काठमाडौं। देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनलहर चलिरहँदा ‘वेइटिङ प्राइमिनिष्टर’का रुपमा प्रस्तावित बालेन्द्र शाह (बालेन)ले कीर्तिमानी जित हात पारेका छन्। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि गत बिहीबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार उनले ६८ हजार ३४८ मत पाएका हुन्।
निर्वाचन नजिकिँदै जाँदा काठमाडौं महानगरपालिकाको मेयर पदबाट बालेनले माघ २४ गते राजीनामा दिएर झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थिए। उक्त क्षेत्रबाट नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवारी दिएका थिए।
एमालेबाट निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइएका ओलीलाई पराजित गर्न भन्दै रास्वपाबाट प्रधानमन्त्रीकै उम्मेदवार बनेका बालेन झापा ५ मा उम्मेद्वारी दिन पुगेका थिए। उनले उम्मेद्वारी दिएसँगै ओलीले रक्षात्मक बनेका थिए। चुनावी मत परिणाम आउँदा उनी कीर्तिमानी मतान्तरले पराजित बन्न पुगेका छन्।
देशभर रास्वपाको लहर
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत गणना सुरु भएसँगै रास्वपा पुराना दलमाथि भारी परेको थियो। प्रत्यक्षतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये केही स्थानमा छाडेको रास्वपाले समानुपातिक मत गणना नहुँदै सरकार बनाउन आवश्यक सिटमा जित हात पार्ने निश्चित भएको छ।
जारी मत गणनाअनुसार रास्वपा ६३ स्थानमा जित हात पारेको छ। यस्तै, ५८ स्थानमा अग्रता लिएको छ। यसको विपरीत दोस्रो ठूलो दल बन्ने दल नेपाली कांग्रेसले १० स्थानमा जितसँगै ११ स्थानमा अग्रता कायम गरेको छ।
यसैगरी, बालेनले पराजित गरेको अोली नेतृत्वको एमालेले तीन स्थानमा जित निकाल्दा ८ स्थानमा अग्रता बनाएको छ। एक दर्जन दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दुई स्थानमा जितसँगै पाँच स्थानमा अग्रता बनाएको छ। बाँकी पार्टीहरू केही स्थानमा जित निकालेको छ।
चुनावी लहरमा देखिएको ट्रेन हेर्ने हो भने रास्वपाले दुई तिहाईभन्दा बढी सिटसहित कीर्तिमानी बहुमत ल्याउने निश्चित देखिएको छ। रास्वपाको यो जितसँगै पार्टीको एजेण्डाअनुसार बालेन प्रधानमन्त्री बन्ने पक्का रहेको छ।
को हुन बालेन शाह?
पेशाले इन्जिनियर बालेन ३६ वर्षीय भए। उनले विगत चार वर्षदेखि र्यापरका रुपमा नयाँ पुस्ताबीच चर्चित रहँदै आएका थिए। यसैबीच उनी विं.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ठूला दलका उम्मेद्वारहरूलाई पराजित गर्दै काठमाडौं महानगरको मेयरमा विजयी भएका थिए।
स्वतन्त्र उम्मेदवारी दिँदै मेयरमा विजयी भएसँगै उनमाथि आम जनताले हेर्ने नजर परिवर्तन भएको थियो। मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भएका थिए।
काठमाडौंको गौरीगाउँमै जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका कान्छा छोरा हुन्। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनी पेशाका क्रममा देशका ६५ जिल्ला पुगेका छन्।
जेनजी आन्दोलनपछि व्यक्तिगत रुपमा रास्वपासँग एकता गरेपछि उनको चर्चा थप चुलिएको थियो। रास्वपासँग एकता गर्दा उनलाई पार्टीभित्र वरिष्ठ नेताको रुपमा राखेर चुनावपछिको प्रधानमन्त्री बनाउने सहमति भएको थियो।
भावी प्रधानमन्त्रीका रुपमा पार्टीले अगाडि सारेका बालेन चुनावी अभियानमा आफ्नो चुनावी क्षेत्रभन्दा देशभर चुनावी माहोल बनाउन व्यस्त भएका थिए। उनकै चर्चासँगै भावी प्रधानमन्त्रीमा प्रस्तावित हुँदा देशभर रास्वपामा लहर छाएको भन्न सकिन्छ।