काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको चक्रपथ (रिङरोड)को विस्तारका लागि चिनियाँ निर्माण कम्पनीलाई करमा छुट दिने निर्णय गरेको छ। सोमबार (फागुन ११ गते) बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं रिङरोड २७ किलोमिटर खण्डमध्ये हाल कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर खण्डमा काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले क्षेत्र विस्तार कार्यका लागि सरकारले चिनियाँ निर्माण कम्पनीलाई करमा छुट दिने निर्णय गरेको हो।
रिङरोड विस्तार आयोजनासँग सम्बन्धित निर्माण कार्यलाई सहज बनाउन सरकारले विभिन्न कर छुट दिने प्रस्ताव गरेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले बताए। ‘आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार महसुल र अन्य कर छुट दिने भनेर प्रस्ताव गरिएको छ,’ उनले भने।
सरकारले आयोजनासँग सम्बन्धित सामग्री तथा उपकरण आयात र निर्माण प्रक्रियालाई सहज बनाउन यस्तो प्रस्ताव अघि सारेको पाण्डेयले बताए। तर, स्थानीय तहसँग सम्बन्धित रोयल्टीका विषयमा भने प्रस्तावमा स्पष्ट उल्लेख नभएको पाण्डेयले जानकारी दिए।
‘त्यस कारण स्थानीय तहलाई दिइने रोयल्टी छुट हुने वा नहुने भन्ने विषय अझै निश्चित भइसकेको छैन,’ उनले भने। ‘अन्य कर’ शीर्षकअन्तर्गत आवश्यक परेमा थप विषयहरू समेट्ने सम्भावना देखिएको तर्क राखे। हालको प्रस्तावमा भने आयकर, भ्याट, भन्सार महसुल र ‘अन्य’ गरी चार शीर्षकमा कर छुटको व्यवस्था गरिएको छ।
यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो। कोटेश्वर, तिनकुने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, बसुन्धरा, सामाखुशी, गोंगबु, बालाजु, स्वयम्भ, सितापाइला, कंलकी, बल्खु, एकन्ताकुना, सातदोबाटो, ग्वार्को, बालकुमारी हुँदै बनेको यो चक्रपथ २७ किलो मिटर छ। रिङरोडको सडकलाई भित्रि सहयक सडकसहित ८ लेनमा विस्तार गरिने कार्य भइरहेको छ।
रिङरोड विस्तार आयोजनासँग सम्बन्धित निर्माण कार्यलाई सहज बनाउन सरकारले विभिन्न कर छुट दिने प्रस्ताव गरेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले बताए।
यसमध्ये कोटेश्वर-कलंकी खण्ड ९.५ किलोमिटर सडक आठ लेनमा विस्तार भइसकेको छ। बाँकी १७.५ किलो मिटर चक्रपथ सडक क्षेत्रमा कुनैमा काम हुन सकेका छैनन्। कुनै क्षेत्रमा भइरहेका छन्। उपत्यकाको रिङरोडको ८ लेनको क्षेत्र विस्तारका लागि हाल सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले विस्तारको काम गरिरहेका छन्।
यी निकायले ४ लेनमा रहेका सडकलाई ८ लेनमा विस्तारका लागि कार्य गरिरहेका छन्। आठ लेनको रिङरोड सडक विस्तारसँगै भित्री बाटो पनि विस्तारको कार्य हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअर्न्तगतको काठमाडौं चक्रपथ सुधार योजनाका सूचना अधिकारी ई. राम विहारी चौधरीले बताए।
यो परियोजना चिनियाँ सरकारको सहयोगमा सञ्चालन हुने भएकाले ठेक्का प्रक्रिया पनि चिनियाँ पक्षबाटै अगाडि बढाइने र भुक्तानीसमेत सोही पक्षबाट हुनेछ। अहिले यस खण्डमा सर्भेलगायत प्रारम्भिक प्राविधिक काम सम्पन्न भइसकेको छ।
‘कलंकीदेखि बसुन्धारासम्म करिब सडक विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘यस खण्डमा अझै निर्माणको ठेक्का लागेको छैन।’ उनका अनुसार, यसैगरी बसुन्धारादेखि चाबहिल-महाराजगञ्ज हुँदै चप्पल कारखाना क्षेत्रसम्म सडक विस्तारबारे अझै स्पष्ट निर्णय भएको छैन।
यस क्षेत्रमा जग्गा विवादका कारण मुद्दा चलिरहेकाले काम अघि बढ्न सकेको छैन। चाबहिल क्षेत्रदेखि अगाडिको केही खण्ड भने नेपाल सरकारमार्फत सडक डिभिजन कार्यालय काठमाडौंले नै काम गरिरहेको उनले बताए।