काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना गरिएको हो।
मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित पहिलो स्थानमा छ। रास्वपाले प्राप्त गरेको यो मत ४८.२८ प्रतिशत हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.२५ प्रतिशत मत प्राप्त गरेको छ। पार्टीले १३ लाख ४८ हजार ७९९ मत पाएको छ। तेस्रो स्थानमा रहेको एमालेको ११ लाख ४२ हजार ३८१ मत छ, जुन १३.७६ प्रतिशत हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.०८ प्रतिशत मत पाएको छ। उसले ५ लाख ८७ हजार २३० मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टीले ३.४९ प्रतिशत मत पाएको छ। उसले २ लाख ८९ हजार ९६१ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७४ हजार ९९१ मत पाएको छ, जुन कुल सदर मतको ३.३१ प्रतिशत हो।
आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ।
निर्वाचन आयोगका अनुसार संखुवासभा, इलाम क्षेत्र. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४, रसुवा, सिन्धुली १ र २, दोलखा, कञ्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी ३, तेह्रथुम, उदयपुर २, गुल्मी १, रोल्पा, रुकुम पश्चिम, बाँके १, २ र ३, अर्घाखाँची, कपिलवस्तु २, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा १, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १०, भक्तपुर १ र २, ललितपुर १ र ३ क्षेत्रको समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको पनि उनले बताए।
फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ। समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ।
निर्धारित संख्यामा समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ। दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लस्टर बमोजिम मिले नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइनेछ।
आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताए।