काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा किल्ला जमाएर ‘क्लिन स्वीप’ गरेको छ। केही निर्वाचन क्षेत्रबाहेक अधिकांशमा रास्वपा उम्मेदवारले कांग्रेस, एमाले उम्मेदवारको जमानत जफत हुने गरी मतान्तरले धेरै पछि पारेको हो।
काठमाडौंका २२६ उम्मेदवारको जमानत जफत भएको छ।
काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना निर्वाचित हुँदा कांग्रेस र रास्वपाबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। कुल २९ हजार ४०० मत सदर भएकोमा दुई हजार ९०० भन्दा कम मत पाउने सबैको जमानत जफत भएको हो। काठमाडौं–१ मा एमाले, नेकपासहित २६ उम्मेदवारका जमानत जफत भएको छ ।
काठमाडौं–२ मा रास्वपाकै सुनील केसी निर्वाचित भएका छन। उनले २४ हजार २६९ मत पाउँदा कांग्रेसका कविर शर्माले ६ हजार ९८९ र राप्रपाकी कुन्तिदेवी पोखरेलले चार हजार १३८ मत ल्याएर जमानत जोगाएका छन्। २५ उम्मेदवारको जमानत जफत भएको छ।
काठमाडौं–३ मा रास्वपाकै राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित निर्वाचित भएका छन्। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ११ हजार १७१ मतसहित दोस्रो भए भने कांग्रेसका रमेश अर्याल ६ हजार मत ल्याएर तेस्रो भए। त्यसबाहेक एमालेका रामेश्वर फुयालसहित १९ जनाको जमानत जफत भएको छ।
काठमाडौं–४ मा रास्वपाका पुकार बम २३ हजार ४८८ मतसहित निर्वाचित भएका छन्। दोस्रो भएका कांग्रेसका सचिन घिमिरेले ६ हजार ९५९ मत पाए। तेस्रो भएका एमालेका राजन भट्टराईले पाँच हजार २३७ मत पाएका छन्। त्यसबाहेकका २४ उम्मेदवारको जमानत जफत भएको छ।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल २७ हजार ४७७ मतसहित निर्वाचित भए। दोस्रो भएका कांग्रेसका प्रदीप पौडेलले जम्मा आठ हजार २११ मत ल्याए। तेस्रो भएका ईश्वर पोखरेल र त्यसपछिका २४ जनाको जमानत जफत भएको छ।
काठमाडौं–६ मा रास्वपाकै शिशिर खनाल निर्वाचित भएका छन्। उनले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण सवुज बानियाँले ६ हजार ७५१ मत ल्याएर दोस्रो भए । एमालेका अमनकुमार मास्के चार हजार २६८ मतसहित तेस्रो भए। उनीपछि राप्रपाका उद्धवराज भेटवालसहित १७ उम्मेदवारको जमानत जफत भएको छ।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतसहित निर्वाचित भएका छन्। कांग्रेसका प्रमोदहरि गुरागाईंले तीन हजार ९८२ मत ल्याएर दोस्रो भए पनि उनको जमानत जोगिएन। उनीसहित २५ उम्मेदवारको यहाँ जमानत जफत भएको छ।
काठमाडौं–८ मा रास्वपाकै विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित निर्वाचित भए। यहाँ नेकपाका सुमन सायमी तीन हजार २१७ मत ल्याएर दोस्रो भए पनि उनको जमानत जोगिएन। कांग्रेसका सपना राजभण्डारी जोशी र एमालेका राजेश शाक्यसहित २१ उम्मेदवारको जमानत जफत भएको छ।
काठमाडौं–९ मा रास्वपाकै डोलप्रसाद अर्याल (डीपी) २७ हजार ४१३ मतसहित निर्वाचित भए। यहाँ कांग्रेसकी नानुमैयाँ बास्तोला चार हजार ४३९ मतसहित दोस्रो भएर जमानत जोगाइन्। एमालेका अजयक्रान्ति शाक्यसहित २२ उम्मेदवारका जमानत जफत भएको छ।
काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित निर्वाचित भए। यहाँ कांग्रेसका हिमाल कार्की आठ हजार एक सय मतसहित दोस्रो भएर जमानत जोगाए। तेस्रो भएका एमाले उम्मेदवारसहित २३ जनाको जमानत जफत भएको छ।