काठमाडौं। सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि प्रक्रिया केही सहज बनाएको छ। यसअघि आवश्यक ठानिएका ६ बुँदे मापदण्ड परिमार्जन गर्दै अब चारवटा कागजातका आधारमा मात्र प्रस्थान गर्न सकिने व्यवस्था गरिएको हो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, अब सम्बन्धित मुलुकको भिसा, कम्तीमा ६ महिनासम्म वैध राहदानी, हवाई टिकट र स्वघोषणा फारम भएमा विदेश प्रस्थान गर्न सकिनेछ। यसअघि अतिरिक्त कागजातहरू पनि अनिवार्य रूपमा मागिँदै आएको थियो।
प्रवक्ता ढकालले भने, “सम्बन्धित देशको भिसा, ६ महिनाको वैधता भएको राहदानी, टिकट र स्वघोषणा भएमा सहजै प्रस्थान गर्न सकिन्छ।” उनका अनुसार नयाँ व्यवस्था यात्रुका लागि झन्झट घटाउने उद्देश्यले ल्याइएको हो।
विभागले विशेषगरी भ्रमण, घुमफिर वा पर्यटन प्रयोजनका लागि विदेश जाने नेपाली नागरिकलाई स्वघोषणा फारम अग्रिम रूपमा भरेर आउन आग्रह गरेको छ। अध्यागमनमा पुगेपछि फारम भर्ने समय नलागोस् र प्रक्रिया छिटो होस् भन्ने उद्देश्यले पहिल्यै तयारी गर्न भनिएको हो।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “घुम्न, भ्रमण वा पर्यटनको उद्देश्यले विदेश जाने नेपाली नागरिकले स्वघोषणा फारम पहिल्यै भरेर मात्र अध्यागमनमा आउनुहुन अनुरोध गरिन्छ।”
