काठमाडौं। बजारमा राँगा भैँसीको मासु (बफ) कुखुराको भन्दा प्रतिकिलो मै १ सय रूपैयाँ महँगो हुँदा पनि अधिकांश पसलमा बफ म:मको मूल्य चिकेन भन्दा कम छ। यो विरोधाभासपूर्ण मूल्य निर्धारणले उपभोक्तामा मासुको गुणस्तर, सम्भावित मिसावट र स्वास्थ्य जोखिमबारे गम्भीर प्रश्न खडा भएकाे छ। नेपालमा मासुको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुने गर्छ। हाल बजारमा राँगा तथा भैँसीको तयारी मासु (बफ) प्रतिकिलो ५०० देखि ५५० रुपैयाँसम्म पर्ने गर्छ भने ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो ३०० देखि ४०० रुपैयाँको हाराहारीमा पर्छ।
यी मूल्यमा बजारको माग र आपूर्ति अनुसार उतारचढाव हुने गरे पनि राँगा तथा भैँसी मासुको मूल्यको तुलनामा बोइलरको मासु सधैं कम मूल्यमा बिक्री हुन्छ। यो मूल्य भिन्नता स्थिर रहने गरेको छ। तर, मोमो पसलहरूमा भने यसको ठीक उल्टो अवस्था देखिन्छ। राँगा तथा भैँसी र बोइलरको तयारी मासुको मूल्यभन्दा माेमाेकाे ठीक उल्टो मूल्य पर्ने गरेको छ।
मोमो पसलमा मूल्य निर्धारण
काठमाडौं उपत्यकाका नाम चलेका मोमो पसलमा पनि चिकेन म:म बफको तुलनामा महँगो पाइएको छ। प्रमुख मोमो पसलहरूको मूल्य सूची हेर्दा यो स्पष्ट हुन्छ। मसाङ्गल्लीस्थित नारायणदाईको पसलमा प्रतिप्लेट बफकाे १८० रुपैयाँ पर्छ भने चिकेन म:मको प्रतिप्लेट २०० रुपैयाँ छ। यस्तै, शानदारमा प्रतिप्लेट बफ म:म१५० रुपैयाँ छ भने चिकेनकाे १७० रुपैयाँ प्रतिप्लेट पर्ने गरेको छ।
यी मूल्यहरू अनलाइन प्लेटफर्मबाट अर्डर गर्दा थप बढ्ने गर्छन्। अनलाइन प्लेटफर्मबाट यी म:महरू खाने हो भने १० देखि २० रुपैयाँसम्म महँगो पर्ने गर्छ। यसरी हेर्दा बजारभरि नै यो मूल्य निर्धारणको ढाँचा एकै प्रकारको देखिन्छ।
व्यापारीको तर्क र स्पष्टीकरण
बजारमा मासुको मूल्य हेर्दा बफकाे मूल्य चिकेनभन्दा प्रतिकेजी २ सय रूपैयाँ भन्दाबढी भए पनि मोमोको प्लेटमा भने ठीक उल्टो देखिन्छ। प्रायः मोमो पसलहरूमा बफ मोमोभन्दा चिकेन मोमोको मूल्य धेरै राखिएको हुन्छ। यसको पछाडिको मुख्य कारण के हो भन्ने जिज्ञासा धेरैको हुनसक्छ। मोमो पसल सञ्चालकहरूले यो मूल्य भिन्नताको मुख्य कारण हड्डी र छाला हटाउँदा हुने क्षतिलाई औंल्याएका छन्। मासुमा हड्डी भएको र नभएको मासुको लागतमा मूल्य भिन्न हुने गर्छ भन्ने तिनीहरूको तर्क छ।
नारायणदाईको मोमो सञ्चालक पूर्णिमा महर्जनका अनुसार, चिकेन मोमो महँगो हुनुको मुख्य कारण किमा तयार गर्दा मासुको मात्रा कम हुनु हो। "चिकेनमा सबै हड्डी र छालाहरू हटाउँदा जति किलो कुखुरा ल्याइन्छ, त्यति किलो किमा बन्दैन," उनले भनिन्। उनले बफको मासु ल्याउँदा हड्डीको मात्रा चिकेनको तुलनामा कम हुने भएकाले शुद्ध मासु (फल मासु) को मात्रा बढी रहने दाबी गरिन्। जसले गर्दा चिकेनको तुलनामा बफको मूल्य सस्तो भएको महर्जनले स्पष्ट पारिन्।
शानदार मोमोका लगानीकर्ता दुर्गा श्रेष्ठकाअनुसार बजारमा बफको मासु प्रायः हड्डी निकालेर नै आउने भएकाले तयारी मासु (किमा) मा शतप्रतिशत प्रयोग गर्न सकिन्छ। तर बोइलर कुखुरा सिंगो कुखुराको खरिद गरिन्छ। "१ केजी कुखुराबाट हड्डी नभएको मासु लगभग आधा केजी अर्थात् ५० प्रतिशत मात्र निस्कन्छ," श्रेष्ठले भनिन्। यसर्थ, चिकेन मोमो बनाउन प्रयोग हुने हड्डी नभएको किमाको लागत बफको हड्डी नभएको किमाको तुलनामा निकै उच्च हुन जाने भएकाले चिकेन मोमोको मूल्य बढी पर्ने र बफ मोमोको मूल्य कम पर्न जाने उनको तर्क छ।
"हामीले बोनलेस किमाको लागत हेर्नुपर्छ। बफमा शतप्रतिशत प्रयोग गर्न पाइयो, तर चिकेनमा १ केजी बराबर आधा केजी बोनलेस हुन्छ," उनले भने, "त्यसैले चिकेनको वास्तविक बोनलेस लागत बढी पर्न जान्छ, जसले गर्दा चिकेन मोमोको रेट बढ्छ।"
यसरी पसलमा बजारमा उपलब्ध मासुको सामान्य मूल्यभन्दा फरक तरिकाले बफ र चिकेन मोमोको मूल्य निर्धारण भएको देखिएको छ। पसलका अनुसार चिकेनमा हुने हड्डी र छाला हटाउँदा किमाको तौल घट्ने तर बफमा शुद्ध फल मासुको प्रयोग गरिने भएकाले मूल्यमा यो भिन्नता आएको व्यापारीहरूको दाबी छ।
मासुको गुणस्तरमा गम्भीर प्रश्नचिह्न
तर, चिकेन मोमोको तुलनामा बफ मोमो सस्तो हुनुमा मासुको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ। कतिपयले बफ मोमोको लागि कलेजो, फोक्सो, छाला वा बोसो जस्ता अंग पनि प्रयोग हुनसक्ने आशङ्का गरेका छन्। तर मोमो व्यापारीले कुनै पनि भित्री अङ्गहरू मिसावट नगरी फल मासु (शुद्ध मासु) मात्र प्रयोग गर्ने दाबी गर्छन्।
राँगा भैँसीको मासुको मोमोमा चिल्लोपन (बोसो) बढी हुने र चिकेन मोमो तुलनात्मक रूपमा सुख्खा हुने गरेको उपभोक्ता अनुभवले पनि बोसोको मिश्रणलाई संकेत गर्छ। बोसो मिसाउँदा किमा जुसी बन्ने र लागत पनि घट्ने एक तथ्य हो। मासु बाहेकका अंशहरू मिसाउँदा मोमोको प्रतिगोटा उत्पादन लागतमा उल्लेख्य कमी आउने भएकाले उपभोक्तालाई कम मूल्यमा बेच्न सकिने देखिन्छ। पाकिसकेपछि मासु एउटै देखिन्छ। यसरी बोसो र भित्री अङ्गहरू मिसाउँदा लागत घट्छ, जसले गर्दा बफ मोमो सस्तो पर्ने आँकलन गर्न सकिन्छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाका अनुसार, पहिलेको अनुगमनमा नाम चलेका केही मोमो पसलहरूमा समेत चिकेन मोमोमा टाउको, खुट्टा, आन्द्राभुँडीजस्ता प्रयोग गर्न नमिल्ने भागहरू मिसाइएको पाइएको थियो। यस्तै, बफ मोमोको किमामा पनि राँगाको आन्द्रा, भुँडी, फोक्सो, कलेजो जस्ता कमसल र खान नमिल्ने भागहरू मिसाइएको हुनसक्ने उपभोक्ताहरूको व्यापक गुनासो रहेको उनले बताए।
"गल्लीगल्लीमा खुलेका मोमो पसलहरूका लागि किमाको मात्रा, एक प्लेटमा कति ग्राम मासु, प्रयोग गरिने मासुको गुणस्तर, सरसफाइ र मूल्यको कुनै स्पष्ट मापदण्ड तोकिएको छैन," तिमिल्सिनाले भने, "यसको अभावमा पसलैपिच्छे मोमो १०, ९ वा १२ पिस प्रतिप्लेट, साइज र मूल्य फरक-फरक हुन्छ।"
विशेष गरी १५० रुपैयाँ प्रतिप्लेट बफ मोमोलाई ७०-९० रुपैयाँमा बेच्ने पसलहरूले मासुमा मिसावट गरेको हुनसक्ने आशङ्का व्यक्त गरिएको छ। यति कम मूल्यमा गुणस्तरीय शुद्ध मासुबाट मोमो बनाउन सम्भव नभएको तिमिल्सिनाको तर्क छ।
स्वास्थ्य जोखिम र नियमनको गम्भीर अभाव
नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष, पशु स्वास्थ्य विज्ञ तथा सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. मनोज कुमार शाहीले नेपालको मासु कारोबार अव्यवस्थित र जोखिमपूर्ण रहेको बताए। "स्लटर हाउसको व्यवस्था नहुनु र चोक-चोकमा अस्वच्छ तरिकाले मासु काट्ने चलनले ब्याक्टेरिया र भाइरस सर्ने जोखिम अत्यधिक छ," उनले भने, "करीब ६० प्रतिशत मानव रोगहरू मासु र दूधबाटै सर्ने भएकाले यो विषय जनस्वास्थ्यका लागि अत्यावश्यक छ।"
डा. शाहीका अनुसार, मासु कारोबारमा देखिएको अव्यवस्थाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। विशेष गरी मासु काट्ने स्थानको सरसफाइ, मासुको भण्डारण र ढुवानीमा अपनाइने विधिले रोग सर्ने जोखिम बढाउने उनको चेतावनी छ। सरकारले २०५५ सालमै पशु वधशाला र मासु जाँच ऐन, २०५५ बनाए पनि दुई दशकभन्दा बढी समय बितिसक्दा पनि यो ऐन कार्यान्वयनमा आउन सकेको छैन। काठमाडौं उपत्यकामा समेत यो ऐन पूर्ण रूपमा लागू नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको डा. शाहीले बताए।
ऐनको कार्यान्वयन नहुँदा मासु कारोबारमा मनोमानी भइरहेको छ। कहाँ र कसरी मासु काटिन्छ, कस्तो गुणस्तरको मासु हो, कुन भागको मासु प्रयोग भयो भन्ने कुनै पनि निगरानी हुन सकेको छैन। यसले उपभोक्तालाई अन्धकारमा राखेको छ।
मापदण्ड र नियमनको तत्काल आवश्यकता
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मोमोमा खाद्य प्रविधि तथा गुणस्तर विभाग, स्थानीय सरकार र वाणिज्य आपूर्ति विभाग लगायतका निकायहरूले तत्काल मापदण्ड तयार गरी मूल्य र गुणस्तरको नियमन तथा अनुगमन गर्न अत्यावश्यक देखिन्छ।
विशेषज्ञहरूका अनुसार, प्रति प्लेट कति ग्राम मासु प्रयोग गर्ने भन्ने स्पष्ट मापदण्ड तोक्नुपर्छ। हाल यो पसलैपिच्छे फरक छ। मासुको कुन-कुन भाग प्रयोग गर्न मिल्छ र कुन मिल्दैन भन्ने स्पष्ट पार्नुपर्छ। शुद्ध मासु मात्र प्रयोग गर्ने बाध्यात्मक व्यवस्था हुनुपर्छ। मासुको स्रोत र गुणस्तरको प्रमाणीकरण अनिवार्य गर्नुपर्छ। कहाँबाट, कसरी र कस्तो मासु ल्याइयो भन्ने अभिलेख राख्नुपर्छ। स्वच्छता र खाद्य सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ। नियमित निरीक्षण र अनुगमन हुनुपर्छ। र मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था हुनुपर्छ। यी मापदण्डहरू नआएसम्म उपभोक्ता जोखिममा नै रहने विज्ञहरूको चेतावनी छ। मोमो नेपालीको मनपर्ने खानेकुरा भएकाले यसको गुणस्तर र सुरक्षामा कुनै सम्झौता गर्न नहुने उपभोक्ता अधिकारकर्मीहरूको माग छ।
सरकारले पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयन गर्नुका साथै मोमो जस्ता लोकप्रिय खाद्य पदार्थका लागि विशेष मापदण्ड ल्याउन विज्ञहरूले सुझाव दिएका छन्। नत्र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहने अवस्था जारी रहनेछ।