काठमाडौं। विश्वप्रकाश शर्मा नेतृत्वको नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएको कारणबारे प्रारम्भिक समीक्षा सार्वजनिक गरेको छ। पार्टीका उपसभापति शर्माले सानेपामा बसेको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै पराजयका कारणहरू विस्तृत रूपमा औंल्याएका हुन्।
प्रतिवेदनमा आन्तरिक असहयोगदेखि नीतिगत कमजोरी, नेतृत्वप्रति जनअसन्तुष्टि, गठबन्धन राजनीति, प्रचार–प्रसारको कमजोरी र ‘लोकप्रियतावाद’ को प्रभावसम्मका कारणलाई मुख्य रूपमा पहिचान गरिएको छ।
शर्माले उम्मेदवार नबनेका वा नबनाइएका केही नेताहरूको असहयोगले चुनावी परिणाममा प्रत्यक्ष असर परेको उल्लेख गरेका छन्। उनका अनुसार कतिपय नेताहरू ‘मौन बसेर’ वा ‘स्याबोटेज’ शैलीमा प्रस्तुत हुँदा सम्भावित जित समेत प्रभावित भयो।
उनले विशेष महाधिवेशनपछि छोटो समयमा उम्मेदवार चयन गरिएको भए पनि त्यसलाई जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकिएको स्वीकार गरेका छन्। “संयम र परिपक्वतासाथ उम्मेदवार चयन गरिए पनि त्यसको सन्देश स्थापित गर्न सकिएन,” प्रतिवेदनमा उल्लेख छ।
समग्र नेतृत्व होइन, सामूहिक जिम्मेवारी
प्रतिवेदनमा पराजयको जिम्मेवारी कुनै एक व्यक्ति वा नेतृत्वमा मात्र सीमित नभएको स्पष्ट पारिएको छ। सभापतिका रूपमा गगन थापा ले दिएको राजीनामा ‘उच्च नैतिक कदम’ भएको उल्लेख गर्दै त्यसलाई अस्वीकृत गर्नुपर्ने प्रस्ताव गरिएको छ।
“यो पराजय समग्र कांग्रेसको हो,” प्रतिवेदनमा भनिएको छ, “हामीले समयमै आफूलाई सुधार्न र मतदातामा विश्वास जगाउन सकेको भए परिणाम फरक हुन सक्थ्यो।”
असन्तुष्टि, अस्थिरता र पुरानै अनुहार
प्रतिवेदनले देशमा दीर्घकालीन राजनीतिक अस्थिरता, सरकारको निरन्तर परिवर्तन र नेतृत्वमा पुरानै अनुहार दोहोरिँदै जानु जनअसन्तुष्टिको प्रमुख कारण भएको निष्कर्ष निकालेको छ।
पछिल्ला दशकहरूमा स्थिर सरकार दिन नसक्दा मतदाता निराश बनेको र वैकल्पिक शक्ति खोज्ने प्रवृत्ति बढेको उल्लेख गरिएको छ। साथै, सरकार परिवर्तन भए पनि नेतृत्व परिवर्तन नहुँदा नागरिकमा ‘इरिटेशन’ बढेको प्रतिवेदनमा उल्लेख छ।
गठबन्धन राजनीति र विरोधाभास
कांग्रेसले विभिन्न चरणमा गरेको गठबन्धन राजनीतिले पार्टीभित्र असन्तुष्टि र बाहिर जनतामा अविश्वास बढाएको निष्कर्ष निकालिएको छ। चुनावअघि एक दलसँग र पछि अर्को दलसँग सहकार्य गर्नु ‘विरोधाभासपूर्ण व्यवहारवाद’ भएको स्वीकार गरिएको छ। यसले पार्टीको वैचारिक स्पष्टता कमजोर बनाएको र मतदातामा नकारात्मक सन्देश गएको उल्लेख छ।
कमजोर प्रतिपक्ष र सडकमा असन्तुष्टि
प्रतिवेदनमा संसदमा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्न नसक्दा जनअसन्तुष्टि सडक र सामाजिक सञ्जालमा सरेको उल्लेख गरिएको छ। यसले अन्ततः चुनावमा पार्टीविरुद्ध मतमा परिणत भएको विश्लेषण गरिएको छ।
भ्रष्टाचार, ढिलासुस्ती र नकारात्मक भाष्य
भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता नपाउनु, प्रशासनिक ढिलासुस्ती, किसानदेखि व्यवसायीसम्मका समस्या समाधानमा कमजोरी र ‘देशमा केही भएन’ भन्ने भाष्य चिर्न नसक्नु पनि पराजयका मुख्य कारण मानिएको छ।प्रतिवेदनले नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता मुद्दाले पार्टीको छविमा असर पारेको स्वीकार गरेको छ।
‘लोकप्रियतावाद’ र एल्गोरिदमको प्रभाव
शर्माले प्रतिवेदनमा आधुनिक राजनीतिक प्रवृत्तिका रूपमा ‘लोकप्रियतावाद’ र सामाजिक सञ्जालको ‘एल्गोरिदम’ को प्रभावलाई पनि गम्भीर रूपमा उठाएका छन्। मतदाताको मनोविज्ञानमा डिजिटल माध्यमबाट प्रभाव पारिँदा परम्परागत दलहरू कमजोर बनेको निष्कर्ष निकालिएको छ।
संगठनात्मक कमजोरी र पुरानो ढाँचा
पार्टीको संगठन संरचना समयानुकूल परिवर्तन गर्न नसक्नु, आधुनिक प्रचार प्रणालीमा ढिलो प्रवेश गर्नु र युवा–मैत्री ढाँचा विकास गर्न नसक्नु पनि पराजयका कारणका रूपमा उल्लेख गरिएको छ।
दोस्रो दलमा सीमित कांग्रेस
फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस ३८ सिट जित्दै दोस्रो दलमा सीमित भएको थियो। प्रतिवेदनले यसलाई केवल हार मात्र नभई सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरेको छ।पार्टीले अब गहिरो समीक्षा गर्दै संगठन पुनर्संरचना, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापना गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।