काठमाडौं। तीन दशक पुरानो गुण सिनेमा हल तीन वर्ष लगाएर रेनोभेटपछि पुनः सञ्चालनमा आएको छ। ललितपुरको ग्वार्खोमा रहेको हल नेपालमा सञ्चालित हलमध्येकै पुरानो हो।
विं.सं. २०५२ सालमा स्थापना भएर सञ्चालनमा रहेको सिनेमा हललाई नयाँ स्वरुपमा ल्याउन र भएको भन्दा दर्शकलाई थप सुविधा दिने उद्देश्यले तीन वर्षअघि पूर्ण रुपमा बन्द गरी रेनोभेट सुरु गरिएको गुण सिनेमा प्रा.लि.का अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए।
रेनोभेटपछि सिनेमा हलमा ८ वटा विभिन्न हलहरु सञ्चालनमा रहेको छ। यसअघि पनि ८ वटा नै हल थियो। तर, पछिल्लो समय दर्शकको बसाइँ रुची परिवर्तन हुँदै जाँदा लक्जरी सिटहरूको खोजीमा धेरै रहेको कारणले त्यो सुविधा दिने उद्देश्यका साथ सिट संख्या आधाभन्दा बढी घटाइएको अध्यक्ष शाक्यले जानकारी दिए।
‘यस अघि हलमा एक साथ ३ हजार ८ सय जनाले फिल्म हेर्न पाउथे,’ अध्यक्ष शाक्यले भने, ‘अहिले त्यो संख्या आधा घटाएर १ हजार ४०० जना अट्ने गरी बनाइएको छ।’

पहिला ठूला–ठूला हलहरू रहेको र लामो समयसम्म एउटै फिल्म सञ्चालन हुने गरेको स्मरण गराउँदै अहिले समय परिवर्तन हुँदै जाँदा थोरै समय मात्र फिल्म चल्ने र नयाँ आउने क्रम बढेकाले हल केही मात्रामा सानो तर धेरै सुविधाहरु थप गरिएको उनले बताए।
फिल्म हेर्न आउने दर्शकलाई आकर्षक गराउने उद्देश्यका साथ पहिलाको साउण्ड सिस्टमहरु पूरै परिवर्तन गरी नयाँ प्रविधिसहितको जडान गरिएको जनाएको छ। हलमा जीडीसी डिजिटल सिनेमा सर्भर, बेल्जियममा निर्मित पल्ज तथा जेबीएल ध्वनि प्रणाली, डीटीएसस्एक्स त्रिआयामिक ध्वनि प्रविधि र एआईबी ३००० इमर्सिभ ध्वनि प्रोसेसर जडान गरिएको छ। यस प्रणालीले दर्शकलाई चारैतिरबाट ध्वनि आइरहेको अनुभूति गराउँदै उच्चस्तरीय सिनेमा अनुभव प्रदान गर्ने दाबी उनको छ।
योसँगै हलमा बार्को २ के लेजर प्रोजेक्टर तथा ८ वटा गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ। यस प्रविधिले उच्च रेजोलुसन, जीवन्त रङ, उत्कृष्ट कन्ट्रास्ट र स्पष्ट दृश्य गुणस्तर प्रदान गर्दै दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र हेर्ने अनुभव दिलाउनेछ। बार्कोको २के लेजर प्रोजेक्टर लेजर प्रकाश स्रोतमा आधारित भएकाले परम्परागत प्रोजेक्टरभन्दा बढी उज्यालो र राम्रो हुने दाबी गरिएको छ। एक हलमा अधिकतम २६० सिट क्षमता रहेको छ।

प्रत्येक हलहरुमा प्रिमियम सोफा सिट, फुल्ली एयर कन्डिसन, लक्जरी लवि सञ्चालनमा छ। योसँगै गुण सिनेमा हल क्यूएफएक्सको म्यानेजमेन्टअन्तर्गत संचालन हुनेछ ।
सिनेमा हलभित्र दर्शकहरुले हिमालयन जाभाको कफीसहित खाना, स्न्याक, पेप्सी तथा एक्ट्रीम इनर्जी ड्रिकलगायत विभिन्न प्रकारका पेय पदार्थहरु उपलब्ध हुनेछन्। साउन १ गतेबाट हलमा धमाल ४, गौथली र द ओडिसीलगायतका सिनेमाहरु प्रदशर्न हुने जनाएको छ। यो हल हाल सञ्चालनमा रहेका अन्य फिल्म हल मध्येको सबैभन्दा ठूलो हो।
फुड कोर्ट र गेमिङ जोन
चार तले भवनभित्र चौथो तलामा फिल्म हल सञ्चालनमा आएको छ। योसँगै पहिलो (अण्डरग्राउण्ड)मा पार्किङ, दोस्रो तलमा केएफसी, हिमालयन जाभासहित थकाली खानाहरु र विभिन्न रेष्टुरेन्टहरु रहने छ। यस्तै तेस्रोमा बच्चाहरुका लागि विभिन्न गेम जोनहरु हुने र कफी सप सञ्चालनमा आउने जनाएको छ।

गुण ग्रुपअन्तर्गतको गुण सिनेमा हलसहित दरबारमार्गमा दरबारमल सञ्चालनमा रहेको छ। दरबार मलभित्र प्रिमियमय फिल्म हल दरबार सिनेम्याक्स सञ्चालनमा रहँदै आएको छ।
योसँगै ग्रुपले ललितपुरको ग्वार्खोमा ५ तारे होटल रोयल टुलिप सञ्चालन गरिरहेको छ। यस्तै ग्रुपले रियलस्टेट, एयरलाइन्स, मिडिया क्षेत्रलगायत विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गरिरहेको छ।
