काठमाडौं। नेपालका शीर्ष १० सिमेन्ट अर्थात 'टपटेन' उद्योगहरूको कुल कारोबार सन् २०२४ मा ५८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यो तथ्यांक अघिल्लो वर्ष २०२३ को तुलनामा ६.६२ प्रतिशतले बढी हो। जहाँ कुल कारोबार ५५ अर्ब १९ करोड रुपैयाँ थियो। यसले समग्र सिमेन्ट बजारमा सकारात्मक वृद्धि देखिए पनि केही ठूला उद्योगहरूको व्यापारमा मन्दीको असर देखिएको छ।
हाल नेपालमा ६२ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। जसबाट वार्षिक दुई अर्ब रकमभन्दा बढीको कारोबार गर्ने सीमित कम्पनी मात्रै छन्। क्यापिटल नेपालले गरेको तथ्यांक संकलनअनुसार, होङ्सी शिवम, शिवम, सर्वोत्तम, अर्घाखाँची, रिद्धिसिद्धि, जगदम्बा, मारुती, पाल्पा, घोराही र युनाइटेड सिमेन्ट कारखानाहरूले यस वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन्। तर, यी कम्पनीमध्ये तीन वटाको व्यापारमा गिरावट आएको छ। जबकि, बाँकी सात कम्पनीले सकारात्मक लय हासिल गरेका छन्।

शीर्ष १० कम्पनीको विस्तृत विवरण
१, होङ्सी शिवम सिमेन्ट
नेपालको सबैभन्दा ठूलो एकीकृत 'ग्रिनफिल्ड सिमेन्ट युनिट'को रूपमा स्थापित होङ्सी शिवम सिमेन्टले कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। सन् २०२४ मा यसको कारोबार ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँ रह्यो। जुन, कुल बजारको २०.२७ प्रतिशत हो।
सन् २०२३ को १३ अर्ब ८१ करोड १० लाख रुपैयाँको तुलनामा यस वर्ष १३.६५ प्रतिशतले व्यापारमा गिरावट आएको छ। हङकङको रेड लायन सिमेन्टको ७० प्रतिशत र शिवम सिमेन्टको ३० प्रतिशत लगानी रहेको यो कम्पनीले क्लिंकर र सिमेन्ट दुवै उत्पादन गर्छ।
२, शिवम सिमेन्ट
मकवानपुरमा अवस्थित शिवम सिमेन्टको व्यापारमा ०.६३ प्रतिशतको सामान्य गिरावट देखिएको छ। सन् २०२४ मा यसको कारोबार सात अर्ब ७० करोड ४० लाख रुपैयाँ रहँदा, अघिल्लो वर्ष यो ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ थियो। कम्पनीमा लक्की ग्रुप, शारदा ग्रुप र योयल ग्रुपको लगानी रहेको छ।
३, सर्वोत्तम सिमेन्ट
सौरभ ग्रुपको स्वामित्वमा रहेको सर्वोत्तम सिमेन्टले यस वर्ष उत्कृष्ट प्रदर्शन गरेको छ। सन् २०२४ मा यसको कारोबार ६ अर्ब ४१ करोड ९० लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १९.०७ प्रतिशतले बढी हो। यसले क्लिंकर र सिमेन्ट दुवैको उत्पादन तथा बिक्री गर्छ।
४, अर्घाखाँची सिमेन्ट
सन् १९९८ देखि सञ्चालनमा आएको अर्घाखाँची सिमेन्टले २०२४ मा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। यसको व्यापारमा ५.०९ प्रतिशतले वृद्धि भएको छ। यस कम्पनीमा सिद्धार्थ ग्रुप, मुरारका ग्रुप, केडिया अर्गानाइजेशन र भारतको उम्मा सिमेन्टको सेयर स्वामित्व छ।
५, रिद्धिसिद्धि सिमेन्ट
मकवानपुरमा रहेको रिद्धिसिद्धि सिमेन्टले सन् २०२४ मा पाँच अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा बढी हो। शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको यो कम्पनीले 'मकवानपुर सिमेन्ट' ब्रान्डमा उत्पादन बिक्री गर्छ।
६, जगदम्बा सिमेन्ट
शंकर ग्रुप र सौरभ ग्रुपको संयुक्त लगानी रहेको जगदम्बा सिमेन्टले सन् २०२४ मा पाँच अर्ब ३८ करोड रुपैयाँको कारोबार गरेको छ।
७, मारुती सिमेन्ट
सिराहाको गोलबजारमा अवस्थित मारुती सिमेन्टले सन् २०२४ मा चार अर्ब ७० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। राठी ग्रुप र गोयल ग्रुपको लगानी रहेको यो कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्य लिएको छ।
८, पाल्पा सिमेन्ट (तानसेन)
'तानसेन' ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने पाल्पा सिमेन्टले सन् २०२४ मा चार अर्ब १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। जुन २.३५ प्रतिशतले बढी हो। यसको चुनढुंगा खानी पाल्पामा भए पनि उत्पादन प्लान्ट नवलपरासीमा रहेको छ।
९, घोराही सिमेन्ट
घोराही सिमेन्टको व्यापारमा सन् २०२३ को तुलनामा १३.७३ प्रतिशतको ठूलो गिरावट आएको छ। सन् २०२४ मा यसको कारोबार चार अर्ब १३ करोड ३० लाख रुपैयाँमा झरेको छ। यसमा त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी रहेको छ।
१०, युनाइटेड सिमेन्ट
धादिङमा उत्पादन प्लान्ट रहेको युनाइटेड सिमेन्टले सन् २०२४ मा दुई अर्ब ४६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ।
उद्योगका चुनौती र भविष्यका सम्भावना
नेपालका सिमेन्ट उद्योगहरूले हाल मागमा कमी र उत्पादन लागतमा वृद्धि जस्ता प्रमुख समस्याको सामना गरिरहेका छन्। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुका अनुसार विगत दुई वर्षमा करिब २० वटा सिमेन्ट उद्योग बन्द भइसकेका छन्। यसको मुख्य कारण उत्पादन लागत बढ्नु र बजारमा सिमेन्टको माग घट्नु हो।
अर्को प्रमुख चुनौती ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड प्रमाण पत्रको समस्या हो। यसले नेपाली सिमेन्ट उद्योगहरूलाई भारतमा निर्यात गर्न कठिनाइ भएको छ। सरकारले अनुदान दिने घोषणा गरे पनि अहिलेसम्म वितरण नगर्दा उद्योगीहरू निराश बनेका छन्।
यद्यपि, भविष्यमा पूर्वाधार विकासका काम बढ्दै जाँदा सिमेन्टको मागमा वृद्धि हुने अपेक्षा गरिएको छ। सरकारी भवन निर्माण, ठूला आयोजना र अन्य विकास निर्माणमा सक्रियता बढ्दा यो क्षेत्रमा सकारात्मक प्रभाव पर्ने छ। तर, कच्चा पदार्थको मूल्य वृद्धि, ऊर्जा संकट र सरकारी नीतिगत चुनौतीको समाधान गर्न आवश्यक छ।
समग्रमा, नेपालको सिमेन्ट उद्योगको बजार मिश्रित देखिएको छ। केही ठूला कम्पनीले मन्दीको सामना गरे पनि समग्र बजारमा भएको वृद्धिले यस क्षेत्रको सम्भावनालाई उजागर गर्छ।