काठमाडौं। प्रतिनिधिसभा निर्वाचन सुरु भएको छ। देशैभर १०९६७ मतदान स्थल, २३११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान स्थलबाट जनप्रतिनिधि छानिँदै छन्।
यो निर्वाचनमा ६५ राजनीतिक दलले भाग लिए पनि प्रतिस्पर्धा मुख्यतः नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र जनता समाजवादी पार्टी नेपालबीच हुनेछ।
प्रत्यक्षमा ६५ राजनीतिक दल ६१ निर्वाचन चिह्न, समानुपातिकतर्फ ६३ राजनीतिक दल, ५७ निर्वाचन चिह्न, निर्वाचन आयोगमा १६३ दल दर्ता, समानुपातिकतर्फ ३१३५ उम्मेदवार, प्रत्यक्षतर्फ ३४०६ जना उम्मेदवार रहेका छन्।
सबैभन्दा धेरै बागमतीमा ३३ सिटका लागि मतदान हुँदै छ भने क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो कर्णालीमा १२ सिटका लागि मतदान हुँदै छ।
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले बताएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन्।