काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आज दिनको २ बजे शपथ कार्यक्रम तय गरिएको छ। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ। शपथका लागि आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ।
नेपाली भाष बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनीलबहादुर थापा निर्वाचित भएका छन्।
मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन्। त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन्। त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएको छ।