काठमाडौं। मध्यपूर्वमा जारी तनाव र आगामी चुनावका कारण काठमाडौंका पेट्रोल पम्पहरुमा भीड बढ्न थालेको छ। कच्चा तेलको प्रमुख उत्पादक देश इरान लगायत मध्यपूर्वमा भएका आक्रमणले विश्व बजारमा तेलको मूल्य बढ्ने आशंका सिर्जना गरेपछि नेपाली बजारमा पनि यसको असर देखिन थालेको हो।
शनिबार मध्यपूर्वमा भएको आक्रमणपछि आइतबार बिहानैदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल भर्नेहरुको भीड बढेको छ। युद्ध र आक्रमणका कारण इन्धन आपूर्ति अवरुद्ध हुने र मूल्य बढ्ने सम्भावना रहेको आशंकाले उपभोक्तालाई घरमा तेल भण्डारण गर्न उत्प्रेरित गरेको देखिन्छ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले अहिले पर्याप्त पेट्रोल र डिजेल उपलब्ध रहेको बताए। तर मानिसहरु अभावको त्रासले लाइनमा उभिएर तेल भण्डारण गरिरहेका छन। ‘हल्लाको पछि लाग्दा उपभोक्ताहरु पम्पमा भिड गरिरहेको देखिन्छ’, प्रवक्ता ठाकुरले भने ‘जोहो गर्ने नाममा घरमा ठूलो मात्रामा तेल राख्दा जोखिम बढ्न सक्छ।’
अहिले दैनिक खपत अनुसार नेपालमा २ हजार किलोलिटर पेट्रोल र ४ हजार किलोलिटर डिजेल पर्याप्त मात्रामा उपलब्ध छ। ‘अफवाहमा नपरेर आवश्यक मात्रामा मात्र तेल लिनुहोस,’ प्रवक्ता ठाकुरले भने ‘इन्धन आपूर्तिमा अहिलेसम्म कुनै समस्या आएको छैन।’
पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि मध्यपूर्वको तनावले नेपाली बजारमा तत्काल प्रभाव नपरेको बताए। उनका अनुसार लामो सरकारी विदा र चुनावको तयारीका लागि घर फर्कनेहरुको कारण पम्पमा लाइन बढेको हुन सक्छ। ‘निर्वाचन नजिकिदा पेट्रोलको माग स्वाभाविक रूपमा बढ्छ, तर यसले आपूर्ति संकटको संकेत गर्दैन। मूल्य बढ्ने निश्चित छ, तर अहिले इन्धनको अभाव छैन,’ उनले भने।
विश्व बजारमा तेलको मूल्य राजनीतिक अस्थिरता, युद्ध, र आपूर्ति अवरोध जस्ता कारणले सधैं प्रभावित हुन्छ। मध्यपूर्व क्षेत्र विशेषगरी इरान, इराक, साउदी अरब र इजरायलमा भएका आक्रमण तथा तनावले अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता सिर्जना गर्न सक्छ। यसले नेपाल जस्ता तेल आयात गर्ने देशमा मूल्य वृद्धि र उपभोक्तामा डर फैलिन सक्छ।
इरान प्रमुख तेल उत्पादक राष्ट्र हो। यसको भौगोलिक अवस्थिति स्ट्रेट अफ होर्मुज नजिकै पर्छ। विश्वभर आपूर्ति हुने करिब २० प्रतिशत तेल यही जलडमरुमध्ये हुँदै जान्छ। यहाँ अवरोध उत्पन्न भएमा विश्व बजारमा तत्काल मूल्य उकालो लाग्ने सम्भावना रहन्छ।
शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल करिब ७३ अमेरिकी डलरमा कारोबार भएको थियो। यस वर्ष मात्र यसमा करिब २० प्रतिशत वृद्धि भइसकेको छ। बजार विश्लेषकका अनुसार द्वन्द्व सीमित अवधिमा नियन्त्रणमा आए पनि मूल्य ८० डलरसम्म पुग्न सक्छ। यदि द्वन्द्व लम्बियो र आपूर्ति अवरुद्ध भयो भने तेलको मूल्य १०० डलरसम्म पुग्ने चेतावनी दिइएको छ।
ऊर्जा बजारमा यस्तो उछाल आएमा विश्वव्यापी मुद्रास्फीतिमा थप दबाब पर्न सक्छ। विश्लेषणअनुसार तेल १०० डलर नाघेमा विश्व मुद्रास्फीतिमा ०.६ देखि ०.७ प्रतिशत विन्दुसम्म थप वृद्धि हुन सक्छ। यसले विकसित र विकासशील दुवै अर्थतन्त्रलाई असर पार्नेछ।