यालय हटाउन नयाँ भवन बनाउनुपर्ने हुनाले समय लागेको हो,’ उनले भने ।

पुलको लागत एक अर्ब २१ करोड २६ लाख छ। यसको लम्बाइ ३१८ मिटर र चौडाइ २३ मिटर (फोर लेन) छ। पुलमा ७ वटा सबस्ट्रक्चर र ६ वटा सुपरस्ट्रक्चर स्पान छन्। यो पुल ७५ वर्षको आयुका लागि डिजाइन गरिएको हो।





तस्बिरः नेपाल पूर्वाधार पत्रकार समाज।