काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भएको हो । नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको छ ।
चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । लगानी ८६ अर्ब ३३ करोड रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी छ । कम्पनीले लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिंदै आएको छ ।
हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन । २० औं वर्ष प्रवेशको अवसरमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट ८ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग प्रदान गरिएको छ ।
नेपाल लाइफले ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड रुपैयाँ योगदान गरिसकेको छ । २० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरे ।
अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरे ।