काठमाडाैं। अन्नपूर्ण चक्रिय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड, सामाजिक, आर्थिक र सांस्कृतिक पक्ष अवलोकन तथा पद पर्यटनमा रमाउनेका लागि आकर्षक गन्तव्य हो। परम्परागत घर, गाउँवेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएका विशाल पर्वत पदयात्राका क्रममा देख्न पाइने हुँदा यो विश्व चर्चित बनेको छ।
पदमार्गअन्तर्गत बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी पर्छन्। मनाङको बेंसीसहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुगेपछि समापन हुन्छ।

पदमार्गमा अन्नपूर्ण हिमशृंखला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरि, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण, हिउँचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दाडाँडालगायत ६०००–८००० मिटर उचाइका धेरै चुचुरा आँखैअगाडि देख्न पाइन्छ।
विश्व चर्चित पदमार्गको यात्रा अहिले भने सडक निर्माण हुँदा छोटिएको छ। पहिले बेंसीसहरबाट हिँड्दा पाँचौं दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौंबाट सवारीसाधनमा एकै दिन पुग्न सकिन्छ। सडक निर्माण गरी पदमार्ग मासिँदा यसको मौलिकता नासिँदै गएको छ।







तस्बिरः क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी