काठमाडौं। नेपालमा दिन प्रतिदिन जनशक्तिको अभाव हुँदै गएको पाइन्छ। पछिल्लो समय निर्माण क्षेत्रमा पनि श्रमिक अभाव हुन थालेपछि व्यवसायीलाई काम गर्न मुस्किल हुन थालेको हो। गाउँघरमा बसोबास गर्ने युवा जनशक्ति क्रमिक रुपमा शहरतर्फ केन्द्रित हुनु, उच्च माध्यमिक शिक्षापछि अधिकांशको गन्तव्य वैदेशिक रोजगारी बन्नु, नियमित रोजगारीको ग्यारेन्टी नहुनु, प्राप्त हुने पारिश्रमिकले परिवार धान्न सक्ने अवस्था नहुनुलगायत कारणले निर्माण क्षेत्रमा काम गर्ने जनशक्ति अभाव हुन थालेको हो।
नेपालका करिब ३० हजार निर्माण व्यवसायीले करिब २५ लाख बढीलाई रोजगारी प्रदान गरेको छन्। तर, करिब दुई वर्र्षायता निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिको आकर्षण घट्न थालेको व्यवसायीको अनुभव छ। हाल निर्माण क्षेत्रमा करिब ५ देखि ७ लाख जनशक्ति स्थायी काम गर्ने, सोही मात्राको कामदार भारत तथा बंगलादेशका र बाँकी सिजनल श्रमिक रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार निर्माण क्षेत्रमा श्रमिक अभाव अहिले चरम अवस्थामा पुगेको छ। ‘गाउँघरमा काम गर्ने मान्छे छैन,’ उनले भने, ‘ पहिले गाउँबाटै अनस्किल्ड लेबर पाइन्थ्यो, अहिले चार जना मजदुर पनि भेटिँदैन।’ उनका अनुसार, अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन्। भारतबाट आउने श्रमिक पनि घटेका छन्।
निर्वाचन र अस्थिरताले समेत श्रमिक आगमनमा असर पारेको उनको तर्क छ। उनले श्रमिक अभावको मुख्य कारण रोजगारीको अनिश्चितता भएको बताए। ‘१५ दिन काम हुन्छ, दुई महिना काम हुँदैन। यस्तो अवस्थामा श्रमिक कसरी टिक्छ?,’ उनले प्रश्न गरे। स्थायी रोजगारी र समयमै भुक्तानीको सुनिश्चितता भए श्रमिकहरू नेपालमै काम गर्न इच्छुक हुने देखिन्छन्। ‘यदि ३ देखि ४ महिना लगातार काम पाउने वातावरण बन्यो भने महिनामा ४० देखि ५० हजार रुपैयाँसम्म कमाउन सकिन्छ,’ उनले भने।
निर्माण क्षेत्रमा दैनिक ज्याला करिब नौ सय रुपैयाँ हाराहारी रहेको छ।
निर्माण क्षेत्रमा विदेशी श्रमिकको सहभागिता राम्रो छ। नेपालमा आवश्यक पर्ने दक्ष र अदक्ष जनशक्तिको अभाव पूर्ति गर्न भारत तथा बंगलादेशबाट समेत श्रमिक ल्याउनुपर्ने अवस्था रहेको महासंघका महासचिव रोशन दाहाल बताउँछन्। निर्माण क्षेत्रमा दैनिक ज्याला करिब नौ सय रुपैयाँ हाराहारी रहेको छ। जुन वर्तमान महँगीको तुलनामा अत्यन्त न्यून भएको उनको तर्क छ।
‘दिनभरि काम गरेर कमाएको रकमले खाना, बसोबास र परिवारको खर्च धान्न सकिँदैन,’ उनले भने। अर्कोतर्फ, शिक्षित युवामा श्रमप्रति नकारात्मक धारणा पनि बढ्दो छ। पढेपछि शारीरिक श्रम गर्न हुँदैन भन्ने मानसिकता देखिएकाले मजदुरी गर्ने जनशक्ति झन घट्दै गएको महासचिव दाहालको तर्क छ।
यस्तै, कृषि र निर्माण क्षेत्रमा काम गर्ने धेरैजसो कामदार सिजनल हुने गरेका छन्। खेतीपातीको समयमा गाउँ फर्किने र अन्य समयमा मात्र निर्माण क्षेत्रमा काम गर्ने प्रवृत्तिले पनि निरन्तर जनशक्ति अभाव सिर्जना गरेको दाहाल सुनाउँछन्। मजदुरको पारिश्रमिक बढाउँदा निर्माण लागत वृद्धि हुने भन्दै सम्बन्धित निकायले उचित निर्णय लिन नसक्दा समस्या झन् जटिल बन्दै गएको देखिन्छ। उनले भने, ‘कामको ग्यारेन्टी र उचित पारिश्रमिक सुनिश्चित गर्न सके मात्र श्रमिक नेपालमै टिक्ने सम्भावना हुन्छ।’
नेपालको निर्माण क्षेत्रमा श्रमिक अभाव अहिले प्रमुख चुनौतीका बन्दै गएको व्यवसायी बताउँछन्। दक्ष कामदारको मात्र अभाव हुने गरेकोमा अवस्थामा पछिल्लो समय श्रमिकसमेत पाउन कठिन बन्दै गएको निर्माण व्यवसायी सौरभ शर्माले बताए। ‘यो अत्यन्तै ठूलो समस्या हो, अहिले श्रमिक अभाव निर्माण क्षेत्रकै सबैभन्दा ठूलो समस्या बनेको छ,’ उनले भने, ‘पहिले स्किल्ड लेबरको मात्र अभाव थियो, अहिले अनस्किल्ड लेबर पनि पाउन गाह्रो भइरहेको छ।’
उनका अनुसार, ठूलो संख्यामा श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। नेपालमै काम गर्दा समयमै पारिश्रमिक नपाउने, कामको सुनिश्चितता नहुने जस्ता समस्याका कारण श्रमिकहरूको विश्वास पनि घट्दै गएको छ। ‘नेपालमा काम गर्दा पैसा समयमै पाइँदैन भन्ने सन्देश फैलिएको छ,’ शर्माले भने, ‘त्यसैले यहाँ काम गर्नुभन्दा विदेश जानु राम्रो भन्ने मानसिकता बनेको छ।’
निर्माण क्षेत्रमा देखा परेको श्रमिक अभावको समस्या जटिल बन्दै गएको व्यवसायीको तर्क छ।
करिब एकदेखि साढे वर्षअघिसम्म सामान्य कामदार जुटाउन समस्या थिएन। तर, हाल यो समस्या देखा परेको छ। ‘पहिले हप्तामा ५० देखि ६० जना कामदार ल्याउनु ठूलो कुरा थिएन,’ उनले भने, ‘अहिले त सानो संख्यामा कामदार थप्न पनि गाह्रो भइरहेको छ।’ शर्मा एण्ड कम्पनी प्रा.लि.का निर्देशक रहेका शर्माले आफूसँग दुईदेखि तीन सय जनासम्म आवश्यक भए पनि अहिले त्यो स्तरमा जनशक्ति भेटाउन मुस्किल रहेको बताए।
फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनका बेला म्यादी प्रहरी भर्नाले पनि अस्थायी रूपमा कामदार अभाव झन् बढाएको उनको तर्क छ। निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूको विश्वास घट्नु पनि मुख्य कारण भएको उनको भनाइ छ। ‘कैयौँ निर्माण साइटमा समयमै भुक्तानी हुँदैन, श्रमिक भनेका आधारभूत तहका मान्छे हुन्, उनीहरूको पैसा रोक्नु हुँदैन। तर, व्यवहारमा त्यस्तो भइरहेको छैन,’ उनले भने।
निर्माण क्षेत्रमा देखा परेको श्रमिक अभावको समस्या जटिल बन्दै गएको व्यवसायीको तर्क छ। निर्माण क्षेत्रमा श्रमशक्ति आकर्षण गर्न वातावरण सुधार गर्नु व्यवासायीले बताए। जसका लागि समयमै भुक्तानी, स्पष्ट नीति, सुरक्षित र व्यवस्थित कार्यस्थलमा सुधार गर्नुपर्ने उनीहरु बताउँछन्।