काठमाडाैं। वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।
अख्तियारले जीवनबहादुर शाही, सुगतरत्न कंसकार, शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी, रामहरि शर्मा सेढाई, जनकराज कालाखेती, प्रभाशकुमार कर्माचार्य, गणेशबहादुर चन्द, कर्णबहादुर थापा, सुवास रिजाल, रमेशबहादुर शाह, रवीन्द्रकुमार शेरचन, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधरलगायतलाई कैद सजाय र जरिवाना माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तर, विशेष अदालतले प्रतिवादी सुगतरत्न कंसकारलाई मात्र २ वर्ष ६ महिना कैद र १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। उनका उमेर ७४ वर्ष भएकाले ज्येष्ठ नागरिक ऐन अनुसार ५० प्रतिशत छुटको व्यवस्था पनि विशेष अदालतले लागू गरेको थियो।
त्यसैगरी, प्रतिवादी शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछानेलाई आरोप दाबी अनुसार कसुर ठहर गर्दै जनही १ वर्ष ६ महिना कैद र सोही बिगो अनुसार जरिवाना तय गरिएको थियो। शंकरप्रसाद अधिकारी विशिष्ट श्रेणीको सचिव पदमा कार्यरत हुनुको कारण उनीमाथि थप ३ महिना कैद सजाय थपिएको थियो।
त्यस्तै, प्रतिवादी दीपक शर्मा, क्रिस्टियन न्यूहलेनसहित कम्पनीका अन्य प्रतिवादीहरूलाई पनि जनही १ वर्ष ६ महिना कैद र बिगो अनुसार जरिवाना हुने तथा सोही रकम उनीहरूमाथि असुल हुने निर्णय गरिएको थियो। अन्य सबै प्रतिवादीहरूलाई विशेष अदालतले सफाइ दिएको थियो। यस फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो।