काठमाडौं। नेपाली अकासमा एकपछि अर्को हेलिकोप्टर थपिने क्रम तीव्र हुन थालेको छ। बढ्दो एडभेन्चर र हिमाल आरोहणलाई ध्यानमा राख्दै लगानीकर्ताको आँखा हेलिकोप्टर व्यवसायमा परिरहेका बेला एकैसाथ दुई कम्पनी सञ्चालनमा आउने निश्चित भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले केही साताअघि मात्र दुईवटा हेलिकोप्टर कम्पनीलाई उडान सञ्चालन अनुमति(एनओसी) दिएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सगरमाथा हेलिकोप्टर र हेली नेपालले एनओसी पाएको जानकारी दिए।
एनओसी पाउनु भनेको कुनै पनि एयरलाइन्स कम्पनीले चार तह पार गर्नु हो। अब ती कम्पनीले हेलिकोप्टर ल्याई परीक्षण उडान गर्ने र प्राधिकरणले पास गरेपछि नियमित उडानमा फर्किने बाटो खुल्छ।
पछिल्लो समय नेपालमा हेलिकोप्टर कम्पनी खुल्ने प्रतिस्पर्धा चलिरहेको छ। हाल एक दर्जन बढी कम्पनीमार्फत ४० बढी हेलिकोप्टर सञ्चालनमा छन्।
एनओसी पाएमध्ये सगरमाथा हेलिकोप्टरका एक सञ्चालकका अनुसार २०८३ वैशाखदेखि नियमित उडान गर्ने गरी काम अगाडि बढाइएको छ। सुरुआती चरणमै एकसाथ तीनवटा हेलिकोप्टरमार्फत उडान गरिने उनको भनाइ छ।
५ सिटे क्षमताको एयरबस एच१२५ हेलिकोप्टर तत्कालै नेपाल ल्याउने गरी आवश्यक प्रक्रिया पूरा गरिएको उनले बताए। फ्रान्समा निर्माण भएको सो हेलिकोप्टर नेपाली भूभागका लागि उपयुक्त हुने जनाइएको छ।
भक्तपुरको नलिनचोक बेस बनाएर सञ्चालनमा ल्याउन लागिएको हेलिकोप्टर कम्पनीले आवश्यक सबै कर्मचारी भर्ना गरिसकेको छ। ‘प्राधिकरणबाट जारी भएको निर्देशिकाअनुसार सबै तहका कर्मचारी भर्ना गरिसकेको छ,’ ती सञ्चालकले भने, ‘डलरको भाउ बढिरहेकाले हेलिकोप्टर आउँदासम्म कति खर्च लाग्छ भन्ने टुंगो नभएकाले लगानी विषयमा अहिले नै नखुलाऔं।’
पछिल्लो समय नेपालमा हेलिकोप्टर कम्पनी खुल्ने प्रतिस्पर्धा चलिरहेको छ। हाल एक दर्जन बढी कम्पनीमार्फत ४० बढी हेलिकोप्टर सञ्चालनमा छन्।