काठमाडौं। राजनीतिमा निकै प्रभावशाली नेताको रुपमा हेरिएका नेकपा एमाले तथा पूर्वअर्थमन्त्री विष्णु पौडेले चुनावमा पराजित भए। लामो समयदेखि राजनीतिक प्रभाव जमाइरहेका उनले यस पटकको निर्वाचनमा निकै भारी मतले पराजित भएका हुन्।
नयाँ र युवा उम्मेद्वारले धेरै क्षेत्रमा अग्रता लिँदै गर्दा पूर्वअर्थमन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रबाट हार ब्यहोरेका हुन्। पूर्वअर्थमन्त्रीमध्ये राजनीतिमा प्रभावशाली रुपमा आफूलाई स्थापित गरेका पौडेलले यो पटक फराकिलको मतान्तरले पराजय भोग्न बाध्य भए।
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे। चुनावी अनुभवी पौडेललाई पराजित गर्दै खरेल राष्ट्रिय राजनीतिमा उदाएका हुन्। उनले ५६ हजार ५५० मत पाउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा अोलीले आफू निकट पौडेललाई पाल्पा क्षेत्र नम्बर २ मा उम्मेद्वारका रुपमा टिकट दिएका थिए। तर, रुपन्देही २ का एमाले नेता तथा कार्यकर्ताले दबाब दिएसँगै उनलाई पुरानै निर्वाचन क्षेत्रमा फर्काए।
राजनीतिका अब्बल खेलाडी पौडेलको यो दोस्रो हार हो। २०५६ सालदेखि रुपन्देहीबाट चुनाव लड्दै आएका उनी २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार विजयी भएका थिए। माओवादीको दबदबा रहेको समयमा समेत सहज जित निकालेका उनले देशभर चलेको रास्वपाको लहरमा आफ्नो पुरानो विरासतलाई फर्काउन सकेनन्।
चुनावी प्रतिस्पर्धामा रहेका पूर्वअर्थमन्त्री मध्ये वर्षमान पुनबाहेक अन्य पूर्वअर्थमन्त्रीहरु रेड जोनमा देखिएका छन्। पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनबाहेक अरु अर्थमन्त्री चुनावी प्रतिस्पर्धामा कम मत प्राप्त गर्दै रेड जोनमा रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन रोल्पाबाट विजयी भएका छन्। पुनले रोल्पाबाट निर्वाचित भएर ह्याट्रिक गरेका हुन्। उनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाए। देशभर रास्वपाको माहोल बनिरहँदा पार्टीका उम्मेदवार बालराम थापाले १० हजार ८९४ ल्याएर तेस्रो भए। नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्।
यस्तै अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्मा पराजित भएका छन्। रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुँदा उनी पराजित भएका हुन्। शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु के.सी.लाई ४ हजार ९४८ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार गोपाल शर्माले २१ हजार ६०९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु के।सी।ले १६ हजार ६६१ मत ल्याएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रहेका पूर्वअर्थमन्त्री जनार्दनले १४ हजार ३४६ मत पाए। उनी पार्टी एककरणमा नेकपा नगई आफ्नै पार्टी बनाएर चुनावमा होमिएका थिए।
यता यसअघि नेपाली कांङ्ग्रेसका तर्फबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महत पनि पराजित भए। नुवाकोटा क्षेत्र नम्बर १ बाट महतको प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिना विजयी भएका हुन्। उनले १३ हजार १५२ मत पाउँदा पूर्वअर्थमन्त्री महतले १२ हजार ११९ मत पाए।
यसरी हेर्दा, चुनावमा होमिएका चार अर्थमन्त्रीहरूमध्ये वर्षमान पुनले मात्रै आफ्नो क्षेत्रमा सहज रुपमा चुनाव जित्न सफल भए। उनीबाहेक पूर्वअर्थमन्त्रीहरू पौडेल र महतलाई रास्वपाका उम्मेदवारले पराजित गरेका हुन्छ। अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्मा आफ्नै अहमका कारण पार्टी फुटाउँदा ठूलो हार बेहोर्न परेका हुन्। उनी आफ्नै पूर्वसहकर्मीसँग पराजित भए।