काठमाडौं। काठमाडौं रिङरोड विस्तारमा अवरोधमाथि अवरोध देखिएको छ। कूल २७ किलो मिटरमध्ये बन्न बाँकी रहेको करिब साढे १७ किलो मिटर सडक विस्तारका लागि जग्गा विवाददेखि मास्टर प्लानका कारणले अन्यौल थपिएको हो।
काठमाडौं उपत्यकाको रिङरोड ८ लेनमा विस्तार गरिने कार्य भइरहेको छ। कोटेश्वर, तिनकुने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, बसुन्धरा, सामाखुशी, गोंगबु, बालाजु, स्वयम्भ, सितापाइला, कंलकी, बल्खु, एकन्तकुना, सातदो बाटो, ग्वार्को, बालकुमारी हुँदै बनेको यो चक्रपथ २७ किलो मिटर छ। यसमध्ये कोटेश्वर–कलंकी खण्ड ९.५ किलोमिटर सडक आठ लेनमा विस्तार भइसकेको छ। बाँकी १७.५ किलो मिटर चक्रपथ सडक क्षेत्रमा कुनैमा काम हुन सकेका छैनन्। कुनै क्षेत्रमा भइरहेका छन्।
उपत्यकाको रिङरोड ८ लेनमा विस्तारका लागि हाल सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले काम गरिरहेका छन्। यी निकायले चार लेनमा रहेका सडकलाई ८ लेनमा विस्तारका लागि काम गरेको हो। आठ लेनको रिङरोड सडक विस्तारसँगै भित्री बाटो पनि विस्तारको कार्य हुँदै छन्।
यसमध्ये हाल कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर खण्डमा सडक विस्तार आयोजनाले काम गरिरहको आयोजना प्रमुख डि.ई. आशिका पोखरेलले बताइन्। ‘यो खण्ड चीन सरकारको सहयोगमा विस्तार हुन लागेको भए पनि मुख्य सडकको निर्माण प्रक्रिया बाँकी छ। सर्भिस ट्र्याक निर्माण र कालोपत्रे गर्ने काम द्रुत गतिमा अघि बढेको छ,’ उनले भनिन्।
चिनियाँ पक्षले यो सडक खण्डको सर्भे कार्य सम्पन्न गरिसकेको छ। अहिले डिजाइनको काम भइरहेको छ। डिजाइन तयार भई सरकारबाट स्वीकृत भएपछि मात्र निर्माण कम्पनी छनोट गरी काम सुरु हुनेछ।
यो ८ किलोमिटरको खण्डमा अहिले सरकारको स्रोतबाट सर्भिस ट्र्याक र अन्य पूर्वाधारको काम भइरहेको उनले बताइन्। सर्भिस ट्र्याकको काम दुईदेखि तीन महिनाभित्र सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ। ‘मुख्य एक्सप्रेस वेका लागि ११.२ अर्ब लागत अनुमान गरिएको छ,’ उनले भनिन्, ‘चीनसँगको अन्तिम सम्झौतापछि मात्र यकिन लागत र समयसीमा तय हुनेछ।’
चिनियाँ पक्षले यो सडक खण्डको सर्भे कार्य सम्पन्न गरिसकेको छ। अहिले डिजाइनको काम भइरहेको छ। डिजाइन तयार भई सरकारबाट स्वीकृत भएपछि मात्र निर्माण कम्पनी छनोट गरी काम सुरु हुनेछ। ‘माछापोखरी चोकमा फ्लाइओभर र वनस्थली नजिक कल्भर्टको ठाउँमा पुल निर्माण गर्ने प्रस्ताव गरिएको छ,’ उनले भनिन्।
यस्तै, रिङरोड विस्तारका लागि अन्य सडक खण्ड काठमाडौं सडक डिभिजन कार्यालयको दायारामा पर्छ। रिङरोडअन्र्तगत महाराजगञ्जदेखि चप्पल कारखानासम्म सडक विस्तार भइरहेको छ। यो खण्डामा करिब ६६० मिटर लामो खण्ड ८ लेनमा विस्तार भइरहेको सडक डिभिजन काठमाडौंका सूचना अधिकारी इ. रामचन्द्र फुयाल बताउँछन्। करिब साढे ६ सय मिटर लामो सडक विस्तारका लागि करिब २५ करोड रुपैयाँ लागत छ।
रिङरोड सडक विस्तारका लागि विभिन्न खण्डमा जग्गा विवादको समस्यासमेत देखिएको छ। चप्पल कारखानादेखि चाबहिल चोकसम्म सडक विस्तारका लागि हालसम्म काम हुन सकेको छैन। चाबहिल चोकदेखि गौशालासम्म सडक खण्ड क्षेत्रमा रिङरोडको ‘राइट अफ वे’ नै दायाँबायाँ जम्मा ११ मिटर मात्र भएकाले थप विस्तार गर्न नसकिने फुयालले बताए।
फुयालका अनुसार गौशाला चोक÷पींगल स्थानदेखि तीनकुनेसम्म (एयरपोर्ट क्षेत्र) खण्डमा पशुपति क्षेत्र विकास कोषको जग्गा र एयरपोर्टको फ्लाइओभरलगायतको मास्टर प्लानको छलफल टुङ्गो नलागेकाले यस खण्डको काम अघि बढ्न सकेको छैन। यसले कोटेश्वर–तीनकुने खण्डमा पनि केही सुधारका कामहरू अलमलमा परेका छन्।
जग्गाको सीमा विवाद, पशुपति क्षेत्रको जग्गा र ठूला आयोजनाको मास्टर प्लानमा अन्यौलका कारण बाँकी खण्डहरूको काम अघि बढ्न सकेको अवस्था छैन।
पिंगल स्थानदेखि यति एयरलाइन्सको अफिस अगाडिसम्म भित्री भागको खण्डको सडकमा रिङरोडको भित्री पट्टी मात्र विस्तारको काम भइरहेको छ। ‘बाहिरी भागमा पशुपति क्षेत्र विकास कोषको जग्गा परेकाले काम गर्न सकिएको छैन,’ फुयालले थपे।
अहिले महाराजगञ्ज-चप्पल कारखाना र पिंगल स्थान-एयरलाइन्स अफिस (भित्री भाग)मा सीमित रूपमा विस्तारको काम भइरहेको छ। जग्गाको सीमा विवाद, पशुपति क्षेत्रको जग्गा र ठूला आयोजनाको मास्टर प्लानमा अन्यौलका कारण बाँकी खण्डहरूको काम अघि बढ्न सकेको अवस्था छैन।
यही रिङरोडअन्र्तगत सन् २०१८-२०१९ मा कोटेश्वरदेखि कलंकी सडक खण्ड साढे नौ किलोमिटर आठ लेनको विस्तार गरिएको थियो। कलंकीमा ट्राफिक जाम कम गर्नका लागि नेपालको पहिलो अन्डरपास निर्माण गरिएको थियो।
महाराजगञ्ज-चप्पल कारखाना खण्डमा सम्झौता अवधि सकिँनै लाग्दा काम अधुरै
काठमाडौं चक्रपथको महत्वपूर्ण खण्ड महाराजगञ्जदेखि चप्पल कारखानासम्मको ६६० मिटर लामो सडक विस्तार कार्य निर्धारित समयमै पूरा नहुने भएको छ। करिब २५ करोड रुपैयाँको लागतमा आठ लेनमा विस्तार भइरहेको यो खण्डको ठेक्का सम्झौता यही मंसिर १३ गते सकिँदै छ।
यो खण्ड विस्तारका लागि २०८१ फागुन ६ गते सम्झौता भएको थियो। तर, हालसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ। सडक विभागका अधिकारीका अनुसार मुख्य समस्या मापदण्डअनुसारको निर्माण सामग्रीको अभाव हुँदा कामको गति सुस्त भएको हो।
संरचनात्मक कामहरू लगभग सकिए पनि सडकको माथिल्लो मुख्य लेयर (अस्फाल्ट) हाल्ने काम सामग्रीको गुणस्तर परीक्षण र आपूर्तिको समस्याले रोकिएको उनीहरुको भनाइ छ। मंसिर १३ गतेसम्म काम सक्ने लक्ष्य भए पनि भौतिक प्रगति हेर्दा समय थपिने निश्चित भएको छ। जसको औपचारिक प्रक्रिया माथिल्लो निकायबाट हुने देखिएको छ।
सूचना अधिकारी फुयालका अनुसार पुरानो चार लेनको सडकलाई दुवै साइडबाट दुई-दुई लेन कुल आठ लेनमा विस्तार गर्नुका साथै पैदल यात्री तथा स्थानीय पसलमा पुग्न दुई लेनको भित्री बाटो निर्माण भइरहेको छ।