पछिल्लो समय निजी क्षेत्रका प्रभावशाली व्यवसायी प्रत्यक्ष राजनीति र संसदीय प्रतिस्पर्धामा खुलेर होमिन थालेका छन्। उद्योग व्यापारमा स्थापित पहिचान बनाएका कतिपय व्यवसायी ‘माननीय’ बन्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिन थालेपछि राजनीतिक वृत्त मात्रै होइन, आर्थिक क्षेत्रमै पनि बहस सुरु भएको छ/के यो प्रवृत्ति नीतिगत सुधारका लागि सकारात्मक हो वा व्यापारिक स्वार्थलाई राज्यसत्तासम्म विस्तार गर्ने रणनीति?
नेपालको संविधानले कुनै पनि योग्य नागरिकलाई चुनाव लड्न रोक लगाएको छैन। त्यसैले उद्योगी-व्यवसायीको राजनीतिमा प्रवेश स्वाभाविक लोकतान्त्रिक अधिकारभित्रै पर्छ। तर, व्यापारिक घराना र नीति निर्माणबीचको दूरी घट्दै जाँदा ‘स्वार्थको टकराव’को प्रश्न पेचिलो बन्दै गएको छ। कर नीति, भन्सार दर, सार्वजनिक खरिद, ठेक्का प्रणाली, ऊर्जा, बैंकिङ तथा निर्माणजस्ता क्षेत्रमा प्रत्यक्ष संलग्न व्यक्तिहरू संसद् वा सरकारमा पुगेपछि तिनका व्यावसायिक हित र सार्वजनिक दायित्वबीच सन्तुलन कसरी कायम हुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो।
यद्यपि, व्यवसायीको राजनीति प्रवेशलाई एकांगी रूपमा नकारात्मक भन्न सकिँदैन। निजी क्षेत्रबाट आएका प्रतिनिधिले प्रशासनिक जटिलता, कर संरचना, लगानी वातावरण, श्रम-उत्पादन सम्बन्ध, निर्यात प्रवद्र्धनजस्ता विषयमा व्यवहारिक अनुभव राख्छन्। उनीहरूले नीति निर्माण प्रक्रियामा दक्षता, परिणाममुखी सोच र व्यवस्थापन क्षमता ल्याउन सक्ने तर्क पनि उत्तिकै बलियो छ। विश्वका धेरै लोकतान्त्रिक मुलुकमा उद्यमी पृष्ठभूमिका नेताहरूले आर्थिक सुधारको नेतृत्व गरेका उदाहरण प्रशस्त छन्।
व्यवसायीले नीति गलत छ भनेर बाहिरबाट गुनासो गर्नुभन्दा भित्रै गएर सुधार गर्नु उपयुक्त हुने भएकाले राजनीतिमा प्रवेश गरेको बताउँदै आएका छन्।
कुन व्यवसायी कहाँबाट लड्दै छन् चुनाव?
नवलपरासी पश्चिम १ः नेपाली कांग्रेसले अमेरिकी म्यागजिन फोब्र्सको सूचीमा अटाएका नेपालका एक मात्र उद्योगी/व्यवसायी विनोद चौधरीलाई दोस्रो पटक उम्मेदवार बनाएको छ। चौधरी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट २९ हजार ५१९ मतसहित विजयी भएका थिए। उद्योग व्यापारमा प्रभावशाली पहिचान राख्ने विनोद चौधरी ग्रुपका अध्यक्षसमेत हुन्।
पर्सा ३ः नेकपा एमालेबाट उम्मेदवार बनेका रुपेशकुमार पाण्डेय काठमाडौंस्थित आरपी ग्रुप अफका प्रबन्ध निर्देशक हुन्। युवालाई नेपालमै सम्मानजनक रोजगारी र सीपको अवसर सिर्जना गर्ने, महिलाको वास्तविक नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता बढाउने तथा ज्येष्ठ नागरिकका लागि समुदाय-आधारित सहयोग र सम्मान सुनिश्चित गर्ने एजेन्डा उनले अघि सारेका छन्।
स्याङ्जा १ः स्याङ्जामा अन्य जिल्लाको प्रतिस्पर्धाभन्दा भिन्न खाले माहोल देखिन्छ। भरतराज ढकाल (कांग्रेस) र मीनप्रसाद गुरुङ (एमाले) दुवै मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष हुन्। त्यस्तै, धनञ्जय रेग्मी (रास्वपा) पर्यटन र होटल व्यवसायका विज्ञ तथा नेपाल पर्यटन बोर्डका पूर्वसीईओ हुन्।
काठमाडौं ९ः काठमाडौं क्षेत्र ९ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डीपी अर्याल उम्मेदवार बनेका छन्। पार्टी उपसभापतिसमेत रहेका उनी पर्यटन, वैदेशिक रोजगार र रेमिट्यान्स व्यवसायमा संलग्न छन्।
सिराहा ४ः जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार वीरेन्द्रकुमार महतो बैंकिङ, जलविद्युत् र शिक्षा क्षेत्रमा सक्रिय लगानीकर्ता हुन्। महतो माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष हुन् र अघिल्लो निर्वाचनमा जसपाबाट विजयी भएका थिए।
दोलखाः एमालेबाट उम्मेदवार बनेका पार्वत गुरुङ जलविद्युत् तथा वन पैदावारसँग सम्बन्धित क्षेत्रका व्यवसायी हुन्। गुरुङ पूर्वसञ्चारमन्त्रीसमेत भइसकेका छन्।
धादिङ २ः कांग्रेस उम्मेदवार रमेश धमला पर्यटन व्यवसायी हुन्। उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष पनि हुन्।
धादिङ १ः कांग्रेस उम्मेदवार कृष्ण रिजाल पर्यटन व्यवसायी हुन्।
गोरखा १ः कांग्रेसबाट उम्मेदवार बनेका प्रेम खत्री पर्यटन र घरजग्गा व्यवसायी हुन्। उनी पिके भेन्चर्सका प्रबन्ध निर्देशक हुन्।
रुपन्देही २ः कांग्रेसबाट उम्मेदवार बनेका चुन्नप्रसाद शर्मा यशोदा फुड्सका मालिक तथा बुटवल अस्पतालका अध्यक्ष हुन्।
कपिलवस्तु ३ः एमालेबाट उम्मेदवार बनेका वीरेन्द्रकुमार कनौडिया लुम्बिनी सुगर मिल्सका अध्यक्ष हुन्। उनको विभिन्न औद्योगिक क्षेत्रमा लगानी छ।
सोलुखुम्बुः कांग्रेस उम्मेदवार प्रकाशसिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य हुन्। उनी कुरियर तथा कार्गो व्यवसायमा संलग्न छन्।
मोरङ ३ः कांग्रेसका उम्मेदवार सुनील शर्मा मेडिकल कलेज व्यवसायी हुन्। उनी काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। जलविद्युत् आयोजनामा पनि उनको लगानी छ।

पर्सा ४ः व्यवसायी अनिल रुंगटा कांग्रेसबाट उम्मेदवार बनेका छन। उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्। यो उद्योग स्टील तथा पाइप उत्पादनमा संलग्न छ।
सर्लाही १ः रास्वपाबाट उम्मेदवार बनेकी नीतिमा भण्डारी कार्की बाजेको सेकुवाका निर्देशक हुन्। पहिलो पटक प्रत्यक्ष राजनीतिमा सहभागी कार्की आर्थिक एजेन्डामा महिलालाई पनि स्थापित गराउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने महिलामध्येमा पर्छिन्।
मोरङ ५ः एमालेबाट उम्मेदवार बनेका मनोज अग्रवाल लुम्बिनी चिनी मिलका सञ्चालक हुन्।
झापा १ः मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष केशवराज पाण्डे कांग्रेसबाट प्रतिस्पर्धामा छन्। उनी उद्योग व्यापार पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन्।
भक्तपुर २ः कांग्रेसबाट उम्मेदवार बनेका मिडिया व्यवसायी कवीर राणा देशान्तर मिडियाका अध्यक्ष हुन्।
मुस्ताङः कांग्रेसबाट उम्मेदवार बनेका योगेश गौचन होटल व्यवसायी हुन्। युवा उद्यमी र व्यवसायीका रूपमा परिचित गौचन यसअघिको निर्वाचनमा पनि कांग्रेसबाटै निर्वाचित भएका थिए। पर्यटनमा निर्भर मुस्ताङको विकासमा उनको योगदान महत्वपूर्ण छ।
झापा ४ः म्यानपावर व्यवसायी एलपी सावाँ लिम्बूले एमालेबाट उम्मेदवारी दिएका छन्। यसअघि सोही क्षेत्रबाट दुई पटक निर्वाचित साँवालाई फेरि पनि क्षेत्र ४ मै एमालेले टिकट दिएको हो। सावाँ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन्।
कास्की १ः म्यानपावर व्यवसायी तिलक रानाभाट कांग्रेसबाट कास्की क्षेत्र १ का उम्मेदवार हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रानाभाट कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।
दाङ २ः कांग्रेसबाट उम्मेदवार बनेका किरणकिशोर घिमिरे म्यानपावर व्यवसायी हुन्।
बारा ३ः रास्वपाबाट उम्मेदवार बनेका अरबिन्द साह खल्ती एपका सह-संस्थापक हुन्।
काठमाडौं १ः स्वतन्त्र उम्मेदवारी दिएका असीममानसिंह बस्नेत राइड सेयरिङ एप पठाओका सञ्चालक हुन्।
अछाम १ः एमालेबाट उम्मेदवार बनेका झपट बोहरा पूर्वबैंकर तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन्। बोहोरा बैंक र अटो व्यवसायमा संलग्न छन् भने सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्रीसमेत हुन्।
कैलाली ५ः रास्वपाबाट उम्मेदवार बनेका आनन्दबहादुर चन्द शिक्षा क्षेत्रमा आबद्ध छन्। चन्द बोस्टन इन्टरनेसनल कलेज र अंकुरम स्कुलका अध्यक्ष हुन्।
काठमाडौं ८ः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका सुमन सायमी कालीमाटीस्थित पुरानो मिठाई पसल ‘स्वीट केभ’का सञ्चालक हुन्।
कैलाली २ः नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर कांग्रेसबाट उम्मेदवार बनेका छन्।
स्याङ्जा २ः कांग्रेसबाट उम्मेदवार बनेका भागवतप्रकाश मल्ल गण्डकी यातायात बस व्यवसायी समितिका पूर्वअध्यक्ष हुन्।
धनुषा ३ः रास्वपाबाट उम्मेदवार बनेका मनिष झा फ्याक्ट्स नेपालका संस्थापक हुन्। उनी रास्वपा प्रवक्तासमेत हुन्।