काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा लामो समयदेखि ‘सपोर्ट सिस्टम’का रूपमा सक्रिय रहँदै आएका उद्योगी प्रबलजंग पाण्डे यसपटक आफैँ निर्वाचन मैदानमा उत्रिने भएका छन्।
महासंघको नेतृत्व चयनमा विभिन्न टिमलाई रणनीतिक सहयोग गर्दै आएका पाण्डेले आगामी चैत २८ र २९ गते हुने महासंघको साधारणसभा तथा निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
महासंघको आन्तरिक चुनावी समीकरण मिलाउने, टिम निर्माण गर्ने र जिताउने रणनीतिमा सक्रिय भूमिका खेल्दै आएका पाण्डेले यसअघि अध्यक्ष तथा पदाधिकारी जिताउनका लागि आफ्नो भागमा आएको अवसरसमेत त्यागेका थिए। तर, यसपटक भने महासंघभित्रको आफ्नो अनुभव र नेटवर्कलाई नेतृत्व तहमा उपयोग गर्ने उद्देश्यसहित उनी प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।
पाण्डे महासंघमा तीन कार्यकाल कार्यकारीणी सदस्य भइसकेका छन्। लामो समय महासंघको गतिविधि, संरचना र चुनावी रणनीतिमा नजिकबाट काम गरिसकेकाले यसपटक उनी अझ जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्यसहित उम्मेदवारी दिने तयारीमा छन्।
व्यावसायिक घराना लोमश ग्रुपका निर्देशक रहेका पाण्डे महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छाेरा हुन्। पारिवारिक रूपमा महासंघको गतिविधिसँग जोडिँदै आएका उनले बाल्यकालदेखि नै महासंघको राजनीति र उद्योगी व्यवसायीको नेटवर्कलाई नजिकबाट नियाल्दै आएका थिए।
महासंघको पछिल्ला नेतृत्व चयन प्रक्रियामा पनि उनले महत्वपूर्ण रणनीतिक भूमिका खेलेका छन्। विशेषगरी पूर्वअध्यक्ष भवानी राणा र वर्तमान वरिष्ठ उपाध्यक्ष (आगामी अध्यक्ष) अन्जन श्रेष्ठको नेतृत्व टिम निर्माण तथा चुनावी व्यवस्थापनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।
महासंघभित्र एसोसिएट क्षेत्रसँग बलियो सम्बन्ध बनाएका पाण्डेले वस्तुगत संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संरचना र आवश्यकता पनि राम्रोसँग बुझेका छन्। साेही कारण विगतका अध्यक्ष तथा पदाधिकारीले उनलाई चुनावी रणनीति, समन्वय र टिम व्यवस्थापनका लागि कोर टिममै राख्ने गरेका थिए।
नेपाल टेलिकमबाट व्यवसायमा
व्यापार व्यवसायमा पूर्ण रूपमा संलग्न हुनुअघि पाण्डे नेपाल टेलिकममा इन्जिनियरका रूपमा कार्यरत थिए। सन् २०१० सम्म टेलिकममा कार्यरत उनले त्यसपछि पारिवारिक व्यवसायलाई विस्तार र व्यवस्थापन गर्ने उद्देश्यले निजी क्षेत्रमा प्रवेश गरेका थिए।
पछिल्लो १६ वर्षदेखि उनले सिमेन्ट तथा औषधी उद्योगसमेत सम्हाल्दै लोमस ग्रुपका विभिन्न व्यावसायिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। जेठो सन्तान भएकाले पारिवारिक व्यवसायलाई विस्तार गर्ने र भाइहरूलाई पनि व्यवसायमा जोड्ने जिम्मेवारी उनले सम्हाल्दै आएका छन्।
चौथो कार्यकालमा उपाध्यक्षको लक्ष्य
महासंघको राजनीतिमा सक्रिय रहँदै आएका पाण्डेले यसअघि तेस्रो कार्यकालमै एसोसिएट उपाध्यक्ष बन्ने तयारी गरेका थिए। तर, निकट व्यवसायी भरत आचार्यले उम्मेदवारी दिने भएपछि उनले अन्तिम समय आफ्नो दाबी छोडेर टिमलाई समर्थन गरेका थिए।
पाण्डे सिटिजन्स इन्टरनेसनल बैंकका अध्यक्षसमेत हुन्। महासंघभित्रको महत्त्वपूर्ण संरचना नेपाल रोजगारदाता परिसंघको सह–सभापतिको रूपमा समेत उनले काम गरिसकेका छन्।
यसपटक एसोसिएट क्षेत्रलाई केन्द्रमा राखेर उनले पर्यटन, उद्योग, ट्रेडिङ, स्टक मार्केट, ज्वेलरी तथा जलविद्युत क्षेत्रमा सक्रिय उद्यमीहरूलाई समेट्दै सन्तुलित र रणनीतिक टिम निर्माण गर्ने प्रयास गरिरहेका छन्।
महासंघको चुनाव नजिकिँदै गर्दा पाण्डेको उम्मेदवारीलाई एसोसिएट क्षेत्रभित्र अनुभव, समन्वय क्षमता र रणनीतिक नेतृत्वको मिश्रणका रूपमा हेरिएको छ।