काठमाडौं। चौतर्फी दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा होमिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन्। देउवा निवासमा भएको छलफलमा केन्द्रीय सदस्यहरुले सभापति देउवालाई आफैँ पहल लिन अनुरोध गरेका थिए।
सभापति देउवाले केन्द्रीय सदस्यहरुको अनुरोधपछि प्रश्न गरेका थिए- रिसाएका छन्, मैले बोलाउँदा पनि आएनन् भने?” तर सभापतिले बोलाउँदा महामन्त्री नआउने भन्ने नहुने र कुनै पनि हालतमा विशेष महाधिवेशनलाई एकताको बनाउनुपर्ने दबाब बढाएपछि देउवा वार्ताका लागि तयार रहेको छलफलमा सहभागी एक नेताले बताए।
“वार्ता हुन्छ, सौहार्दपूर्ण वातावरण बन्यो भने सभापति ज्यू आफैँ र नभए पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनको समापन समारोहमा उपस्थित हुने भन्ने कुरा भएको छ,” छलफलमा सहभागी एक नेताले भने।
कांग्रेस नेता मीन विश्वकर्माले पनि सभापतिले महामन्त्रीहरुसँग वार्ता गर्ने बताए। उनले पनि वार्तापछि सौहार्दपूर्ण वातावरण बनेमा विशेष महाधिवेशनको सुखद समापन हुने बताए। “भृकुटीमण्डपमा विशेष महाधिवेशनको रुप दिन कोसिस गर्नुभएको छ। त्यो विधानसम्मत भएन। भेला भएका साथीहरुको सम्मानका लागि कसरी शान्तिपूर्ण निष्कर्षमा पुर्याउन सकिन्छ भन्ने कुरा भयो,” बैठकपछि बाहिरिएका उनले पत्रकारहरुसँग भने, “सहमतिका लागि सभापति र कार्यवाहक सभापतिले विशेष महाधिवेशन पक्षधरहरुसँग वार्ता गर्ने भन्ने भएको छ।”
उनले दुवै पक्ष पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै दुवैका तर्फबाट एकता कायम राख्ने भन्ने कुरा भएको उनले बताए। “उहाँहरु पनि पार्टी विभाजन गर्ने मनसायमा हुनुहुन्न,” उनले भने, “पार्टीलाई एकता गरेर राख्न भेला बोलाउनुभएको हो। दुवै तर्फबाट एकता कायम राख्ने भन्ने देखिएको छ।”
छलफलमा सहभागी अर्का एक नेताले भने दुवैतर्फ केही नेताका कारण प्रयास सफल हुन नसकेको बताए । “उहाँ (गगन-विश्व)हरुको टिममा पनि नयाँ नेतृत्व चयन गरेर जानुपर्छ भन्नेहरु हुनुहुन्छ, यता बैठकमा पनि गगन-विश्वलाई पार्टीमा नरहने वातावरण बनाउनुपर्छ भन्नेहरु देखिनुभयो, उहाँहरुको कारण समस्या भएको हो,” ती नेताले भने।