काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा भाग लिन देशभरबाट भृकुटीमण्डपमा आइपुगेका प्रतिनिधिहरूको एकमात्र एजेन्डा छ - नयाँ नेतृत्व चयन र पुस्तान्तरण। आइतबार भृकुटीमण्डपमा शुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधिहरूले रजिस्ट्रेसन गरिरहेका छन्। झाँक्री बाजागाजासहितको र्यालीमा 'नेपाली कांग्रेस के भन्छ? गगन-विश्व ले भन्छ' भन्ने नारा गुञ्जिरहेको छ।
सिराहाका प्रतिनिधि मुस्तक अन्सारीले भने, "एउटै एजेन्डा हो नयाँ नेतृत्व चयन गर्ने। देशको अहिलेको स्थिति र युवाको चाहनाले युवा नेतृत्व आवश्यक छ। जनताको माझमा पुग्न र कांग्रेसलाई चलायमान बनाउन गगन-विश्वको विकल्प छैन।"
गुल्मीबाट आएकी पार्वती कुँवरले विशेष महाधिवेशनलाई वैधानिक बताउँदै भनिन्, "नियमित महाधिवेशन हुनुपर्थ्यो, भएन। विधानले नै विशेष महाधिवेशन भनेको छ। महाधिवेशन गर्नु हाम्रो दायित्व र कर्तव्य हो।" जेनजी आन्दोलनपछि झन् युवा नेतृत्व आवश्यक भएको उनको भनाइ छ।
गोरखाका प्रेम कुमार खत्रीले पार्टीमा रूपान्तरण आवश्यक भएको बताउँदै भने, "पार्टी पछिल्लो समय क्लब जस्तो भयो। यो विशेष महाधिवेशनले नीति, नेतृत्व र विधि परिवर्तन गर्छ।" नयाँ नेतृत्व चयन गर्न जर्मनीबाट तीन दिनको बिदा लिएर आएकी प्रतिमा भट्टले भनिन्, "म २०५२ सालमा जन्मिएको। त्यतिबेला गृहमन्त्री हुनुभएको अहिले सभापति शेरबहादुर देउवा हुनुहुन्छ। उहाँहरूले व्यवस्था परिवर्तन गर्नुभयो। अब विश्राम लिनुपर्छ। ५ पटक प्रधानमन्त्री भएको मान्छेले छैटौं पटक प्रधानमन्त्री भएर के गर्न सक्नुहुन्छ?"
नेविसंघ केन्द्रीय सदस्य मनोज पुरीले हस्ताक्षर संकलनमा गरिएको वाचा पूरा गर्नुपर्ने बताए। "यदि जे भनिएको थियो, त्यो नै गर्न सकिएन भने यत्रो काम गरेको के मतलब? जिल्लाजिल्लाबाट यत्रा प्रतिनिधि आउनुभएको छ। उहाँहरू टाइमपासको लागि आउनुभएको हो र?" उनले प्रश्न गरे।
पुरीले थपे, "यदि अब गगन-विश्व ब्याक हुनुभयो भने, यहाँ आएका कार्यकर्ताले उहाँहरूविरुद्ध विद्रोह गर्छ।" युवा नेता मोहन कालाथोकीले ५४ प्रतिशतले हस्ताक्षर गरेपछि नेतृत्व परिवर्तन अनिवार्य भएको बताए। "अब यसले नीति मात्र होइन नेतृत्व फेर्नैपर्छ। नेतृत्व परिवर्तन गरी नेपाली कांग्रेसलाई एकताबद्ध गरी चुनावमा जानुपर्छ," उनले दाबी गरे।
आज उद्घाटन सत्र र भोलि बन्दसत्र हुने कार्यक्रम छ। प्रतिनिधिहरूको संख्याका आधारमा कांग्रेसको नेतृत्व परिवर्तन हुने नहुने निर्धारण हुनेछ।