पाम जुमेइराको फेयरमन्ट होटलमा आगो लागेको थियो। अमेजनको डेटा सेन्टर जलिरहेको थियो। दुबई विमानस्थल बन्द थियो। संसारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय एयरलाइन ’एमिरेट्स’का जहाज ग्राउन्डेड थिए। यी सबैको बीचमा लाखौं नेपाली कामदार त्रासमा बाँचिरहेका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका र इजरायलको इरानमाथिको आक्रमणको जवाफमा इरानले खाडी मुलुकमा मिसाइल र ड्रोन दागेको छ। कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स यसको चपेटामा परिसकेका छन्। दशकौंदेखि ’सुरक्षित टापु’ मानिएको दुबईको त्यो चमकदमक छवि एकाएक धूमिल भएको छ।
’सुरक्षित स्वर्ग’ ध्वस्त
दुबई पहिलेदेखि नै क्षेत्रीय द्वन्द्वबाट टाढा रहने गरेको थियो। अक्टोबर २०२३ मा हमासको इजरायलमाथिको आक्रमण होस्, गाजा युद्ध होस् वा गत वर्षको इरान–इजरायल १२ दिने लडाइँ होस्। दुबईको विश्वसनीयतामा खासै असर परेको थिएन। धनी र विश्वभर आर्थिक अवसर खोज्ने मानिसका लागि दुबई एउटा आदर्श गन्तव्य बनेको थियो- बसोबास गर्न, काम गर्न, पैसा कमाउन र किनमेल तथा सामुन्द्रिक बिचमा सेकिन।
युद्ध लम्बियो भने विप्रेषणको प्रवाह घट्नेछ र त्यसको मार नेपालका घरघरमा पर्नेछ, जहाँ परिवार महिना अन्तमा खाडीबाट आउने रकमको प्रतीक्षामा बस्छन्।
तर यसपटक मिसाइल सहरको बीचमा आएर खसेका छन्। पाँचतारे होटलमा आगो लागेको छ, बन्दरगाहको काम रोकिएको छ र वासिन्दाको घरको आँगनमा मिसाइलका टुक्रा खसेका छन्। अमेरिकी विदेश विभागले आफ्ना नागरिकलाई क्षेत्र छोड्न आग्रह गरिसकेको छ। केही विदेशी नागरिक ओमान र साउदी अरेबियाको हवाई मार्गबाट पलायन हुन थालेका छन्।
दुबईका शासकहरूले जनतामा विश्वास जगाउन भरमग्दुर कोसिस गरिरहेका छन्। अधिकांश इरानी ड्रोन र मिसाइल मध्यमार्गमै ध्वस्त पारिएका छन्। सुपरमार्केटमा सामान अभाव छैन। बन्दरगाहले छिट्टै काम पुनः सुरु गरेको छ। युएईका राष्ट्रपति मोहम्मद बिन जायदसमेत मार्च २ मा दुबई मलमा घुम्न निस्किए- मानौं सबैकुरा सामान्य छ भन्ने सन्देश दिन खोजेका होलान्। तर, धुवाँका मुस्ला, मिसाइल रोकिँदाको विस्फोटको आवाज र लडाकु विमानको गर्जन। यी कुरालाई ढाकछोप गर्न सकिँदैन।
दुबईको दाउः दुबईमा कम्तीमा १८ वटा डेटा सेन्टर छन्, जुन युएईको कुल संख्याको आधा हो। माइक्रोसफ्ट र ब्ल्याकरकसँग ३० अर्ब डलरको एआई पूर्वाधार साझेदारी र ओपनएआई, एन्थ्रोपिक तथा हब्क्ष्मा हिस्सेदारी रहेको छ।
व्यापारिक केन्द्रको हिसाबकिताब बदलियो
दुबई विश्वको सबैभन्दा तेजगतिमा बढ्दै गरेका व्यापारिक केन्द्रहरूमध्ये एक हो। गत वर्ष मात्र यसको जनसंख्या ५.६ प्रतिशतले बढेर ३९ लाख पुगेको थियो-सन् २०१९ यताकै सबैभन्दा तीव्र वृद्धि। २०२५ को पहिलो आधा वर्षमा एक हजारभन्दा बढी कम्पनी दुबईको वित्तीय केन्द्रमा दर्ता भए, एक वर्षअघिको तुलनामा झन्डै एक तिहाइ बढी। जेपीमोर्गन चेस, स्ट्यान्डर्ड चार्टर्ड, अमेजन, माइक्रोसफ्ट। विश्वका ठूला नाम दुबईमा जरा गाड्दै थिए।
तर, युद्धले यो तस्बिरलाई हल्लाइदिएको छ। यी कम्पनीले अहिलेसम्म युएईमा राजनीतिक जोखिम बिमासमेत लिएका थिएनन्, किनकि त्यो जरुरी नै लाग्दैनथ्यो। अब त्यो हिसाबकिताब बदलिइसकेको छ। मार्श कन्सल्टेन्सीका भूराजनीतिक जोखिम विश्लेषक क्रिस्टोफर कपकका अनुसार कम्पनीहरूले अहिले राजनीतिक जोखिम बिमाका बारेमा सोध्न थालिसकेका छन्, जुन बिमा सामान्यतः अस्थिर उदीयमान बजारका लागि मात्र किनिन्थ्यो।
लाखौं नेपालीः सबैभन्दा ठूलो दाउ
दुबई र खाडी मुलुकमा अनुमानित १८ लाखभन्दा बढी नेपाली कामदार छन्। होटल, निर्माण, सफाइ, सुरक्षा। यिनै क्षेत्रमा काम गर्दै उनीहरूले घरमा पठाउने पैसाले नेपालको अर्थतन्त्र धानिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै एक चौथाइ हिस्सा यही विप्रेषण आयले ओगट्छ। तर, अहिले यिनै ठाउँमा मिसाइल खसिरहेका छन्।
यदि ठूला कम्पनीले काम कटौती गर्न थाले भने सबैभन्दा पहिले असर पर्ने अस्थायी र अदक्ष कामदारमा हो र त्यसमध्ये ठूलो हिस्सा नेपाली नै हुन्। दुबई विमानस्थल बन्द भएको अवस्थामा नयाँ कामदार जान पनि गाह्रो छ। युद्ध लम्बियो भने विप्रेषणको प्रवाह घट्नेछ र त्यसको मार नेपालका घरघरमा पर्नेछ, जहाँ परिवार महिनाको अन्तमा खाडीबाट आउने रकमको प्रतीक्षामा बस्छन्।
दुबईका अधिकारीले भनेका छन् शहर संकटमा ’पिभोट’ गर्न सक्छ। तर यसपटक कुराहरू उनीहरूको हातमा छैनन्। युद्ध अन्त कहिले हुन्छ, कुन देशसम्म फैलिन्छ, अन्तर्राष्ट्रिय कम्पनीले के निर्णय गर्छन्? यी सबै प्रश्नका जवाफ दुबईसँग छैन।
मिसाइलको धुवाँ र लडाकु विमानको गर्जन अहिले दुबईको चमकदार आकाशमा छ। स्रोतः द इकोनोमिस्ट