काठमाडौं। धरहराबाट चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। चालू आवको साउनदेखि फागुन मसान्तसम्म धरहरा प्रवेश शुल्कबापत उक्त राजस्व संकलन भएको हो।
अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाईका प्रमुख महेश राईका अनुसार चालू आवको आठ महिनामा धरहराबाट पाँच करोड ९५ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा तीन लाख ३० हजार ३९१ जना पर्यटकले धरहराको अवलोकन गरेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ को असोज ३ गते संविधान दिवसका दिनदेखि धरहरा सञ्चालनमा आएको भए पनि मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको व्यवस्थापन एकाईले जनाएको छ। धरहरा हप्ताको सातै दिन खुल्ला हुने गरेको छ।
गत आवको मंसिर ९ गतेदेखि असार मसान्तसम्म पाँच करोड १२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यस अवधिका दुई लाख ७५ हजार पर्यटकले धरहराको अवलोकन गरेका थिए।
अहिले धरहरा अन्तरिम रुपमा खुला भएकाले पूर्ण सञ्चालनमा धरहरा आएपछि धरहराभित्र कला र संस्कृति झल्काउने मौलिक परम्परागत सामाग्रीको व्यवस्थापनसँगै विभिन्न खेलकुदलगायत मनोरञ्जनका सामग्रीसमेत राखेर व्यवस्थित गर्ने योजनामा छ। निर्माणधिन धरहराको काम चालू आवको असार मसान्तसम्ममा निर्माणका कामहरु सकिएपछि पूर्ण रुपमा सञ्चालनमा आउने व्यवस्थापन एकाइले जनाएको छ।
धरहरा अहिले पनि कन्ट्रक्सनमै छ। राज्यको पूर्ण स्वामित्वमासमेत नभएकाले धरहराभित्र अन्य सेवा सुविधा थप गर्न नसकिएको प्रमुख राई बताउँछन्। कानुनी रूपले समस्या भएकाले धरहरालाई व्यवस्थित गरेर लैजान नसकिएको प्रमुख राईको भनाइ छ।
धरहरा अवलोकनमा लागि शनिबार र बिदाका दिन गर्न आउनेहरूको संख्या अत्यधिक भएकाले भिडभाड हुने गरेको छ। धरहरा अवलोकनका लागि दैनिक १२ सयदेखि १४ सय जनासम्म आउने गरेको भए पनि बिदाका दिनमा दुई हजारदेखि २२ सयसम्म पर्यटकहरु अवलोकनका लागि आउने गरेको व्यवस्थापन एकाईले जनाएको छ। धराहरालाई अझै व्यवस्थित गरेर लैजान सके अवलोकनकर्ताको आगमन संख्या अझै बढेर देखिन्छ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ।
अन्तरिम हिसाबले धरहरा सञ्चालनमा आएसँगै कर्मचारीसमेत न्यून मात्रामा छन्। अहिले १३ जना कर्मचारी मात्रै रहेको र पूर्ण रुपमा धरहरा सञ्चालनमा आए ८० जना जति कर्मचारी आवश्यक पर्ने व्यवस्थापन एकाईले जनाएको छ। ऐतिहासिक धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने छन्।
१० वर्ष मुनिका बालबालिका र ८० वर्षदेखि माथिका वृद्धवृद्धाहरूलाई टिकट निःशुल्क रहेको छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको थियो। अघिल्लो मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो।
धरहरामा पार्किङ गर्दा चार पांग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ। धरहरा अझै पनि निर्माणाधिन अवस्थामा रहेकाले चालू आवको असार मसान्तसम्ममा निर्माणका कामहरु सकिएपछि पूर्ण रुपमा सञ्चालनमा आउने व्यवस्थापन एकाईले जनाएको छ।