अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिएको नेकपा एमालेले लज्जास्पद पराजय भोग्ने देखिएको छ। बिहीबार रातिदेखि सुरु भएको मत गणनामा आफ्नै गृहजिल्लाबाट समेत अध्यक्ष ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन ठूलो मतान्तरले पराजित हुने निश्चि छन्। यद्यपि नतिजा सार्वजनिक भइनसकेकाले त्यसमा तलमाथि हुन सक्ने छ।
भदौ २३ र २३ को जेनजी आन्दोलनमा सरकारको नेतृत्वमा रहेका अध्यक्ष ओलीले बालुवाटारबाट भागेर प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेतृत्व छाड्न आग्रह गर्दासमेत त्यसलाई अटेर गरेका कारण निर्वाचनमा एमालेको दुर्दशा देखिएको हो।
निर्वाचनमा अध्यक्ष, उपाध्यक्षद्वय महासचिव र सचिवसम्मका उम्मेदवारहरूले लज्जास्पद हार बेहोरेका छन्। यीमध्ये अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पराजय नजिक पुगेका छन्। चुनाव लडेका ११ पदाधिकारीमध्ये सबैको लज्जास्पद हार निश्चित भएको हो।
चुनाव हार्नेमा अध्यक्ष ओली, उपाध्यक्षद्धय विष्णुप्रसाद पौडेल, गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचनमा पराजित भएका छन्। अर्का उपमहासचिव योगेश भट्टराईलाई भने ओलीले अन्तिम समय आएर टिकट काटेका थिए।
यस्तै, सचिवद्वय शेरधन राई, महेश बस्नेत, डा.राजन भट्टराई र भानुभक्त ढकाल पराजित भइसकेका छन्। निर्वाचन लडेका केही पदाधिकारीले चुनाव हारेका छन्, केही हार्ने अन्तिम तयारी पुगेको देखिन्छ।
अध्यक्ष ओलीले निर्वाचन झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन)सँग चुनावी प्रतिस्पर्धा गरेका छन्। मत गणना बाँकी रहेको भए पनि शाह ओलीभन्दा धेरै मतान्तरले अगाडि छन्।
रुपन्देही २ बाट उपाध्यक्ष पौडेल पराजित भएका छन्। पौडेल राष्ट्रिय रास्वपाका सुलभ खरेलसँग पराजित भएका हुन्। खरेलले पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका छन्। खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाएका थिए।
यसैगरी लमजुङबाट उपाध्यक्ष गुरुङसमेत पराजित नजिक पुगेका छन्। रास्वपाका उम्मेदवार धर्मराज केसी जितनजिक पुगेका छन्। रास्वपाका केसीले २९ हजार ३ सय ५९ मत ल्याएका छन् भने गुरुङले १५ हजार १ सय मत ल्याएका छन्।
गुल्मी २ बाट उपाध्यक्ष विष्ट पराजित भएका छन्। विष्ट रास्वपाका उम्मेदवार गोविन्द पन्थीसँग पराजित भएका हुन्। पन्थीले विष्टलाई कडा प्रतिस्पर्धाका बीच ५६१ मतान्तरले पराजित गरेका हुन्। सार्वजनिक नतिजाअनुसार पन्थीले १६ हजार ९६७ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी विष्टले १६ हजार ४०६ मत ल्याए।
यस्तै, एमालेका शक्तिशाली महासचिव शंकर पोखरेल पनि पराजयको डिलमा पुगिसकेका छन्। उनले हार स्वीकारेर रास्वपाका विपिन आचार्यलाई बधाइसमेत दिएका छन्। पछिल्लो मतगणनाअनुसार उक्त निर्वाचन क्षेत्रमा रास्वपाका आचार्यले ३५ हजार ६८७ मत ल्याउँदा पोख्रेलले जम्मा १२ हजार ९७१ मत ल्याएका छन्।
मतगणनाअनुसार प्रतिस्पर्धामै रहेका उपमहासचिव लेखराज भट्ट रास्वपाका खेमराज कोइरालासँग झन्डै ४ गुणाले पछाडि छन्। त्यति मात्रै होइन, भट्ट मत परिणामको प्रतिस्पर्धाका पनि तेस्रो स्थानमा पुगेका छन्। मत परिणामको अन्तरले भट्टको हार निश्चित देखिएको छ।
उपमहासचिव रघुवीर महासेठका पनि हार निश्चित देखाएको छ। पछिल्लो मत परिणामअनुसार धनुषा ४ मा रास्वपाका राजकिशोर महतोले १९ हजार १११ मत ल्याउँदा महासेठ तेस्रो स्थानमा रहेर जम्मा ३ हजार ३२६ मा खुम्चिएका छन्। मतान्तरको अवस्थाले महासेठको पनि हार निश्चित देखाएको छ।
यसैगरी मतगणनाअनुसार प्रतिस्पर्धामै रहेका सचिव शेरधन राई पनि भोजपुरमा पछि परेका छन्। शेरधन एमालेकै पूर्वनेता एवं श्रम संस्कृतिका ध्रुवराज राईभन्दा १ हजार बढी मतले पछाडि छन्।
सचिव महेश बस्नेतले भक्तपुर २ मा पनि हार बेहोरेका छन्। रास्वपाका राजीव खत्रीले ३४ हजार ७०२ मत ल्याउँदा बस्नेतले जम्मा ८ हजार ३५१ मत ल्याएका छन्।
यस्तै, काठमाडौं ४ मा उम्मेदवार रहेका अर्का सचिव डा. राजन भट्टराई रास्वपाका उम्मेदवार पुकार बमसँग २० हजार ३९८ मतले पराजित भएका छन्। बमले २९ हजार १ सय ४२ मत ल्याउँदा भट्टराईले ५ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए।
तेह्रथुमबाट सचिव भानुभक्त ढकाल पनि नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भइसकेका छन्। सुब्बाले ११ हजार ५६१ मत ल्याए विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिव भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याएका छन्।