काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेसी आयोग र मुस्लिम आयोगमा पुगेर पदाधिकारीसँग छलफल गरेका छन्।
ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अली तथा आयोगका अन्य पदाधिकारी र मधेसी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीसँग उनले समसामयिक विषयमा छलफल गरेका हुन्।
पछिल्ला दिनमा तराई मधेसका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस्तै, मन्त्री अर्यालले संवैधानिक निकायको काम, कर्तव्य, अधिकार, आयोगले भोगिरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षालगायत विषयमा पनि आयोगका पदाधिकारीसँग विचारविमर्श गरेका थिए।
छलफलमा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेसी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गरे। नागरिक समाजको रुपमा रहेका आयोग तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्या समाधान उन्मुख भएको भन्दै मन्त्री अर्यालले त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्भाव कायम राख्ने सम्बन्धमा सबैको सकारात्मक भूमिकको अपेक्षा राखे।
त्यस्तै, पछिल्ला घटनालाई समयमै सम्बोधन गरी सामाजिक सद्भाव कायम राख्ने सम्बन्धमा गृह मन्त्रालयले सक्रियता देखाई अवैध गतिविधिमा संलग्नलाई कारबाही, सरोकारवालासँग समन्वय बैठक, सद्भाव र्याली, जाँच कडाइ र शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायत कार्यहरू गर्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरीएको सर्कुलरको आयोगका पदाधिकारीहरूले स्वागत गरे।
गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयमा आयोगका तर्फबाट आवश्यकताअनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षासमेत राखे।
धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने वा खल्बल्याउने जोसुकै उपर कानुन बमोजिम कारवाही हुने बताउँदै मन्त्री अर्यालले विवेकको संरक्षकको रुपमा रहेका आयोगहरूले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउनेलगायत कार्यहरू गरी यस्ता समस्याको दीर्घकालिन समाधानको लागि आयोगको तर्फबाट आवश्यक कार्यक्रम गर्न अनुरोध गरे।
छलफलमा मधेसी आयोगका कार्यवाहक अध्यक्ष साहले आयोग कुनै धर्म विशेषभन्दा पनि समग्र मधेसी समुदायको आयोग रहेको बताए। त्यस्तै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष अलीले समाजमा धार्मिक, सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा आयोगले सधैँ आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।