भक्तपुर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।
उनले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन्।
मतदान गरेपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले ओखलढुंगा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा समस्या आएको जानकारी पाएको बताए। उनले भने, ‘देशभर शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न हुने विश्वास लिएको छु।’
झापामा मतदान उत्साहपूर्ण
झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताएका छन्। जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहपूर्वह मतदान गरिरहेका हुन्। सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख इन्दिरा रानामगरलगायतले आ–आफ्नो मतदानकेन्द्रबाट मतदान गरिसकेका छन्।
मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जिल्लामा हालसम्म ४० प्रतिशत मत खसिसकेको जानकारी दिए।