काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख मनोज केसीले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा अहिले पनि फेक रेस्क्यू (नक्कली उद्धार) सम्बन्धी उजुरी आउने क्रम जारी रहेको बताएका छन्।
फेक रेस्क्यूबारे गरिएको अनुसन्धानको प्रगति जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केसीले उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको नाममा गैरकानुनी कारोबार भइरहेको भन्दै सीआईबीले सघन अनुसन्धान थालेको जानकारी दिए।
‘विदेशी सञ्चारमाध्यममा आएका समाचार र प्राप्त उजुरीका आधारमा सुरुमा आर्थिक लेनदेनको विषय मात्र होला भन्ने अनुमान गरिएको थियो,’ केसीले भने, ‘तर साढे दुई महिनासम्म छुट्टै कार्यदल बनाएर अनुसन्धान गर्दा यसका धेरै पाटाहरू खुलेका छन्।’
उनका अनुसार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा करिब ३५ प्रतिशत उद्धार नक्कली हुने गरेको दाबी आएको थियो। उद्धारबाहेक अन्य प्रयोजनका लागि पनि हेलिकप्टर उडान गरिने गरेको तथ्य बाहिर आएको उनले बताए। पर्यटन मन्त्रालयले पनि यस विषयमा छुट्टै समिति बनाएर अनुसन्धान गरेको थियो।
‘२०८२ असोजमा हामीलाई थप उजुरी प्राप्त भयो,’ केसीले भने,‘अहिले पनि नक्कली उद्धार भइरहेको छ भन्ने उजुरी आइरहेका छन्।’
अनुसन्धानका क्रममा एउटै उद्धारमा धेरै पटक बिमा क्लेम गरिएको, नक्कली बिल तयार गरिएको तथा चार्टर फ्लाइटलाई उद्धार उडानका रूपमा देखाइएको जस्ता गम्भीर तथ्य फेला परेको उनले बताए। हेलिकप्टर कम्पनीसँगै केही निजी अस्पतालबाट समेत यस्तो गतिविधि हुने गरेको देखिएको उनको भनाइ छ।
‘रेस्क्यूको नाममा हेलिकप्टर उडान अस्वाभाविक देखिएको छ,’ केसीले भने, ‘यस विषयमा थप अनुसन्धान जारी छ।’