दाङ। जिल्लाको घोराही उपमहानगर १९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ। विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन्। सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ।
उनको घरमा करिब एक महिनाअघि मात्र विद्युत्को सेवा पुगेको बताए। “पहिले अँध्यारोमा बस्नुपथ्र्यो। बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपथ्र्यो”, उनले भने, “अहिले घरमा बत्ती बल्दा सहज भएको छ।”
उनका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० मिनेट टाढाको गाउँ जानुपर्ने बाध्यता थियो। गाउँमा विद्युत् पुगेपछि अहिले त्यो समस्या अन्त्य भएको छ। घरमा कोही बिरामी पर्दा रातिको समयमा उज्यालोको व्यवस्था गर्न कठिन हुने गरेको थियो। एकपटक बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको दिन अझै सम्झनामा छ।
उपमहानगरभित्र बसोबास गरे पनि आधारभूत सेवा नपाउँदा आफूहरू उपेक्षित महसुस गर्दै आएको उनको गुनासो छ। स्थानीयका अनुसार विद्युत् सेवा नहुँदा साना व्यवसाय सञ्चालन गर्न पनि असहज थियो। मिल, सिलाइकटाइ, कम्प्युटर सेवा, वेल्डिङजस्ता काम सम्भव थिएनन्। अब भने केही सहज भएको छ। युवाहरूले गाउँमै केही गर्न सक्ने वातावरण बन्दै गएको स्थानीयको भनाइ छ।
घोराही १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाका सबै बस्तीमा विद्युत् सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए। यसका लागि आफू लागिपरेको उनले बताए। आफू निर्वाचित भएपछि २०७९ सालमा रु तीन करोड ६७ लाख लागतमा ठेक्का आह्वान गरी विद्युतीकरणको काम सुरु गरेको उनी बताउँछन्।
त्यसअघि प्रयास गरिए पनि सार्थकता पाउन सकेको थिएन। बाँकी रहेका ठाउँमा विद्युत् पुर्याउन २०८० सालको अन्त्यतिर पुनः अर्को ठेक्का प्रक्रियामार्फत कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए। तर, ठेक्दार कम्पनीले समयमा काम नगर्दा योजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको उनले बताए। नागरिकको घरमा छिटो विद्युत् पुर्याउने आफूहरूको योजनामा यसले समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ।
उनका अनुसार सैघामा धेरै बस्तीमा बिजुली बलेको छ तर लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरलगायत बस्तीमा अझै सेवा पुग्न सकेको छैन। ती क्षेत्रमा काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको उनले बताए।