काठमाडौं। सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सम्हालेसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे।
शनिबार बिहानै एमाले अध्यक्षसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता लेखक पक्राउ परेपछि विभिन्न तवरका विचारहरू आएको छ। यस क्रममा पार्टीले पनि आफ्नो नेता पक्राउ परेपछि आ-आफ्नो धारणा र कार्यक्रम तय गरेको छ।
एमालेले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई लोकतान्त्रिक मूल्य र कानूनी शासनविपरीत पक्राउ गरेको निष्कर्ष निकालेको थियो।
अध्यक्ष ओली पक्राउ परेसँगै आज बसेको सचिवालय बैठकले तत्काल रिहा गर्न माग गर्ने निर्णय गरी आन्दोलनको कार्यक्रम तय गरेको थियो। महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकले जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति सुरुदेखि नै असहमति रहेको भन्दै प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको पार्टीको ठहर रहेको बताए।
आजै बसेको कांग्रेसको संसदीय सचेतना कार्यक्रमले सरकार संयमित नभए देश पुन: द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरी पार्टीको नेता पक्राउबारे ठोस निर्णय गरेन।
ओली र लेखक पक्राउपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताए।
‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ,’ कांग्रेसको वक्तव्यमा भनिएको, ‘हामी प्रष्ट गर्न चाहान्छौँ- भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ।’
दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने कांग्रेसको धारणा छ। यस क्रममा उनले कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रम तय नगरेको प्रष्ट पारे।
उनले भने, 'सरकारको व्यवहार आग्रहपूर्ण देखियो। हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौँ। सरकारको निष्पक्षता खोज्छौँ।’