काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै मिलेर एकताको महाधिवेशन गर्नुपर्ने बताएका छन्। कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बोलाएको विशेष महाधिवेशनको उद्घाटन भएसँगै उनले सहमति र सहकार्यका साथ समग्र कांग्रेस एकताको महाधिवेशन गर्न सक्ने धारणा राखेका हुन्
कोइराला पक्षका नेताहरू क्रमशः विशेष महाधिवेशनको पक्षमा खुल्न थालेपछि उनले भिडिओ सन्देश जारी गरी आफ्नो धारणा राखेका हुन्। उनले ‘एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील दाइले छोडेको मौलिक आदर्श र सिद्धान्तको पदचापबाट विचलित नहुने’ दाबी गरे।
यसअघि उनीनिकट कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की विशेष महाधिवेशनको पक्षमा खुलेका थिए। त्यस्तै केन्द्रीय सदस्य चन्द्र भण्डारी र सुनिल शर्मासमेत विशेष महाधिवेशनको पक्षमा उभिएका थिए।
‘हामीले भावी पुस्तालाई फेरि बलिदान र संघर्षको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान दिनु हुँदैन। नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरूअगाडि आएका छन्। र पार्टीको विधानलाई लोकतान्त्रिक बनाउन शक्ति पृथकीकरणको मौलिक सिद्धान्त प्रयोग गर्ने कोसिस गरिएको छ। जसको श्रेय पुरानो पुस्तालाई जान्छ,’ उनले भिडिओ सन्देश जारी गर्दै भने।
उनले पार्टीभित्र आफूले पुस्तान्तरण र हस्तान्तरणको अभियान चलाएको उल्लेख गर्दै मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री हुने लोभमा आकर्षित नभएको बताए।