काठमाडौं। सवारी साधनमा कालो सिसा प्रयोग गर्ने चालकमाथि भारी जरिवाना लाग्ने कानुन बनाउने तयारी भइरहँदा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले त्यस्ता सवारीमाथि कडा कारबाही गर्न थालेको छ।
नयाँ ‘सवारी तथा यातायात व्यवस्था ऐन,’को मस्यौदामा ट्राफिक नियम उल्लंघन गरे भारी जरिवानाको चर्चा चलिरहेकै बेला उपत्यका ट्राफिकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कालो सिसा प्रयोग गर्नेमाथि जरिवाना र कारबाहीलाई तीव्र बनाएको हो।
सरकारले तयार पारेको नयाँ ‘सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी साधनमा कालो सिसा प्रयोग गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिए पनि उक्त ऐन हालसम्म कार्यान्वयनमा आएको छैन। यो प्रस्तावित ऐन अहिले मस्यौदाको चरणमै रहेको छ।
यद्यपि, प्रस्तावित ऐन कार्यान्वयनमा नआए पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका सवारी साधनमाथि निगरानी र कारबाही गर्न सुरु गरेको छ।
ट्राफिक प्रहरीले आइतबार कालो सिसा (ब्ल्याक फिल्म) प्रयोग गरेका ५७ वटा सवारी साधनलाई जरिवानासहित कारबाही गरेपछि धेरैले यसलाई प्रस्तावित नयाँ सवारी तथा यातायात ऐनको कार्यान्वयनको सुरुवात ठाने। तर, नयाँ ऐन अझै लागू नभइसकेको अवस्थामा ट्राफिक प्रहरीले कुन कानुनी आधारमा यस्तो कारबाही र जरिवाना गरिरहेको छ? भन्ने अन्यौलता सिर्जना भयो।
नयाँ प्रस्तावित ऐन कार्यान्वयन नहुँदै ट्राफिक प्रहरीले कुन कानुनमा टेकेर कालो सिसा प्रयोग गर्ने सवारी साधनलाई कारबाही गर्यो? यतिबेला जनमानसमा यो प्रश्न र अनुमान निकै गर्माएको छ। सवारी साधनमा कालो सिसा प्रयोग गर्ने चालकलाई ट्राफिक प्रहरीले सीधै जरिवाना गर्न नमिल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता नरेशराज सुवेदी बताउँछन्।
‘कालो सिसा प्रयोग सवारी साधनलाई पाइएको खण्डमा ट्राफिक प्रहरीले सीधै जरिवाना गर्दैन,’ प्रवक्ता सुवेदी भन्छन्, ‘जाँचका क्रममा त्यस्ता गाडी भेटिएमा हामीले आवश्यक कारबाहीका लागि उक्त सवारी साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाउँछौँ। जरिवाना पनि त्यहीँबाट हुन्छ।’ ट्राफिले सीधै जरिवान वा कारबाही नगर्ने उनको भनाइ छ।
पछिल्लो समय निजी तथा सार्वजनिक सवारी साधन, विशेष गरी माइक्रोबस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ।
‘कालो सिसा प्रयोग गर्ने सवारी साधनमाथि अहिले भइरहेको कारबाही प्रस्तावित नयाँ ऐनका आधारमा होइन,’ प्रवक्ता सुवेदीले भने, ‘हाल पनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार अनुमति बिना सवारी साधनको स्वरूप परिवर्तन गर्न पाइँदैन।’ गाडीको सिसा, रङ, सिट, इन्जिनलगायतका संरचनामा परिवर्तन गर्नुपरे सम्बन्धित यातायात व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने उनको भनाइ छ।
पछिल्लो समय निजी तथा सार्वजनिक सवारी साधन, विशेष गरी माइक्रोबस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ। कालो सिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार, लागू औषध, सुन तथा अवैध मुद्राको ओसारपसार, फरार अपराधीको आवतजावत तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको प्रहरीको भनाइ छ।
कालो सिसा प्रयोग गर्ने, रङ परिवर्तन गर्ने, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्नेलाई प्रहरीले पहिलेदेखि नै अनुगमन गर्दा फेला परेका अवस्थामा नियन्त्रणमा लिएर कारबाही गर्दै आएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता अवि नारायण काफ्ले बताउँछन्।
‘यो नियम पहिलेदेखि लागू छ। प्रहरीले समय-समयमा यसको अनुगमन गरिरहेको हुन्छ,’ प्रवक्ता काफ्लेले भने, ‘पहिलेदेखि नै फेला परेका अवस्थामा नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ।’ विना अनुमति गाडीको सिसा रङ, इन्जिन वा चेसिस परिवर्तन गर्नेलाई पहिलेदेखि नै कारबाही हुँदै आएको उनको भनाइ छ।
‘विना अनुमति गाडीमा कालो सिसा राख्न पाइँदैन। यो नियमविपरीत र गैरकानुनी गतिविधि हो। सुरक्षाको दृष्टिकोणले पनि यो अत्यन्तै संवेदनशील मानिन्छ,’ प्रवक्ता काफ्ले भन्छन्, ‘गाडीभित्र को बसेर, के गरेर कसरी हिँडिरहेको छ? भन्ने कुरा सुरक्षा निकायलाई थाहा हुनुपर्छ। केही निश्चित व्यक्ति र विशेष पेशाकर्मीबाहेक अरू कसैले पनि गाडीमा कालो सिसा राख्न पाउने कानुनी प्रावधान छैन।’
नयाँ ऐन संसदबाट पारित भई लागू भएपछि मात्र त्यसमा प्रस्ताव गरिएका सजाय तथा जरिवानाका व्यवस्था कार्यान्वयनमा आउने छन्।
प्रहरीका अनुसार सवारीमा कालो सिसा प्रयोग गर्दा बाहिरबाट भित्र स्पष्ट रूपमा देख्न नसकिने भएकाले सुरक्षा जोखिम बढ्नुका साथै आपराधिक गतिविधि नियन्त्रणमा समेत कठिनाइ हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो।
यस्तो कारबाही प्रस्तावित नयाँ ऐनका आधारमा नभई हाल कार्यान्वयनमा रहेको प्रचलित कानुनअनुसार गरिएको हो। सरकारले ल्याउन लागेको नयाँ ऐनमा भने कालो सिसा प्रयोग गर्ने सवारीधनी वा चालकलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रंग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था गरिएको छ। यही व्यवस्था अनुसार प्रहरीले कारबाही गरेको हो।
यसरी स्वरूप परिवर्तन गर्नेलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा पठाउने गर्छ। विभागले यसरी स्वरूप परिवर्तन गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ।
सरकारले केही समयअघि सार्वजनिक गरेको प्रस्तावित ऐन अहिले लागू भइसकेको छैन। त्यसैले हाल ट्राफिक प्रहरीले गर्ने कारबाही र जरिवाना विद्यमान कानुनी व्यवस्थाअनुसार हुने छन्। नयाँ ऐन संसदबाट पारित भई लागू भएपछि मात्र त्यसमा प्रस्ताव गरिएका सजाय तथा जरिवानाका व्यवस्था कार्यान्वयनमा आउने छन्।
यसैबीच, सरकारले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सवारी अनुशासनलाई थप प्रभावकारी बनाउन सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनमा व्यापक संशोधन गर्ने तयारी गरिरहेको छ। प्रस्तावित मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न कसुरमा हालको भन्दा कडा जरिवाना र सजायको व्यवस्था राखिएको छ।
गृहमन्त्रीको गाडीकै कालो स्टिकर हटाइयो
ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीमा प्रयोग हुँदै आएको गाडीको सिसामा रहेको कालो स्टिकर निकालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार ती सवारी साधनको सिसाबाट कालो स्टिकर हटाएको हो।
ट्राफिक प्रहरीले गाडीको सिसामा कालो स्टिकर हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो स्टिकर हटाउन भन्दै गृहमन्त्री आफैँ ट्राफिक प्रहरी कार्यालय गएका थिए।