काठमाडौं। अर्बौं रुपैयाँ बराबरको व्यापार गर्ने करिब दर्जन कम्पनी रेटिङ डाउनग्रेड तथा खारेज भएको छ। नेपालको प्रमुख रेटिङ एजेन्सी इक्रा नेपालले तथ्यांक उपलब्ध गराउन अटेरी गरेको भन्दै आफूले दिएको रेटिङ डाउनग्रेड र खारेज गरेको हो।
कम्पनीहरूले ५० करोड रुपैयाँभन्दा माथिको कर्जा दिँदा रेटिङ गराउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान छ। सार्वजनिक निष्काशनका लागि पनि कम्पनीहरूले अनिवार्य इस्यु रेटिङ गराउनु पर्छ।
एक पटक रेटिङ गराए बैंकबाट करोडौं रुपैयाँ कर्जा लिएका वा इस्यु रेटिङ गराएर सर्वसाधारण लगानीकर्ताबाट पुँजी संकलन गरेका यी कम्पनीहरुले रेटिङ खारेज वित्तीय बजार र लगानीकर्तामा नकारात्मक असर पर्ने देखिएको छ। कम्पनीको वित्तीय अवस्थाको पारदर्शिाता नहुँदा बैंक र सर्वसाधारणको पैसा जोखिममा पर्ने सम्भावाना बढ्छ।
इक्रा नेपालले गत वर्ष र अघिल्लो वर्ष गरेको कम्पनीहरूको रेटिङ अपडेट गराउन यो वर्ष तथ्यांक माग्दा समन्वय नगर्ने र तथ्यांश समयमै उपलब्ध नगाउनेको पछिल्लो रेटिङ तथ्यांक उपलब्ध नगराएको’ (इस्यु नट कोअप्रेटिङ) वर्गमा सारिएको भने केहीको रेटिङ खारेज गरिएको छ।
इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो सूचीअनुसार आरती भेजिटेबल प्रडक्ट्स प्रा.लि., थ्री स्टार हाइड्रोपावर लिमिटेड, नोबेल क्यान्सर हस्पिटल प्रा.लि., आदर्स कन्स्ट्रक्सन, खाजुरीको प्रा.लि., मर्केन्टाइल अफिस सिस्टम्स प्रा.लि., प्रोबायोटिक इन्डस्ट्रिज लिमिटेड, यात्री सुइट्स एन्ड स्पा प्रा.लि. र अटोवेज प्रा.लि. जस्ता कम्पनीहरूको रेटिङ डाउनग्रेड गरी ‘तथ्यांक उपलब्ध नगराएको’ वर्गमा राखिएको छ।
इक्राले क्रेडिट रेटिङ नियमावली, २०११ अनुसार उक्त कदम चालिएको जानकारी दिएको छ। उल्लेखित कम्पनीहरूलाई रेटिङसम्बन्धी जानकारीका लागि पटकपटक फलो-अप गर्दा पनि असहयोग भएपछि यस्तो कदम चालिएको इक्राको भनाइ छ। यी रेटिङहरू खारेज गर्नेसम्बन्धी इक्राले सम्बन्धित कम्पनीलाई सूचनासमेत पठाइसकेको छ।
साथै, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको रेटिङ पनि खारेज गरिएको छ। इक्रा नेपालले यी कम्पनीहरूको वित्तीय अवस्था र जोखिमको सही मूल्यांकन गर्नका लागि आवश्यक तथ्यांक प्राप्त गर्न नसकेको पछि उक्त कदम चालेको हो।
अटेरी कम्पनीको व्यापार
– आरती भेजिटेबल प्रडक्ट्स प्रालिः इक्राले रेटिङ डाउनग्रेड गरेको आरती भेजिटेबल प्रडक्ट्स प्रा.लि.ले सन् २०२४ अप्रिलमा रेटिङ गराई एक अर्ब ५२ करोड रुपैयाँ कर्जा लिमिट पाएको थियो। कम्पनीले सन् २०२४ को ६ महिनासम्म २६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
साथै, कम्पनीले सन् २०२२ मा ६८ करोड ५० लाख, सन् २०२२ मा २ अर्ब ५५ करोड ६० लाख, सन् २०२१ मा २ अर्ब ९० करोड र सन् २०२० मा १ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीले विभिन्न प्रकारका प्रशोधित खाने तेलहरू जस्तैः सोयाबिन, सूर्यमुखी र पाम ओलीन तेल उत्पादन गर्छ। कम्पनीले यी उत्पादनहरूलाई ‘फर्चुन’, ‘गगन’, ‘मेरीगोल्ड’ र ‘दावत’ ब्रान्डका नाममा बिक्री गर्छ।
सन् २००२ मा बारा जिल्लाको छाता पिप्रामा अवस्थित यो कम्पनीको पछिल्लो पटक रेटिङ हुँदा, कम्पनीका श्याम कुमार लोहियाको ३७.५ प्रतिशत, वरुण लोहियाको ३७.५ प्रतिशत, किरण लोहियाको १२.५ प्रतिशत र बिना लोहियाको १२.५ प्रतिशत सेयर स्वामित्व रहेका थिए।
– थ्री स्टार हाइड्रोपावर लिमिटेडः इक्राले रेटिङ डाउनग्रेड गरेका थ्री स्टार हाइड्रोपावर लिमिटेड सन् २०२४ को फेब्रुअरिमा रेटिङ गराएर ९३ करोड ७५ लाख रुपैयाँको कर्जा लिमिट पाएको थियो। सन् २०२४ को पहिलो त्रैमासमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।
खोटाङ जिल्लामा सन् २०१५ मा प्रा.लि.को रुपमा सथापना भएको थ्री स्टार हाइड्रोपावर कम्पनी २०१७ मा पब्लिकमा परिणत भएर सार्वजनिक निष्काशन आइपिओसमेत जारी गरिसेको छ।
यसले खोटाङ लिल्लामा ६.६ मेगावटको साप्सु खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ। यो आयोजना सन् २०२२ देखि सञ्चालनमा आएको हो। यसमा आङ निमा शेर्पाको १७.८० प्रतिशत, आङ छिरिङ लामाको १५.८२ प्रतिशत, उद्धवराज शिवाकोटीको १३.२७ प्रतिशत, कुमार खरेलको ९.४० प्रतिशत, धन बहादुर श्रेष्ठको ७.९६ प्रतिशत र जेन लामाको ६.५४ प्रतिशत सेयर स्वामित्व छ।
– नोबेल क्यान्सर हस्पिटल प्रालिः नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको प्रवर्द्धनमा मोरङको विराटनगरमा सन् २०२० मास्थापना भएको नोबेल क्यान्सर हस्पिटलले रेटिङ गराएर सन् २०२४ मा एक अर्ब ७१ करोड ६४ लाख रुपैयाँ कर्जा सीमा पाएको थियो।
उक्त समयमा हस्पिटलले पाएको दीर्घकालीन कर्जाको ‘एलबी’ र अल्पकालीन कर्जामा ‘एफो’ रेटिङ प्राप्त गरेको थियो। जसलाइ इक्राले अहिले खारेज गरेको हो।
हस्पिटलले एक सय शैय्याको स्वीकृति यो हस्पिटलले रेटिङ गराउँदाको समयमा निर्माणाधिन अवस्थामा रहेको थियो भने, प्रारम्भिक क्षमता २५ शैय्या हुने प्रस्ताव गरेको थियो।
– आदर्स कन्स्ट्रक्सनः इक्राले आदर्श कन्स्ट्रक्सनले सन् २०२४ मा गराएको रेटिङ खारेज गरेको छ। कम्पनीले गराएको क्रेडिट रेटिङमा इक्राले ५१ करोड ५० करोड रुपैयाँको कर्जा सीमा निर्धाराण गरी दीर्घकालीन कर्जामा ‘एलबि प्लस’ र अल्पकालीन कर्जामा ‘एफोर’ रेटिङ दिएको थियो।
सन् २०२३ मा कम्पनीले २२ करोड ८० लाख, सन् २०२२ मा २१ करेड ६० लाख र सन् २०२१ मा ९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् २००८ मा शिव शंकर यादवको एकल लगानीमा स्थापित यो कम्पनीले आवसीय र व्यवसायिक भवन, पुन, सडक र विभिन्न परियोजना संरचना निर्माण गर्छ।
– खाजुरीको नेपाल प्रालिः कम्पनीले सन् २०२४ मा गराएको रेटिङमा इक्राले एक अर्ब १० लाख रुपैयाँ कर्जा सीमा निर्धारण गरेको यो। उक्त समय इक्राले कम्पनीलाई दीर्घकालीन कर्जामा ‘एबिबी माइनस’ र अल्पकालीन कर्जामा ‘एफोर’ रेटिङ दिएको थियो।
चितवन, ललितपुर र मकवानपुरमा सन् १९९४ देखि उत्पादन उद्योग राखेर सञ्चालनमा आएको यो उद्योगले बिस्कुट कुकिज र पफ उत्पादन गर्छ।
उद्योगको अध्यक्ष ओमनाथ महर्जन हुन्। महर्जन परिवारकै ६ जना सदस्यको नाममा उद्योगको सेयर स्वामित्व छ। उद्योगले बिस्कुट कुकिज र पफ उत्पादन गर्छ।
– मर्केन्टाइल अफिस सिस्टम्स प्रालिः कम्पनीले सन् २०२४ को अप्रिलमा गराएको रेटिङलाई इक्राले खारेज गरेको छ। उक्त समय कम्पनीलाई ५० करोड रुपैयाँ कर्जा सिमा निर्धारण गरी दीर्घकालीन कर्जामा ‘एलबि माइनस’ र अल्पकालिन कर्जामा ‘एफोर’ रेटिङ दिइएको थियो।
सन् २०११ मा स्थापना भएको यो कम्पनीले एसर ब्रान्डका कम्प्युटर र एप्सन ब्रान्डको प्रिन्टर तथा कम्प्युटरका अन्य सामाग्रीहरु बिक्री गर्छ। साथै, आफ्नै उत्पादन पुमोरी प्लसको कोर बैंकिङ सफ्टवेयर, अन्य सफ्टवेयर विकासमार्फत् पनि आम्दानी गर्छ।
जसमार्फत् कम्पनीले सन् २०२३ मा ६८ करोड ३० लाख, सन् २०२२ मा ८० करोड ८० लाख, सन् २०२१ मा ६६ करोड ७० लाख र सन् २०२० मा ६४ करोड ८० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो। कम्पनीमा सञ्जीव राजभण्डारी र उनको परिवार तथा नजिकमा व्यक्तिहरूको सेयर स्वामित्व छ।
– प्रोबायोटिक इन्डस्ट्रिज लिमिटेडः प्रोबायोटेकले सन् २०२४ मा गराएको रेटिङ इक्रा नेपालले २०२५ अगस्टमा खारेज गरेको छ। उद्योगले उक्त समय ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ कर्जा सीमामा पाएर दीर्घकालीन कर्जामा एलबि माइनस र अल्पकालीन कर्जामा एफोर रेटिङ प्राप्त गरेको थियो। उद्योगले रेटिङ अपडेटमा समन्वय नगरेको भन्दै इक्राले खारेज गरिएको जानकारी गराएको छ।
सन् २००१ मा वीरगञ्जको लिपनी बिर्ता गजन्नापुरमा स्थापना भएको प्रोबायोटेक इन्डिस्ट्रिजले पशु आहार, फिड सप्लिमेन्ट, खाने तेलको प्रशोधन/शोधन र विभिन्न प्रकारका दाल तथा गेडागुडीको प्रशोधन तथा बिक्री गर्छ। जसको व्यापारबाट उद्योगले सन् २०२३ मा ११ अर्ब ४२ करोड १० लाख सन् २०२२ मा १४ अर्ब ९३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।
प्रोबायोटेक इन्डस्ट्रिज नेपालकै सबैभन्दा ठूलो पेलेट फिड (दाना) उत्पादन गर्ने उद्योग हो। जसको वार्षिक उत्पादन क्षमता १ लाख टन छ। नेपालको पहिलो पशुदाना उत्पादक प्रोबायोटेक इन्डस्ट्रिज निम्बस ग्रुपको ६४ प्रतिशत सेयर स्वामित्व रहेको छ।
– यात्री सुइट्स एन्ड स्पा प्रालिः कम्पनीले गत वर्ष गराएको रेटिङमा इक्राले ८० करोड रुपैयाँ कर्जा सीमा निर्धारण गरेको थियो। जसमा दीर्घकालीनमा ‘एलडि’ र अल्पकालीन कर्जामा ‘डि’ रेटिङ प्रादान गरी हाल खारेज गर्न नोटिस जारी गरेको हो।
सन् २०१५ मा स्थापना भएको यो कम्पनीले काठमाडौंको ठमेलमा ६२ कोठाको चारतारे होटल सञ्चालन गर्छ। कम्पनीमा चुङ गुरुङ्ग, मिङ्कु गुरुङ्ग र नील हरि बास्तोलाको समान सेयर स्वामित्व छ। कम्पनीले सन् २०२४ को ६ महिमा १० करोड र सन् २०२३ मा ९ करोड रुपैयाँ आम्दानी गरेको थियो।
– अटोवेज प्रालिः इक्राले कम्पनीले गत वर्ष गरेको रेटिङलाई डाउनग्रेड गरेर खारेजका लागि नोटिस पठाएको छ। कम्पनीलाई इक्राले उक्त समय १ अर्ब ३८ करोड १० लाख रुपैयाँ कर्जा सीमा निर्धाराण गरी दीर्घकालीनमा ‘एलबि माइनस’ र अल्पकालीन कर्जामा ‘एफोर’ रेटिङ दिएको थियो।
टोयटा, आइशर ब्रान्डका सवारी साधान र कोमात्सु ब्रान्डको निर्माण सामाग्री बिक्री गर्ने अटोवेजले सन् २०२३ मा १ अर्ब ४० करोड र सन् २०२२ मा २ अर्ब २६ करोड रुपैयाँको व्यापार गरेको थियो। सन् २००२ मा स्थापित यो कम्पनीको एकल सेयरधनी नारायण प्रसाद पौडेल हुन्।
रेटिङ एजेन्सीहरूले कुनै पनि कम्पनीको वित्तीय अवस्था, जोखिम र भविष्यमा ऋण तिर्न सक्ने क्षमताको मूल्यांकन गरी रेटिङ प्रदान गर्छन्। यो रेटिङ लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाका लागि एक महत्वपूर्ण सूचक मानिन्छ।
यसले लगानी गर्ने कि नगर्ने वा ऋण दिने कि नदिने भन्ने निर्णय गर्न सहयोग गर्छ। जब कुनै कम्पनीको रेटिङ डाउनग्रेड हुन्छ वा खारेज हुन्छ, यसले धेरै नकारात्मक असरहरू निम्त्याउँछ।
रेटिङ डाउनग्रेड र खारेज हुँदा कम्पनीलाई पर्ने असर
१. वित्तीय स्रोत जुटाउन कठिनाइः कुनै पनि कम्पनीका लागि रेटिङको सबैभन्दा ठूलो महत्व वित्तीय स्रोत जुटाउनु हो। यदि कम्पनीको रेटिङ कमजोर छ वा खारेज भएको छ भने बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कम्पनीलाई ऋण दिन हिचकिचाउँछन्।
यदि, ऋण दिए पनि, उनीहरूले उच्च ब्याजदर लगाउँछन्, जसले गर्दा कम्पनीको सञ्चालन खर्च बढ्छ। ‘तथ्यांक उपलब्ध नगराएको’ वर्गमा राखिएका कम्पनीलाई त झन् बैंकहरूले विश्वास गर्दैनन्।
२. लगानीकर्ताको विश्वास घट्छः सेयर बजारमा सूचीकृत कम्पनीहरूको हकमा रेटिङको ठूलो प्रभाव पर्छ। कमजोर रेटिङ वा रेटिङ खारेज हुँदा लगानीकर्ताको विश्वास घट्छ। उनीहरू यस्ता कम्पनीको सेयरमा लगानी गर्न डराउँछन्। यसले गर्दा कम्पनीको शेयर मूल्यमा गिरावट आउन सक्छ र बजारमा त्यसको छवि खराब हुन सक्छ।
३. व्यावसायिक छविमा क्षतिः रेटिङ डाउनग्रेड हुनु वा खारेज हुनुले कम्पनीको व्यावसायिक छविमा गम्भीर क्षति पु¥याउँछ। यसले कम्पनीको व्यवस्थापन कमजोर भएको, पारदर्शीताको अभाव भएको वा वित्तीय अवस्था सन्तोषजनक नभएको सन्देश प्रवाह गर्छ। यसको असर कम्पनीको साझेदार, ग्राहक र आपूर्तिकर्तासँगको सम्बन्धमा समेत देखिन सक्छ।
४. नियामक निकायको निगरानी बढ्छः रेटिङ एजेन्सीले कुनै कम्पनीलाई ‘तथ्यांक उपलब्ध नगराएको’ वर्गमा राखेपछि यसले नियामक निकायको ध्यान खिच्न सक्छ।
राष्ट्र बैंक, धितोपत्र बोर्ड वा अन्य सम्बन्धित निकायहरूले यस्ता कम्पनीहरूको गतिविधिमाथि थप निगरानी गर्न सक्छन्, जसले गर्दा कम्पनीलाई थप दबाब पर्न सक्छ।
यी सबै असरहरूले गर्दा कुनै पनि कम्पनीका लागि आफ्नो क्रेडिट रेटिङलाई राम्रो अवस्थामा राख्नु अति आवश्यक हुन्छ। यसका लागि कम्पनीले आफ्नो वित्तीय अवस्थालाई पारदर्शी राख्नुपर्छ र समयमै आवश्यक तथ्यांक तथा जानकारी रेटिङ एजेन्सीलाई उपलब्ध गराउनु पर्छ। यसले गर्दा कम्पनीको विश्वसनीयता कायम राख्न र वित्तीय बजारमा विश्वास जित्न मद्दत गर्छ।