तनहुँ। आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ।
विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्न गरी केन्द्रले पुनः विद्युत् उत्पादन सुरु गरेको हो।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विद्युत् केन्द्रमध्ये क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठूलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव सात गिगावाट प्रतिघन्टा विद्युत् उत्पादन गरेको थियो।
चालू आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्म २९३ दशमलव पाँच गिगावाट घन्टा उत्पादन गरिसकेको केन्द्रको दिगो सञ्चालनका लागि फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मत कार्य अगाडि बढाइएको थियो।
यसपटकको सटडाउनका क्रममा वर्षौंदेखि थाती रहेका र निकै चुनौतीपूर्ण मानिएका कार्य सम्पन्न गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए। उनका अनुसार विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिकैको कटानले जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिनाका साथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको र सुरुङमा बालुवा छिर्न नदिन महत्त्वपूर्ण मानिने ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचना मर्मत गरी यसलाई सञ्चालनयोग्य बनाइएको छ।
मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य पनि यसै अवधिमा सम्पन्न भएको केन्द्र प्रमुख मानजनले बताए।
‘लामो समयदेखि रोकिएका ठेक्का सम्झौताका कार्य र मेकानिकल मर्मतलाई उच्च प्राथमिकता दिएर सम्पन्न गरिएको छ,’ उनले भने, ‘विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारी र अन्य जलविद्युत् केन्द्रका प्राविधिकलाई संलग्न गराइएको थियो।’
बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घन्टा जनशक्ति परिचालन गरिएको थियो। केन्द्र प्रमुख मानजनले भने, ‘खोलाको बहाव न्यूनतम रहेको समय उत्पादनमा कम असर पर्ने गरी यो मर्मतको योजना बनाइएको थियो। तालुक कार्यालय, विभाग र निर्देशनालयको विशेष समन्वय र उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौंदेखि रोकिएका महत्त्वपूर्ण सिभिल कार्य यसपटक सम्पन्न गर्न सफल भएका छौँ।’
प्लान्ट सटडाउनकै अवधिमा विद्युत् गृहमा एलटी टाइप ब्रेकर बदलीलगायतका अन्य आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतका कार्यसमेत सम्पन्न भएका छन्। मर्मतसँगै केन्द्रको उत्पादन क्षमतामा सुधार आउने र प्राविधिक जोखिम कम हुनेछ।–रासस