काठमाडौं। मुलुकमा उद्योग व्यवसायका लागि पर्याप्त वातावरण नभएको र नीतिगत उल्झन धेरै रहेको गुनासो गरिरहेको बेला नीति निर्माण गर्ने सर्वोच्च निकाय प्रतिनिधि सभामा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै व्यवसायीहरू संसदमा प्रवेश गरेका छन्। आर्थिक संकट र बदलिँदो राजनीतिक परिवेशका बीच नीति निर्माण तहमा निजी क्षेत्रको आवाज बलियो बनाउने उद्देश्यसहित व्यवसायीहरू संसद्मा प्रवेश गरेका हुन्।
उद्यम, पूर्वाधार, ऊर्जा, पर्यटन तथा निर्माण क्षेत्रसँग आबद्ध व्यवसायीहरूले विभिन्न दलबाट उम्मेदवार बनेर प्रत्यक्षतर्फ उल्लेख्य जित हासिल गरेका हुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलबाट प्रतिस्पर्धा गरेका उद्योगी–व्यवसायीहरूले विभिन्न निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्।
मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ म्यानपावरसहित मनोरञ्जनजन्य व्यवसायमा आबद्ध छन्। उनी तेस्रो पटक सांसद निर्वाचित भएका हुन्। मनाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रभावशाली नेता र पूर्व मन्त्री समेत हुन्। जसले राजनीतिसँगै पर्यटन र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका छन्। रसुवाबाट मोहन आचार्य तेस्रो पटक विजयी भएका छन्। उनी एक स्थापित निर्माण व्यवसायी हुन्। नेपाली कांग्रेसको उनले यस पटक ह्याट्रिक जित निकालेका हुन्।
हस्तकलाको व्यवसाय गर्ने गणेश पराजुली काठमाडौं ७ बाट विजयी भएका छन्। उनी दोस्रो पटक संसदमा प्रवेश गर्दै छन्।
महिला सशक्तीकरण र व्यवसायमा अब्बल मानिएकी नीतिमा कार्की भण्डारी संसदमा प्रवेश गर्दै छिन्। बाजेको सेकुवाका निर्देशक समेत रहेकी कार्की रास्वपाबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएकी हुन्।
रास्वपाका प्रवक्ता समेत रहेका मनिष झा धनुषा–३ बाट निर्वाचित भएका छन्। उनी तथ्यांकसम्बन्धी व्यवसाय गर्ने फ्याक्ट्स नेपालका संस्थापक हुन्। उनी दोस्रो पटक संसदमा प्रवेश गर्न लागेका हुन्। रास्वपाका रामाकान्त प्रसाद चौरसीया पर्सा ३ बाट निर्वाचित भएका छन्। उनी निर्माण व्यवसायी हुन्।
सिन्धुपाल्चोक १ का बाट भरत प्रसाद पराजुलीले जित निकालेका छन्। उनी रास्वपाका हुन्। उनी ऊर्जा व्यवसायी हुन्। निर्माण व्यवसायी धनबहादुर बुढा डोल्पाबाट निर्वाचित भएका छन्। उनी नेपाली कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्ट पार्टीका हुन्। यस अघि पर्यटन राज्य मन्त्री समेत बनेका थिए। बैतडी १ बाट हरि मोहन भण्डारी निर्वाचित भएका छन्। रास्वापाबाट उम्मेदवार बनेका भण्डारी निर्माण व्यवसायी हुन्।
धनुषा २ बाट निर्वाचित रामविनोद यादव निर्माण व्यवसायी हुन्। उनी रास्वपाबाट उम्मेदवार बनेका थिए। ऊर्जा व्यवसायमा संलग्न श्रीराम न्यौपाने तनहुँ २ बाट निर्वाचित भएका हुन्। रास्वपाबाट उम्मेदवार बनेका न्यौपाने पहिलो पटक सांसद बनेका हुन्। स्याङ्जा १ बाट पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मी निर्वाचित भएका छन्। उनी रास्वपाबाट उम्मेदवार बनेका हुन्।
मुस्ताङ १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनी पर्यटन व्यवसायी हुन्। उदपुर १ बाट निर्वाचित पारसमणि गेलाल अटो व्यवसायी हुन्। उनी रास्वपाका नेता हुन्। सोलुखुम्बु १ बाट निर्वाचित प्रकाशसिंह कार्की कुरिअर तथा कार्गो व्यवसायी हुन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन्।