काठमाडौं। मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीमा ठूलो गिरावट आएको छ। दैनिक १७ वटा उडान अवरुद्ध हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब दैनिक २ करोड १० लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार फागुन १५ गतेदेखि मध्यपूर्व गन्तव्यका उडानहरू रोकिँदा विमानस्थलको चहलपहल र यात्रु संख्या उल्लेख्य रूपमा घटेको छ। अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही गरेपछि सुरु भएको तनावका कारण खाडी क्षेत्रका नौ देशले आफ्नो आकाशमार्ग बन्द गरेपछि उडान प्रभावित भएका हुन्।
फागुन १५ मा काठमाडौं विमानस्थलबाट ५४ प्रस्थान र ५२ आगमन गरी कुल १ सय ६ उडान आवागमन भएका थिए। तर त्यसको भोलिपल्ट १६ फागुनमा ४९ आगमन र ४१ प्रस्थान गरी जम्मा ९० उडान मात्र सञ्चालन भए। प्राधिकरणका अनुसार त्यसयता दैनिक उडान संख्या झण्डै ४४ प्रतिशतले घटेको छ।
यात्रु संख्यामा पनि तीव्र गिरावट आएको छ। फागुन १५ मा दुईतर्फी १६ हजार ९ सय २ यात्रुले आवागमन गरेका थिए, जसमा विदेशिने ८ हजार १ सय १५ र काठमाडौं आउने ८ हजार ७ सय ८७ जना थिए। तर बिहीबारसम्म आइपुग्दा यो संख्या घटेर दुईतर्फी ६ हजार ८ सय २ मा सीमित भएको छ, जुन सामान्य अवस्थाको तुलनामा झण्डै ६० प्रतिशतले कम हो।
काठमाडौं विमानस्थलबाट खाडी क्षेत्रमा हिमालय एयरलाइन्स, नेपाल वायुसेवा निगम, कतार एयरवेज, एयर अरेबिया, कुवेत एयरवेज, जजिरा एयरवेज र फ्लाई दुबई गरी सात वायुसेवाले उडान गर्दै आएका थिए। हाल भने फ्लाई दुबईले मात्रै सीमित रूपमा यात्रु उद्धार उडान सञ्चालन गरेको छ।
इरानमाथि अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि उत्पन्न सुरक्षा जोखिमका कारण धेरै अन्तर्राष्ट्रिय वायुसेवाले मध्यपूर्वतर्फका उडान अस्थायी रूपमा स्थगित गरेका छन्। जसको प्रत्यक्ष असर काठमाडौं विमानस्थलको उडान संख्या, यात्रु आवागमन र आम्दानीमा परेको प्राधिकरणले जनाएको छ।