काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन्। स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतबार आयोजना गरेको सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप र महिलाको भूमिका विषयक अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका महिला नेतृहरू सुर्ती नियन्त्रणमा एकजुट हुनुपर्ने आवश्यकता बोध गरेका हुन्।
कार्यक्रमको सुरुवात गर्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक शान्त लाल मुल्मीले महिलाहरूलाई सुर्तीमा आकर्षण गर्न उद्यमीहरूले विभिन्न छलछाम गरिरहेको बताए। उनले सामाजिक सञ्जाल र चलचित्रमार्फत महिलाले सुर्ती सेवन गर्नु पनि सामान्य हो अनि सुर्ती सेवन गरेर पुरुष र महिला बराबर हुन्छ भन्ने भाष्य स्थापित गर्न खोजेको दृष्टान्त पेस गरे।
इ सिगरेट र भेप संस्कृतिमार्फत महिलालाई कुसंस्कारमा धकेलिरहेको पनि स्पष्ट पारे। अहिलेको परिस्थितिमा सुर्ती नियन्त्रणसम्वन्धी कानुन कार्यान्वयन र सुर्ती नियन्त्रणमा उद्योगी व्यवसायीको हस्तक्षेप विरुद्ध सशक्त आवाज उठाउन महिलाहरूको भूमिका अपरिहार्य रहेको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले सुर्ती उद्योगले नयाँ–नयाँ रणनीतिहरू प्रयोग गर्दै महिलालाई लक्षित गरी बजार विस्तार गर्ने प्रयास गरिएको छ। उनीहरूले विशेष गरी सामाजिक सञ्जाल, लाइफस्टाइन मार्केटिङ, आकर्षक प्याकेजिङ तथा स्वादयुक्त उत्पादनमार्फत युवतीहरूलाई आकर्षित गर्ने प्रयास भइरहेको धारणा राखेका छन्।
वक्ताहरूका अनुसार नेपालमा महिलामा सुर्ती प्रयोग पुरुषको तुलनामा कम भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ। विशेष गरी सहरी युवतिहरूबिच खबउभ तथा ई–सिगरेट जस्ता नयाँ उत्पादनप्रति आकर्षण बढ्दै गएको संकेत देखिएको उनीहरूले बताएका छन्।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंहले सुर्ती उद्योगले महिलाको स्वतन्त्रता र आधुनिकताको छविलाई प्रयोग गरेर बजार विस्तार गर्ने रणनीति अपनाउने गरेको बताइन्। उनका अनुसार धूम्रपानलाई स्वतन्त्रता र आधुनिक जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नु उद्योगको दीर्घकालीन मार्केटिङ रणनीति छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले महिलामा सुर्ती प्रयोगको असर निकै गम्भीर हुने बताए। उनीहरूका अनुसार धूम्रपानले महिलामा क्यान्सर, मुटुरो तथा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढाउनुका साथै गर्भावस्थामा पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले सुर्ती प्रयोग गर्दा गर्भपतन, कम तौलका शिशु जन्मिने तथा समयभन्दा अगाडि बच्चा जन्मिने जोखिम बढ्ने गर्दछ। यसले मातृ तथा शिशु स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघकी पूर्व अध्यक्ष शर्मिला कार्कीले सुर्ती उद्योगले नीति निर्माण प्रक्रियामा पनि प्रभाव पार्ने प्रयास गर्ने गरेको बताइन्। कर वृद्धि रोक्ने प्रयास, कानुन कार्यान्वयन कमजोर बनाउने प्रयास तथा नयाँ उत्पादनमार्फत बजार विस्तार गर्ने रणनीति उद्योगले अपनाउने गरेको उनले उल्लेख गरिन्।
वातावरणविद् डा।अनुसुया जोशीले नेपालमा सुर्ती नियन्त्रणका लागि कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्। विशेष गरी सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रण तथा सामाजिक सञ्जालमार्फत हुने अप्रत्यक्ष प्रचारलाई रोक्न अझै कडा कदम आवश्यक रहेको उनको भनाइ थियो। सुर्ती सेवनले जसरी मानव स्वास्थ्य बिगारिरहेको छ, त्यसको सयौँ गुणा वातावरण फोहर गरी विनाश गरिरहेको उनले टिप्पणी गरिन्।
कार्यक्रममा महिला नेतृहरूले सुर्ती नियन्त्रण अभियानमा महिला आन्दोलनको भूमिका महत्त्वपूर्ण हुन सक्नेमा पनि जोड दिएका थिए। उनीहरूले महिला समूह, आमा समूह तथा स्थानीय तहका महिला प्रतिनिधिहरूले सुर्ती नियन्त्रणका लागि समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न सक्ने बताए।
वक्ताहरूले विद्यालय तथा विश्वविद्यालय स्तरमा युवालाई लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम आवश्यक रहेको पनि बताएका छन्। विशेष गरी भेप तथा ई–सिगरेट सुरक्षित विकल्प होइन भन्ने सन्देश युवामाझ फैलाउन आवश्यक रहेको उनीहरूले बताएका छन्।
कार्यक्रममा सहभागीहरूले सुर्ती नियन्त्रणका लागि सरकार, नागरिक समाज, स्वास्थ्य क्षेत्र तथा सञ्चार क्षेत्र बिच सहकार्य आवश्यक रहेको धारणा राखे। उनीहरूले सुर्तीजन्य पदार्थमा कर वृद्धि, स्वादयुक्त उत्पादनमा नियन्त्रण तथा युवालाई लक्षित प्रचार रोक्नुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रमको अन्त्यमा वक्ताहरूले महिला सशक्तीकरण र सुर्तीमुक्त समाजबिच गहिरो सम्बन्ध रहेको बताएका छन्। उनीहरूले महिलाको नेतृत्व र सामूहिक प्रयासबाट सुर्तीमुक्त समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका थिए।