काठमाडौं। चितवनमा रास्वपाले आयोजना गरेको चुनावी सभाालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बालेन शाहले हाम्रो देश हेटौँडा कारखानाजस्तै भएको बताए। उनले मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ तर बन्द अब चल्नुप¥र्यो। सोही क्रममा उनले वाइवाइ चाउचाउलाई जोडेर नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुप¥यो। पुरै देशभरै चल्नुप¥यो। सयवटा देशमा भन्दा बढि जानुप¥यो।
शाहले वाइवाइको व्यापार रफ्तारमा उद्योग कलकारखाना चल्नुप¥यो भनेपनि उनले वाइवाइलाई नेपाली कांग्रेसको भनिदिए खासमा यो चाउचाउ उद्योग उद्योगपति विनोद चौधरीले पहिलो पटक सिजी फुड्स कम्पनीमार्फत सन् १९८४ मा काठमाडौंमा लगाएका थिए।
कम्पनीले आफ्नो पहिलो उद्योग स्थापना गर्दै इन्स्ट्यान्ट चाउचाउ उत्पादन सुरु गरेको थियो। थाइल्याण्डको थाई प्रिसर्बड फुड फ्याक्ट्रीसँग प्राविधिक सहकार्य गरी ‘वाइ वाइ’ ब्रान्डअन्तर्गत ब्राउन चाउचाउ उत्पादन गर्ने नेपालकै पहिलो कम्पनीका रूपमा यसले पहिचान बनायो।
ललितपुरको भैंसेपाटीबाट सुरु भएको उत्पादन यात्रा नवलपरासीको औद्योगिक ग्राम हुँदै बर्दिया र सुनसरीसम्म विस्तार भएको छ। हाल नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कसहित काठमाडौँ, बर्दिया र सुनसरीमा रहेका उत्पादन केन्द्रमार्फत नौवटा उत्पादन लाइन सञ्चालनमा छन्, जसले हजारौँलाई रोजगारी प्रदान गरिरहेका छन्।
सन् २००६ मा भारतबाट अन्तर्राष्ट्रिय उत्पादन सुरु गर्दै विश्व बजारमा प्रवेश गरेको वाइवाइले त्यसपछि सर्बिया, बंगलादेश र काजाकिस्तानसम्म उत्पादन विस्तार गरिसकेको छ। युरोपमा ‘सीजी फुड्स युरोप’ नामबाट सर्बियाको रुमा सहरस्थित प्लान्टबाट व्यावसायिक उत्पादन सुरु भएसँगै नेपाली ब्रान्ड वाइवाइ युरोपेली भूमिबाट उत्पादन हुने पहिलो नेपाली चाउचाउ ब्रान्ड बनेको छ। आगामी चरणमा साउदी अरेबिया, केन्या र बंगलादेशमा थप प्लान्ट स्थापना गर्ने तयारी छ भने रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको र इजिप्टमा पनि उत्पादन विस्तार गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ।
हाल विश्वभर वार्षिक करिब दुई अर्ब २० करोड प्याकेटभन्दा बिक्री हुँदै आएको वाइवाइले विश्व तयारी चाउचाउ बजारको करिब दुई दशमलव दुई प्रतिशत हिस्सा ओगटेको जनाएको छ। नेपालमा छ र भारतमा आठ वटा प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा करिब २७ प्रतिशत बजार हिस्सा बनाएको छ। नेपाल र भारतको उत्तर–पूर्वी क्षेत्रमा बजार अग्रणीका रूपमा स्थापित वाइवाइ आज दक्षिण एशियामा इन्स्ट्यान्ट चाउचाउको पर्याय जस्तै बनेको छ।
पकाउन नपरी सिधै प्याकेटबाटै खान मिल्ने, सुप छर्केर तारेको विशेष प्रविधियुक्त उत्पादन भएकाले वाइवाइले उपभोक्तामाझ फरक पहिचान बनाएको छ। प्रत्येक प्याकेटमा तीनवटा मसला स्याचेट समावेश हुने यस उत्पादनले शाकाहारी मसला र चिकेन स्वादबाट सुरु भई अहिले बीस भन्दा बढी स्वाद बजारमा उपलब्ध गराइसकेको छ।
नेपालका एकमात्र ‘फोब्र्स’ सूचीमा परेका अर्बपति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी गु्रपले वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। पाँच महादेशका ३५ भन्दा बढी देशमा निर्यात भइरहेको वाइवाइले एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका विभिन्न देशमा उत्पादन विस्तार गर्दै नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाउने रणनीति अघि बढाएको छ। नेपालको काठमाडौँबाट सुरु भएको यो उद्योग आज विश्व बजारमा सफल नेपाली ब्रान्डको सशक्त उदाहरण बनेको छ।