काठमाडौं। भृकुटीमण्डपमा तीन दिनदेखि जारी कांग्रेस विशेष महाधिवेशन प्रतिनिधिले नेतृत्वको आवाज उठाइरहे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई टुट्न र फुट्न नदिन अन्तिम प्रयास जारी राखेका छन्।
विशेष महाधिवेशनको बन्दसत्र सुरु भए पनि संस्थापन शेरबहादुर देउवा पक्ष पनि पार्टीलाई एकढिक्का राख्ने मेसोमा देखिएको छ। सानेमा मुख्यालयमा आज बिहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक दिउँसोका लागि सारेर वार्ताको वातावरण बनाउने कोसिस गरिएको छ।
कांग्रेस विवाद मिलाउन विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीच त्रिपक्षीय वार्ता सुरु भएको छ। लाजिम्पाटस्थित एक नेताको घरमा वार्ता सुरु भएको वार्ता समितिका एक सदस्यले जानकारी दिए।
वार्तामा महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज लिसे, मधु आचार्य सहभागी छन् भने शेखर कोइरालाबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा संस्थापनका तर्फबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्।
महामन्त्रीद्वय थापा र विश्वप्रकाशले सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बटमलाइन पेस गरेका थिए।
संस्थापन पक्षले महामन्त्रीद्वयको नेतृत्वमा जारी दोस्रो विशेष महाधिवेशनलाई अपनत्व लिनुपर्ने आवाज उठिरहेको छ। महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएपछि दबाबमा परेका देउवाले टोली बनाएर वार्तामा पठाएका छन्।
त्रिपक्षीय नेताहरू सम्मिलित वार्ता समितिले समस्या समाधानको प्रयास गरिरहेका छन्। विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन्।
कांग्रेसभित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरले पार्टीको साविकको निर्वाचन समिति भंग गरी नयाँ समिति गठन गरेका छन् भने अर्कोतर्फ संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक दुई घन्टा पछि सारिएको छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले पार्टीको विद्यमान निर्वाचन समितिलाई भंग गर्ने निर्णय गरेको हो। महाधिवेशनको बन्दसत्रले संस्थापन पक्षले खम्बबहादुर खाती नेतृत्वको समितिलाई खारेज गर्दै डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ।