नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको गोरखा दरबार धार्मिक रुपमा पनि अत्यन्त महत्वपूर्ण रहेको छ। गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रुपमा गोरखा दरबार रहेको छ। मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन्। पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोसाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ।
राजा रामशाहको पालामा निर्माण गरिएको गोरखा दरवार परिसरमा रहेको संरचनामध्ये मूल दरवारको विशेष महत्त्व रहेको छ। बुइँगलसहित यो दरबार ४ तले छ। दरबारको तेस्रो तलाकलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ। उत्कृष्ट काष्ठकलाका नमूना देख्न सकिने सो मूल दरबार लगायत अन्य विभिन्न संरचना २०७२ भूकम्पले क्षति गरे पनि हाल पुन निर्माणको काम सकिसकेको छ।
मूल दरबारमा रहेका केही महत्वपूर्ण कोठा र दरबार परिसरका केही एतिहासिक संरचना
पृथ्वीनारायण शाह जन्मेको कोठाः दरबारको तल्लो अर्थात भुईतलाको दाँयातर्फको कोठामा पृथ्वीनारायण शाह जन्मेको मानिन्छ। हाल यो कोठा बन्द गरेर राखिएको छ। यो कोठा वाहिर रहेको कोठालाई धुनी कोठा भनिन्छ। भनिन्छ, पृथ्वीनारायण शाह जन्मेपछि यसै धुनीकोठामा सेकताप गरिन्थ्यो।
राजकन्या कोठाः दरवारको मूल प्रवेशद्वारबाट गएपछि भित्री द्वार आउँछ यसै भित्रीद्वारबाट छिरेपछि बायाँतर्फ एक कोठा रहेको छ, जसलाई कन्या कोठा भनिन्छ। यस कोठामा बडा दसैं ८ कन्या र १ कुमारलाई पूजा गरी भोजन गराइन्छ भने वडा दसैं टीकाको दिनदेखि पूर्णिमाका दिनसम्म गोरखकाली र गोरखकालीसँग सम्बन्धित वस्तु यो कोठामा राख्ने प्रचलन रहेको छ ।
सिंहासन कोठाः कन्या कोठाको ठीक आगाडि सिंहासन कोठा रहेको छ। यस कोठाको काठको सिंहासन राखिएको छ जसलाई पृथ्वीनारायण शाहको सिंहासन भन्ने गरिन्छ। यस कोठालाई काठद्वारा निर्माण गरेको जालीदार बार लगाइएको छ।
कौषीतोषा कोठाः यस कोठाबाटवर्षभरिको पर्वपूजाका सामग्री भण्डारण गरी पूजा सामान तयार गरेर पूजाकोठामा पठाउने गरिन्छ।
भण्डार कोठाः भण्डारकोठाभित्र ३ वटा कोठामा दरवारसँग सम्बन्धित पर्व पूजामा आवश्यक पर्ने पूजा सामग्री लगायत अन्य पूजा भाँडा, हतियार भण्डार गर्ने गरिन्छ। यी भण्डारण गरिएका वस्तु पर्वपूजामा निकाल्ने गरिन्छ।
भान्छा कोठाः दरबारको दोस्रो तलामा ठूलो लामो कुनै घेराबार नगरेको कोठा रहेको छ, जसलाई राजपरिवारको भान्छा भन्ने गरिन्छ। यस भान्छाकोठामा हाल पनि चुलो चौका रहेको छ । हाल यस भान्छाकोठामा अष्टमीका दिन कन्यापूजा गर्ने गरिन्छ।
भान्छाकोठा सँगैको पूर्वतर्फको कोठाः
यस कोठामा गोरखनाथको पूजासँग सम्बन्धित वस्तु राख्ने गरिन्छ।
कैलाशकोठाः दरबारको तेस्रो तला तथा बुइँगलमा भगवतीको मुख्य गर्भगृह रहेको छ, जहाँ मुख्य भगवती र भगवतीसँग सम्बन्धित वस्तु राख्ने गरिन्छ। चैते दसैंको एक दिन र बडादसैंको नवरथाभरि भगवतीलाई कालिका मन्दिरको पूजाकोठामा विराजमान गराइन्छ। यस कैलाशकोठामा भित्रीया सुसारेबाहेक अन्य प्रवेश गर्न पाइँदैन।
रंगमहलः गोरखा दरवार र कालिका मन्दिरलाई जोड्ने गरी एक भवन बनाइएको छ, जसलाई रंगमहल भनिन्छ। यो रंगमहल २ तलाको रहेको छ। रंगमहलको बनाउन भूईतलामा छत्रशाहले लगाई कालिकालाई चढाएको १६६६ को अभिलेखसहितको दुईवटा नगरा राखिएको छ भने एकवटा १७७१ को अभिलेख अंकित तोपको भाग राखिएको छ। पहिलो तलामा राजपरिवारले रंगमहलको पटांगिनीमा हुने नाचगान उत्सव र बडादसैं टीकाको दिन टीकाप्रसाद ग्रहण गरिसकेपछि यो स्थानबाट रंग भरेको पानी र अबिर बर्साएर होली खेल्ने परम्परा रहेको छ। हालसम्म पनि होली खेल्ने परम्परा यथावत कायम छ।
रंगमहलको दोस्रो तला मूल दरबार कालिका मन्दिर जाने भित्रको बाटोको रुपमा प्रयोग गर्ने गरिन्छ भने कन्या पूजा र कन्यालाई भोजन पनि यसै तलामा गर्ने गरिन्छ।
गोरखकाली मन्दिरः अलौकिक शक्तिशाली देवताको रुपमा मान्दै आएको यी देवीको प्रतीकलाई कास्की, लमजुङ गर्दै गोरखासम्म ल्याएको लोक विश्वास रहेको छ। द्रव्य शाहले गोरखामा राज्य प्राप्त गरेपछि लमजुङ दरबारबाट उक्त शक्ति चोरेर ल्याइएको भन्ने एकखाले किंवदन्ती पाइन्छ भने वंशावलीमा सो प्रतीकलाई वत्तीमा जागा गराएर गोरखा दरबारको पूजाकोठामा ल्याई पुर्याउने प्रयास तेस्रो पटक मात्र सफल भएको आदि कुरा लेखिएको छ। गोरखकालीको प्रतीकलाई गोप्य पूजाकोठामा राखिने हुँदा दर्शनार्थी र भक्तजनले मन्दिर खण्डको दक्षिणतर्फको ढोकामा पूजाआजा गर्ने चलन छ। गोरखकालीको नामले प्रसिद्ध यो मन्दिर पूर्वाभिमुख रहेको छ ४ तला रहेको यो मन्दिर भनिए पनि मूल दरबारको वास्तुशैलीजस्तै गरी बनाइएको छ। यसको छानामा धातुको गजुर राखिएकोले मन्दिर भन्ने बुझिन्छ । कालिका मन्दिरभित्र पनि विभिन्न कोठा रहेका छन् ।
पूजाकोठाः टीकापाती कोठाको पूर्वतर्फ अर्को कोठा रहेको छ, जसलाई मुख्य पूजाकोठा भन्ने गरिन्छ। यस पूजाकोठामा दैनिक नित्य पूजा गर्ने गरिन्छ। यस पूजाकोठामा चैतेदसैंको एक दिन र बडादसैंको नौरथाभरि कालीभगवतीलाई कैलाशकोठाबाट ल्याई विराजमान गराइन्छ । यस पूजाकोठमा मुल ब्राह्मण पुजारी र भीरकोटे सुसारे र भित्रिया सुसारेबाहेक अन्य प्रवेश गर्न पाइँदैन।
गोरखनाथ मन्दिरः गोरखा मूल दरबारको पूर्वपट्टि एउटा गुफामा मन्दिर बनाइएको छ जसलाई गोरखनाथ मन्दिर तथा गुफा भनिन्छ। यस गोरखनाथ गुफासँग पृथ्वीनारायण शाहको कथा जोडिएको छ। एक दिन पृथ्वीनारायण शाह झ्यालमा बसी राखेको समयमा कसैले बोलाएको सुनी उनी भर्याङबाट नओर्ली सीधै आवाज आएको ठाउँतिर गएर हेर्दा एकजना जोगीले उनलाई बोलाई दही ल्याउन लगाएको र पृथ्वीनारायाण शाहले दही ल्याई जोगीलाई दिएको जागीले सो दही खाई पुनः ओकली पृथ्वीनारायण शाहलाई हात थाप्न लगाई ओकली दिएपछि खान आग्रह गर्दा पृथ्वीनारायण शाहले दिगमिग मान्दा खुट्टामा खसेको र जोगीले यो दही खाएको भए जे बोल्यो त्यही पुग्ने थियो। तर, यो तिम्रो खुट्टामा खस्यो तिमी जुन भूमिमा टेक्छौ त्यो तिम्रो हुनेछ भनी आशिर्वाद दिएको भनी किंवदन्ती रहेको छ। ठूलो ढुंगामुनि रहेको गोरखनाथ मन्दिरको मूल गर्भगृहमा दैनिक कनफट्टा योगीद्वारा गोरक्षसहस्रनाम पाठ र पूजा हुन्छ। त्यसैगरी साउनमा ४ दिनसम्म र शिवरात्रि तथा चण्डीपूर्णिमाका दिनसमेत ती योगी तथा अन्य साधु सन्तलाई गोरखा दरबारमा भण्डारा खुवाइन्छ।
दमाईपाटीः दरबार प्रवेश गर्ने दक्षिणतर्फको गेट अगाडि एउटा सानो पाटी रहेको छ, जसलाई दमाई पाटी भनिन्छ। यस पाटीमा कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजा हुने समयमा बाजा बजाउने गरिन्छ।
शीतलपाटीः दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा ज्यादै आकर्षक घर रहेको छ जसलाई शीतल पाटी भनिन्छ । यस शीतल पाटी विश्रामस्थलका रुपमा प्रयोग गरिन्छ। सर्वसाधारणलाई यसमा प्रवेश गर्न रोक लगाइएको छ। भनिन्छ तत्कालन राजपरिवारका सदस्य आउँदा यस स्थानमा विश्राम गरेपछि कालिका मन्दिर दर्शन जाने गर्दथे।
-1771048851.JPG)
-1771048851.JPG)
-1771048849.JPG)
-1771048849.JPG)
-1771048848.JPG)
-1771048848.JPG)
-1771048847.JPG)
-1771048846.JPG)
-1771048845.JPG)
-1771048843.JPG)
-1771048843.JPG)
-1771048842.JPG)
-1771048842.JPG)
-1771048840.JPG)
-1771048840.JPG)
-1771048845.JPG)
तस्बिरः प्रकाश चन्द तिमिल्सेना÷नेपाल फोटो लाइब्रेरी