काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जबर्जस्त जितपछि सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको मतपरिणाम अपेक्षित नरहने संकेत देखिएको छ। यद्यपि मतगणना जारी रहेकाले केही सिटमा कांग्रेस जित्ने निश्चित छ। समाचार लेख्दासम्म कांग्रेस ७ ठाउँमा विजयी भएको छ भने १० स्थानमा अगाडि छ।
कांग्रेस सभापति गगनकुमार थापासमेत ‘रेड जोन’मा परिसकेका छन्। सर्लाही ४ बाट उम्मेदवार रहेका थापा पछिल्लो मतगणनाअनुसार रास्वपाका अमरेशकुमार सिंहभन्दा करिब ६००० बढी मतान्तरले पछि छन्। यद्यपि मतगणना जारी रहेकाले अझै हारजितको टुंगो छैन।
पछिल्लो मतगणनाअनुसार रास्वपाले हालसम्म ३२ सिटमा विजयी भएको छ भने ८७ सिटमा अगाडि छ। यस्तै, समानुपातिकको मत गणनामा पनि पहिलो नम्बरमा रहेकाले बहुमततिरको आँकडा पछ्याउन थालेको देखिएको छ।
रास्वपाको जबर्जस्त जनमतपछिको नयाँ प्रतिनिधिसभामा कांग्रेसको सिंगो पदाधिकारी प्रवेश नहुने करिब निश्चित भएकाे छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीको हारलाई सहर्ष स्वीकारिने बताइसकेका छन्। नयाँ र बदलिएको कांग्रेस जनमत परीक्षणमा असफल भए पनि लोकतन्त्रको मूल्य–मान्यताविपरीत हुने कुनै पनि गतिविधिमाथि प्रश्न उठाइने उनकाे भनाइ छ।
काठमाडौंको भृकुटीमण्डपमा गत पुस २७ देखि ३० सम्म भएको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारी संसद् पुग्ने चाहनामा ब्रेक लागेको छ। भृकुटीमण्डप विशेष महाधिवेशनले १३ पदाधिकारी सर्वसम्मत चुनेको थियो। सर्वसम्मत चुनिएका कांग्रेस पदाधिकारी कुनै पनि जनमतमा फेल हुँदा प्रतिनिधिसभामा नपुग्ने देखिएको हो।
सभापति थापा (मतगणना जारी) कांग्रेस महामन्त्री प्रदीप पौडेल, अर्का महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री फरमुल्लाह मन्सुरलगायत पदाधिकारी निर्वाचनमा पराजित भएसँगै संसद् पुग्न रोकिएका हुन्।
महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे प्रत्यक्षतर्फ पराजित भएका छन्। पौडेल काठमाडौं ५ बाट र घिमिरे मोरङ ४ बाट पराजित भए। पौडेल काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पौडेलले ९ हजार १५९ मत ल्याए।
यस्तै, अर्का महामन्त्री घिमिरे मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीसँग पराजित भए। राजवंशीले ४० हजार ८३३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी भएका घिमिरेले १२ हजार ८१८ मत मात्रै ल्याउन सके।
विशेष महाधिवेशनले आठ जना सहमहामन्त्री विशेष महाधिवेशनबाट चुनेको थियो। यीमध्ये महिला सहमहामन्त्री डा. डिला संग्रौला पन्त उम्मेदवार बनेकी थिइनन्। दलित कलस्टरका सहमहामन्त्री प्रकाश स्नेही रसाइली बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए।
उनी एमालेका उम्मेदवार ऐन महरसँग पराजित भए। महरले १८ हजार ५४३ मत ल्याए निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका रसाइलीले १६ हजार ३०४ मत ल्याए।
आदिवासी जनजाति कलस्टरका सहमहामन्त्री एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा बागमती प्रदेशसभा सदस्य रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन्।
खस आर्य कलस्टरका सहमहामन्त्री उदयशमशेर राणा ललितपुर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भए। महर्जनले २३ हजार ३७३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका राणाले १३ हजार ५२० मत मात्रै ल्याए। ललितपुरका तीन क्षेत्रमध्ये एउटामा कांग्रेसले जित्ने आकलन गरिए पनि राणा विजयी हुन सकेनन्।
काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ सिटमध्ये कांग्रेस एउटामा पनि विजयी हुन सकेन। सबै सिट रवि लामिछाने र बालेन्द्र शाह बालेनहरुको रास्वपाले क्लिन स्वीप गरेको छ।
मधेसी कलस्टरबाट सहमहामन्त्री बनेकी मुक्ताकुमारी यादव प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकी छैनन्।

मुस्लिम कलस्टरबाट सहमहामन्त्री बनेका फरमुल्लाह मन्सुर बारा ३ बाट पराजित भएका छन्। मन्सुर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरबिन्द साहसँग पराजित भएका हुन्। साहले ४० हजार ६९७ मत ल्याएर निर्वाचित हुँदा मन्सुरले १० हजार ५२ मत मात्रै ल्याए।
थारु कलस्टरमा सहमहामन्त्री बनेका योगेन्द्र चौधरीले पनि पराजय उन्मुख देखिएका छन्। दाङ १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका चौधरीभन्दा रास्वपा उम्मेदवार देवराज पाठक फराकिलो मतान्तरले पछाडि छन् । पाठकले १८ हजार ३४२ मत ल्याउँदा चौधरीले ७ हजार १९३ मत मात्रै ल्याएका छन्।
पिछडिएको क्षेत्र कलस्टरबाट सहमहामन्त्री बनेका कर्णबहादुर बुढा पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। डोल्पाबाट निर्वाचनमा उठेका बुढा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढासँग फराकिलो मतान्तरले पछाडि छन्। हालसम्म धनबहादुरले २ हजार ९४ मत प्राप्त गर्दा कर्णबहादुरले ४२७ मात्रै पाएका छन्।
याे निर्वाचनमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल मैदानमा थिएनन्। निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, मीनेन्द्र रिजाललगायतले जमानतसमेत जोगाउन सकेनन्। मोरङबाट उम्मेदवारी दिएका दुवै जना रास्वपा उम्मेदवारबाट पराजित भएका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीको हारलाई सहर्ष स्वीकारिने बताइसकेका छन्। उनले नयाँ र बदलिएको कांग्रेस जनमत परीक्षणमा असफल भए पनि लोकतन्त्रको मूल्य–मान्यताविपरीत हुने कुनै पनि गतिविधिमाथि प्रश्न उठाइने जानकारी दिए।
उनले भने, ‘रास्वपा साथीहरुलाई अग्रिम शुभकामना। जनादेशअनुसार काम गर्नुहोला। लोकतन्त्रमा जनमत महत्त्वपूर्ण हुने हुँदा पार्टीपंक्ति निराशाभन्दा उज्यालो भविष्यका लागि सोच्नुपर्छ। संसद्मा जनताका समस्या सम्बोधनका लागि सरकारलाई कांग्रेसले निरन्तर भनसुन गरिरहनेछ।’
-1768635551.jpg)
निवर्तमान सभापति शेरबहादुर देउवालाई भृकुटीमण्डप विशेष महाधिवेशनबाट विस्थापित गरेर नेतृत्वमा पुगेका सभापति गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले बदल्यौं कांग्रेस बदल्छौं देश नारासहित निर्वाचनमा होमिए पनि जनमत पत्याएको देखिएन। नयाँ र ऊर्जावान् कांग्रेस पार्टी प्रतिनिधिसभामा पहिलो हुने अड्कल काटिए पनि जनमतले तिरस्कार गरेको छ।
निर्वाचनले कांग्रेसको नयाँ नेतृत्वमाथि समेत प्रश्न गर्नेछ। यद्यपि जेनजी आन्दोलनपछि देउवाले राजीनामा नदिँदा त्यसको दोष र खोट कांग्रेसमाथि आइलागेकै कारण निर्वाचनमा जनमतले नपत्याएको हो।