काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनसँगै नयाँ राजनीति परिस्थितिमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा दुई दिन चल्ने विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेताका रुपमा रहेका शेखर कोइराला निकट नेताहरूसमेत पुगेका छन्।
पार्टीको विधानअनुसार समय सीमाभित्र महाधिवेशन हुन नसकेको अवस्थमा बहुमत प्रतिनिधिले हस्ताक्षर गरी महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन हुने व्यवस्था छ। सोहीअनुरुप कांग्रेसको विशेष महाधिवेशन सुरु भएको हो।
यसअघि पार्टी सभापति देउवासहित नेताहरूले समयभित्रै अर्थात पुस २७ गतेभन्दा अगाडि नियमित महाधिवेशन गर्ने भन्दै कार्यसूची जारी गरेको थियो। अन्तिम अवस्थामा नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशन सुरु भएको हो।
विशेष महाधिवेशनमा सभापति देउवासहित शीर्ष नेताहरूलाई निम्तो पठाए पनि अनुपस्थित भएका थिए। यसैबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरू महाधिवेशन स्थल पुगेका छन्।
विशेष महाधिवेशनको उद्घाटनमा बोल्दै नेता गुरूराज घिमिरेले सभापति देउवालाई लिएर आउन उनी निकट केन्द्रीय सदस्यहरूसँग आग्रह गरे।
‘हामीले भनेकै थियौँ। जुन विन्दुमा नियमित अधिवेशन अवरूद्ध हुन्छ। त्यही विन्दुमा विशेष महाधिवेशन प्रारम्भ हुन्छ भनेका थियौँ। आज हामीले बचन पूरा गरेका छौँ,’ उनले भने, ‘आज हामीले बचनबद्धतलाई सार्थक बनाएका छौँ। त्यसैले तपाईंहरू आउनुस्। ३० जना नेताहरू आएजस्तै केन्द्रीय समितिका सदस्यहरू आजै आउनुस्। विशेष महाधिवेशनको समारोहमै आउनुस्। आफ्नो सभापतिलाई लिएर आउनुस्। र यसलाई उत्सव बनाऔँ।’
यस्तै, अर्का नेता गोपालमान श्रेष्ठले इतिहासको ब्याजमात्रै खाएर भविष्य नचल्ने बताए। उद्घाटन शत्रमा बोल्दै उनले इतिहासमा कांग्रेसले राणा शासन फालेको, पञ्चायत ढालेको, गणतन्त्र ल्याएको भन्दै ब्याज लिए पनि अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका थिए।
विशेष महाधिवेशनमा पुगेका अर्का नेता देवराज चालिसे आफूहरूले पार्टी रुपान्तरणको प्रयासमा रहेको बताए।
उनले भने, ‘हामी गर्वका साथ भन्छौँ- नेपाली कांग्रेसले राणा फाल्यो। पञ्चायत ढाल्यौँ। देशमा गणतन्त्र ल्यायौँ। तर इतिहासको ब्याजमात्रै खाएर अब भविष्य चल्दैन।’
उनले समय बदलिएको भन्दै युवा पुस्तालाई अघि बढाउनुपर्ने जिकीर गरे। लोकतन्त्र बलियो बनाउनका लागि पनि कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको आग्रह थियो।
विशेष महाधिवेशनमा पुगेका अर्का नेता देवराज चालिसे आफूहरूले पार्टी रुपान्तरणको प्रयासमा रहेको बताए। विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी रुपान्तरणका लागि पार्टीभित्र झगडा भएको बताएका थिए।
‘सत्तासँग सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टाचारको सुरुआत भयो। त्यति मात्रै होइन चुनावअघि गठबन्धनको प्रयास हुँदै छ। त्यसले हाम्रो सिद्धान्तलाई कहाँ पुर्याउँछ? आदर्शलाई कहाँ पुर्याउँछ?,’ उनले प्रश्न गरे।
उनले विधान लागू गर्दा पार्टी फुट्छ भने त्यस्तो विधान खारेज गर्नुपर्ने बताउँदै पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई नभएको स्पष्ट पारे।
महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा कांग्रेस काभ्रे सभापति तीर्थ लामाले पार्टीको जिम्मेवारी महामन्त्रीहरूको काँधमा आएको बताए। उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको रुपन्तरण गर्नुपर्ने बताए।
उनले विशेष महाधिवेशन उद्घाटन समारोह ऐतिहासिक भएको बताउँदै जेनजी विद्रोहपछि पार्टीको निकास निकाल्ने ऐतिहासिक दिन भएको दाबी गरे।
विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशले परिवर्तन खोजेको अवस्था विशेष दिन भएको बताए।
यसैगरी, कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले चार महिनासम्म कोमामा रहेको पार्टीलाई महामन्त्रीद्वयले प्राण भर्नुपर्ने बताए। विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशले परिवर्तन खोजेको अवस्था विशेष दिन भएको बताए।
‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ। इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्लो चार महिना कोमामा पुगेको थियो,’ उनले भने।
यस्तै, कांग्रेस जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सापकोटाले जेनजी आन्दोलनपछि देशको बेथितिमा मात्र नभई प्रमुख राजनीतिक दलको नेतृत्वमा पनि प्रश्न उठेको बताइन्।
पार्टी नेतृत्वलाई प्रश्न गर्दै उनले भनिन्, ‘इतिहासमा तपाईंहरू चुक्नुभयो। विगतमा धेरै राम्रो काम गर्नुभएको थियो। तर, तपाईंहरूको गुटबन्दी, घेराबन्दी र तपाईंहरूले चलाएको किचेन क्याबिनेटले पार्टी प्रभावित भयो। यो विशेष महाधिवेशनले पार्टीलाई गुटबन्दी र घेराबन्दीबाट मुक्ति दिनेछ।’
विशेष महाविधेशनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)की केन्द्रीय सदस्य करुण कटुवालले विशेष महाधिवेशनपछि ऊर्जा बोकेर फागुन २१ को निर्वाचनमा होमिने बताइन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी कटुवालले नयाँ पुस्ताले कांग्रेसको भविष्य निर्धारण गर्ने बताइन्।