सर्लाही। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ। निर्वाचन ऐनअनुसार कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।
गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए। यहाँ जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत छन्।
क्षेत्र १ मा निवर्तमान सांसदसहित २८ जना उम्मेदवारको जमानत जफत हुने भएको छ। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका शम्भुलाल श्रेष्ठबाहेक सबैको जमानत भएको हो।
जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले कम्तीमा सात हजार ३८५ मत प्राप्त गर्नुपर्ने थियो। तर, यस क्षेत्रमा दुई जनाबाहेक अन्य उम्मेदवारले १० प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन्।
यस क्षेत्रबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका उम्मेदवार निवर्तमान प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पूर्वसांसद प्रमोद साह, नेकपा (एमाले)का उम्मेदवार ईश्वरपुर नगरपालिकाका पूर्वमेयरसमेत रहेका मनोजकुमार देवकोटासहित २८ जनाको जमानत जफत भएको हो।
निवर्तमान सांसद चौधरीले तीन हजार ९९१, पूर्व सांसद साहले पाँच हजार ४९८ र पूर्व मेयर देवकोटाले ६ हजार १०१ मत मात्र प्राप्त गरे। एक लाख ३० हजार ८७१ मतमध्ये ६०.५३ प्रतिशत अर्थात् ७९ हजार २०७ मत खसेको थियो। त्यसमध्ये ७३ हजार ८४२ मत सदर भएको थियो।
यस्तै क्षेत्र २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ। त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन्। जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्नेछ।
सम्पन्न मतगणनाको परिणामअनुसार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरे। उनले कुल सदर मतको १० प्रतिशत मत समेत प्राप्त गर्न सकेनन्। सर्लाही २ मा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वमन्त्री महेन्द्रराय यादव भने आठ हजार ५२३ मत प्राप्त गरी जमानत जोगाउन सफल भए। यस क्षेत्रमा कुल एक लाख २५ हजार ३११ मतको ६२.०८ प्रतिशत अर्थात् ७७ हजार ७८९ मत खसेको थियो। त्यसमध्ये यहाँ ७२ हजार ३८१ मत सदर र पाँच हजार आठ मत बदर भएको छ।
यस्तै सर्लाही ३ मा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको मात्र जमानत जोगिएको छ। ३४ जनाको उम्मेदवारी परेको यस क्षेत्रमा ३२ जनाको जमानत जफत हुने अवस्था आएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए। १९ जना स्वतन्त्रसहित ३२ जनाले कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका हुन्।
कुल एक लाख ३४ हजार ४१२ मतदाता रहेको यस क्षेत्रमा ८२ हजार १०८ मत खसेको थियो । त्यसमध्ये ७७ हजार ८३८ मत सदर र चार हजार २६८ मत बदर भएको छ । यस क्षेत्रमा जमानत सुरक्षित गर्न कम्तीमा सात हजार ७८४ मत ल्याउनुपर्नेमा पूर्वगृहमन्त्री श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे।
एमाले उम्मेदवार पूर्वरक्षामन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाललगायतको जमानत जफत भएको हो। यसैगरी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादव बाहेक सबै जनाको जमानत जफत भएको छ। ३८ जनाको उम्मेदवारी परेको यहाँ कांग्रेस सभापति थापा र नेकपा एमालेका उम्मेदवार यादवले मात्र जमानत जोगाए। २३ जना स्वतन्त्रसहित ३५ जना उम्मेदवारको भने जमानतबापतको रकम गुमेको छ।
यस क्षेत्रमा ३५ जना उम्मेदवारले जमानत जोगाउन आवश्यक सात हजार ३३७ मतसमेत प्राप्त गर्न सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएको यस क्षेत्रमा कुल एक लाख २१ हजार १२ जना मतदातामध्ये ७७ हजार ९३१ जनाले मत खसालेका थिए। त्यसमध्ये ७३ हजार ३६२ मत सदर भएको थियो, भने, चार हजार ५६९ मत बदर भएको छ।
यहाँ कांग्रेसका उम्मेदवार एवम् निकटतम प्रतिस्पर्धी सभापति थापाले २२ हजार ८३१ र तेस्रो भएका एमालेका यादवले ९ हजार ३४३ मत प्राप्त गर्दै जमानत जोगाए। यहाँ नेपाली कम्युनिष्ट पार्टीका डा रजनिशराय, पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका रामेश्वरराय यादव लगायतको भने जमानत जफत भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ।
यसपटक जिल्लाका चार वटै क्षेत्रमा निर्वाचित उम्मेदवारले भारी मत प्राप्त गर्दा जमानत गुमाउने उम्मेदवारको संख्या ह्वात्तै बढेको हो।–रासस