बागलुङ। बागलुङ १ अन्तर्गतको रणनीतिक सडकले गति लिन सकेको छैन। साढे दुई दशक अगाडि मार्ग खुलेको सडकको स्तरोन्नतिको काम ४० प्रतिशतमात्र सम्पन्न भएको छ।
विसं २०५७ मा अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्न मार्ग खुलेको सडकको काम अहिलेसम्म आधा पनि पूरा हुन नसकेको हो। सिगाना–तित्याङको कमलडाँडाबाट मार्ग खुलेको सडक अहिले अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा हुँदै बरेङ गुल्मीको शान्तिपुर जोडिएको छ। विसं २०८० चैतमा दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्र गर्नेगरी बिडारी÷तुँदी निर्माण कम्पनीले जिम्मा पाएको थियो।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत एसियाली विकास बैंकको २८ करोड ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको छ। समयमै सडक स्तरोन्नति नहुँदा हजारौँ यात्रुले सास्ती खेप्नुपरेको बागलुङ नगरपालिका–१० का पदमबहादुर थापाले गुनासो राखे।
उनले भने, “बागलुङ बजार नजिकै रहेको भकुन्डे गाउँमा पुग्न डेढ घण्टा लाग्छ, सडकको दुरावस्थाका कारण वर्षौँदेखि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ, बर्खामा हिलो र हिउँदमा धुलोले हामी आजित भइसक्यौँ, यात्रा गर्दा पनि निकै जोखिमपूर्ण छ।”
भकुन्डे हुँदै रायडाँडा जोड्ने सडको करिब ६ किलोमिटरमा मात्रै नालीको काम भइरहेको छ। बागलुङ नगरपालिकाको सबैभन्दा विकटको बस्ती रायडाँडालाई जोडेको उक्त सडकको कामले गति लिन नसक्दा यात्रा गर्न र सामान ढुवानीमा समस्या भोग्नुपरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए।
गाउँमा बस्ने नागरिकलाई यो सडकका कारण ठूलो समस्या भएको छ। एक डेढ घण्टामा पुग्न सकिने ठाउँमा दुईतीन घण्टा लाग्छ, साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटनाको जोखिम पनि उस्तै छ।