काठमाडौं। पछिल्लो समय नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर ठूलो विवाद हुँदै आएको छ। विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी आगामी पुस २७ र २८ गते हुने महाधिवेशन गर्ने गरी तयारी सुरु गरेको छ।
यसैबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्। उनीहरूले आज संयुक्त विज्ञप्तिमार्फत कांग्रेसको विधानअनुसारको व्यवस्था उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले दर्ता गराई पुस २७ र २८ गते तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गरेका छन्।
केन्द्रीय कार्य समितिले विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर आफूहरुले अधिकतम प्रयास गरे पनि सम्भव हुन नसकेको उनीहरूको भनाइ थियो।
“बहुमत महाधिवेशन प्रतिनिधिहरुद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ। पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिकोतर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो”, उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसविपरीत कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्यकर्तालाई अपिल गरेको छ।
केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गरी त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यलाई अपिल गरेको हो।
गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको निवेदनअनुसार तीन महिनाभित्र विशेष महाविधेशन गर्नुपर्ने विशेष महाधिवेशन पक्षले माग गर्दै आएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ।
गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले १५औँ महाधिवेशनको कार्य तालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस केन्द्रीय कार्य समितिको निर्णयबाट कार्य तालिका तयार गरी अधिवेशन र महाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चार माध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रियसभा सदस्यको मनोनयनपत्र दर्ता भइसकेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा क्रियाशील भई लागिपर्न आह्वान गरिएको छ।